'ब्ल्याक फ्राइडे'मा ६० प्रतिशत क्यानेडियनले क्रेडिट कार्डबाट किनमेल गर्ने
नेपालTouch
अन्टारियो। क्यानाडामा यस वर्ष ब्ल्याक फ्राइडेको अवसरमा करिब ६० प्रतिशत उपभोक्ताले क्रेडिट कार्ड प्रयोग गरेर किनमेल गर्ने योजना बनाएका छन्।
चार्टर्ड प्रोफेसनल एकाउन्टेन्ट्स अफ क्यानाडाले सार्वजनिक गरेको वार्षिक सर्वेक्षणअनुसार ५९ प्रतिशत क्यानाडालीले छुटको अवसरमा क्रेडिट कार्डबाट सामान खरिद गर्ने बताएका हुन्।
बिदाको किनमेलको मौसम सुरु हुनुअघि सार्वजनिक गरिएको सर्वेक्षणले विशेषगरी युवा उपभोक्तामा खर्चको दबाब बढी रहेको देखाएको छ।
१८ देखि ३४ वर्ष उमेर समूहका ४७ प्रतिशतले यस वर्ष किनमेलका कारण बढी आर्थिक तनाव महसुस हुने बताएका छन्। ५५ वर्षभन्दा माथिका उपभोक्तामा यस्तो चिन्ता व्यक्त गर्नेको संख्या २५ प्रतिशत छ।
चार्टर्ड प्रोफेसनल एकाउन्टेन्ट्स अफ क्यानाडाकी वित्तीय साक्षरता प्रमुख ली झाङले ब्ल्याक फ्राइडेमा सामान किन्नुअघि त्यो खरिद आफ्नो योजनामा थियो कि थिएन र क्रेडिट कार्डको बाँकी रकम पूरा तिर्न सकिन्छ कि सकिँदैन भन्ने विचार गर्न सुझाव दिएकी छन्। उनका अनुसार समयमा पूरा रकम तिर्न नसके ब्याजले छुटबाट भएको बचतसमेत समाप्त पार्न सक्छ।
डेलोइट क्यानाडाको बिदा अवधिको किनमेलसम्बन्धी अध्ययनले पनि उपभोक्ताले मूल्यअनुसारको लाभलाई प्राथमिकता दिएको देखाएको छ।
अध्ययनमा सहभागी ७८ प्रतिशतले राम्रो मूल्यमा सामान किन्न सक्रिय रूपमा खोजी गरिरहेको बताएका छन्। उचित मूल्यलाई प्राथमिकता दिने ७७ प्रतिशत र ग्राहक वफादारी कार्यक्रमलाई महत्त्व दिने ६० प्रतिशत छन्।
अध्ययनअनुसार क्यानाडाली उपभोक्ताले राम्रो मूल्य खोज्न औसत १६ वटा पसलमा किनमेल गर्ने अपेक्षा गरेका छन्। सन् २०२५ मा यो संख्या १४ थियो। ३५ देखि ४४ वर्ष उमेर समूहका उपभोक्ताले भने औसत २३ वटा पसलमा पुगेर मूल्य तुलना गर्ने अपेक्षा गरेका छन्।
क्यानाडाली वा स्थानीय व्यवसायबाट सामान किन्ने विचारमा रहेको बताउने उपभोक्ता ४५ प्रतिशत छन्। तर, स्थानीय स्वामित्वकै आधारमा बढी मूल्य तिर्न तयार नरहेको बताउने ३५ प्रतिशत छन्।
यसैबीच, सन् २०२६ का पहिलो नौ महिनामा क्यानाडामा व्यक्तिगत ऋण तिर्न नसकेर कानुनी प्रक्रियामा जाने उपभोक्ताको संख्या सन् २००९ यताकै उच्च पुगेको छ।
ऋणसम्बन्धी कार्यालयको तथ्याङ्कअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म ३६ हजार ७९७ जनाले ऋणसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएका छन्।
ऋण तथा पुनर्संरचना व्यवसायीहरूको संस्थाका अनुसार सन् २०२६ को पहिलो तीन त्रैमासिकमा ऋण तिर्न नसक्ने उपभोक्ताको संख्या सन् २००९ को सोही अवधिपछिकै सबैभन्दा धेरै हो। सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि सन् २००९ मा पनि यस्तो संख्या उच्च पुगेको थियो।
तर, वयस्क जनसंख्याका आधारमा हेर्दा सन् २०२६ को तेस्रो त्रैमासिकमा प्रत्येक एक हजार वयस्कमध्ये १.१ जनाले मात्रै यस्तो प्रक्रिया अघि बढाएका छन्। सन् २००९ को सोही अवधिमा यो दर १.५ थियो। जनसंख्या वृद्धिका कारण कुल संख्या बढे पनि दर तुलनात्मक रूपमा कम रहेको काइर्पले जनाएको छ।
संस्थाका उपाध्यक्ष तथा ऋण दिवालियापनसम्बन्धी इजाजतप्राप्त विज्ञ वेस्ली कोवानका अनुसार ऋण तिर्न नसक्ने उपभोक्ताको संख्या लगातार उच्च रहनुले क्यानाडालीहरूलाई आफ्नो ऋण व्यवस्थापन गर्न कठिन भइरहेको देखाउँछ।

सम्बन्धित खबर











.png)



.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया