• आइतबार, ७ मङ्सिर, २०८३
  • Sunday, 22 November, 2026
  • X

१८ वर्ष अमेरिकामा बिताएका भारतीय परिवार छोराछोरी हुर्काउन भारत फर्किए

नेपालTouch
शुक्रबार मङ्सिर ५, २०८३ | Friday November 20,2026

अन्टारियो। अमेरिकामा १८ वर्ष बिताएर त्यहाँको नागरिकता लिएका एक पूर्व प्रविधि इन्जिनियर परिवारसहित भारत फर्किएका छन्। अमेरिकी प्रविधि कम्पनीहरूमा काम गर्दै जीवन बिताएका ४४ वर्षीय बालाजी गुरुराजनले आफ्ना छोराछोरीलाई परिवार र भारतीय संस्कृतिसँग नजिक राख्दै हुर्काउने उद्देश्यले अमेरिकाको क्यालिफोर्नियाबाट भारतको बेङ्गलुरु फर्किने निर्णय गरेका हुन्।

माइक्रोसफ्ट, लिंक्डइन र मेटामा काम गरिसकेका गुरुराजनले पत्नी र दुई सन्तानसहित गत जुनमा बेङ्गलुरु फर्किएको आफ्नो अनुभव 'बिजनेस इनसाइडर'सँग साझा गरेका छन्। भारत फर्किनुअघि उनीहरूले अमेरिकास्थित आफ्नो घर भाडामा लगाएका थिए भने गाडी र फर्निचर बिक्री गरेका थिए।

भारत छाडेर अमेरिका जानेको संख्या ठूलो भइरहेका बेला आफूहरू उल्टो बाटो रोजेर फर्किएको निर्णयबारे छिमेकीहरूले पनि प्रश्न गरेको उनले बताएका छन्। धेरै मानिस अमेरिका जान प्रयास गरिरहेका बेला आफूहरू किन फर्किएको भन्ने जिज्ञासा उनीहरूले राखेका थिए।

दक्षिण भारतीय राज्य तमिलनाडुमा मध्यमवर्गीय परिवारमा जन्मिएका गुरुराजनलाई विद्यालय पढ्दादेखि नै कम्प्युटरप्रति रुचि थियो। परिवारको आर्थिक अवस्थाका कारण उनले घरनजिकैको विश्वविद्यालयमा उपकरण तथा नियन्त्रण इन्जिनियरिङ अध्ययन गरेका थिए।

पढाइपछि उनले बेङ्गलुरुको विप्रो र फिलिप्स मेडिकल सिस्टम्समा काम गरे। त्यसपछि प्रविधि क्षेत्रमा नयाँ अवसर खोज्दै एच–१बी भिसामा अमेरिका पुगे। सुरुमा स्याक्रामेन्टोस्थित स्वास्थ्यसम्बन्धी सफ्टवेयर निर्माण गर्ने एक गैरनाफामूलक संस्थामा काम गरेका उनले त्यसको एक वर्षपछि माइक्रोसफ्टमा अवसर पाए।

अमेरिकामा सुरुका दिन सहज थिएनन्। शाकाहारी खाना खाने तर पकाउन खासै नजान्ने उनलाई नयाँ ठाउँमा सहयोग गर्ने आफन्त वा चिनजानका व्यक्ति पनि थिएनन्। माइक्रोसफ्टमै काम गर्ने क्रममा उनको विवाह भयो। जैवप्रविधिमा स्नातकोत्तर गरेकी उनकी पत्नी एच–४ भिसामा रहेकाले त्यसबेला काम गर्न पाउँदिनथिन्।

सन् २०१२ मा पाँच महिनाका छोरा हुँदा उनीहरू राम्रो रोजगारीको अवसर र अनुकूल मौसमको खोजीमा क्यालिफोर्नियाको बे एरियामा सरे। क्युपर्टिनोमा घर किनेका गुरुराजन त्यसपछि लिंक्डइनमा आबद्ध भए। त्यहीँ काम गर्दा उनले स्थायी आवास अनुमति र पछि अमेरिकी नागरिकता प्राप्त गरे। त्यसपछि उनी मेटामा काम गर्न थाले।

अमेरिकामा व्यावसायिक जीवन स्थापित भए पनि छोराछोरी हुर्काउने क्रममा भने आफूले भारतमा बिताएको बाल्यकालजस्तो पारिवारिक वातावरण दिन नसकेको उनको अनुभव छ। भारतमा हुर्कँदा काका, काकी, मामा, माइजू र दाजुभाइसँगै बिताएको समय तथा आफन्तबीचको निकटता अमेरिकामा छोराछोरीले पाउन नसकेको उनले बताएका छन्। साथीहरूले आफन्तको अभाव केही हदसम्म पूरा गरे पनि उनीहरू पनि समयसँगै अन्यत्र सर्ने भएकाले स्थायी सामाजिक सम्बन्ध बनाउन कठिन भएको उनको भनाइ छ।

अहिले १४ र ६ वर्षका दुवै सन्तान अमेरिकामै जन्मिएका हुन्। उनीहरूले भारतलाई केही साताका पारिवारिक भ्रमणका क्रममा मात्रै देखेका थिए। छोराछोरीले हजुरबा–हजुरआमा, काका–काकी र काकाका छोराछोरीसँग प्रत्यक्ष समय बिताउन पाऊन् तथा भारतीय संस्कृति नजिकबाट बुझून् भन्ने चाहनाले परिवार फर्किएको उनले बताएका छन्।

गुरुराजनकी आमा पनि उनीहरूसँग अमेरिकामा करिब पाँच वर्ष बसेकी थिइन्। उनको स्थायी आवास अनुमति बनाइदिएर आवश्यक हेरचाहको व्यवस्था मिलाइएको भए पनि उमेर समूहका अन्य व्यक्तिसँग घुलमिल हुन नपाउँदा उनी एक्लोपन महसुस गर्ने गर्थिन्। भारतमा रहेका ससुरालीका सदस्यहरू पनि अमेरिकामा आएर लामो समय बस्न सक्ने अवस्थामा थिएनन्।

परिवार फर्किने निर्णय गर्दा सबैभन्दा ठूलो चिन्ता छोराछोरीको पढाइ र उनीहरूको सामाजिक जीवनबारे थियो। क्यालिफोर्नियाका विद्यालय र विश्वविद्यालय छाड्नु जोखिमपूर्ण लागे पनि छोराको माध्यमिक तहको पढाइ सुरु भएपछि स्थान परिवर्तन गर्दा झन् कठिन हुने भएकाले त्यसभन्दा अगाडि नै फर्किने निर्णय गरेको गुरुराजनले बताएका छन्।

भारत फर्किनुअघि उनीहरूले केही महिना तयारी गरेका थिए। अवस्था अनुकूल नभए पुनः फर्किन सकियोस् भनेर अमेरिकाको घर भने बिक्री नगरी सुरक्षित राखेका छन्।

बेङ्गलुरु फर्किएपछि सोचेभन्दा सहज जीवन पाएको उनको अनुभव छ। उनीहरू अहिले सुरक्षा व्यवस्था भएको आवासीय क्षेत्रमा बस्छन्, जहाँ घरभाडा मासिक करिब एक हजार ५० अमेरिकी डलर पर्छ। घरायसी काममा सहयोग गर्ने व्यक्तिका लागि थप २६० डलर खर्च हुन्छ।

अमेरिकामा उनी र उनकी पत्नीले घरका सबै काम आफैँ गर्नुपर्थ्यो। भारत फर्किएपछि भने छोरीलाई पार्क लैजान र छोराको विद्यालयको काममा सहयोग गर्न पर्याप्त समय पाएको उनले बताएका छन्।

भारतको पूर्वाधारमा अझै सुधार आवश्यक रहेको र सडकमा अत्यधिक ट्राफिक समस्या रहेको स्वीकार गर्दै उनले पछिल्लो समय देशमा धेरै परिवर्तन आएको बताएका छन्। उनका अनुसार छोराले नयाँ विद्यालय मन पराएको छ र साथीहरू पनि बनाइसकेको छ। सुरुमा नयाँ विद्यालयमा भर्ना हुँदा रोएकी छोरी पनि अहिले सहज भइसकेकी छन्। दुवै सन्तान अंग्रेजी माध्यममा अन्तर्राष्ट्रिय पाठ्यक्रमअनुसार पढाइ हुने विद्यालयमा अध्ययनरत छन्।

करिब २० वर्ष निरन्तर काम गरेका गुरुराजन अहिले केही समय विश्राममा छन्। भविष्यमा फेरि यसअघिकै प्रकारको जागिर गर्ने वा आफ्नै व्यवसाय सुरु गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनन्।

परिवार कहाँ बस्ने भन्ने विषयमा आफू र पत्नीबीच बेलाबेला छलफल हुने गरेको उनले बताएका छन्। छोराछोरी भविष्यमा विदेशमै बस्न चाहे आफूहरूले भारत र उनीहरू बस्ने देशबीच समय बाँडेर बिताउने सम्भावना रहेको उनको भनाइ छ। तर, त्यसो गर्न कठिन भएपछि भने भारतमै बस्ने उनीहरूको योजना छ।

तपाईंको प्रतिक्रिया