‘देश छाडेर हिँडेको दिन निकै रोएको थिएँ’
नेपालTouch
भोजपुरको टेम्केमैयूँका रुद्र अधिकारी क्यानाडा आएको १३ वर्ष भयो। नेपालमा रहँदा कुनै बेला नेपाल टेलिकममा काम गरेका उनी हाल क्यानाडाको न्यू ब्रन्सविक प्रान्तीय सरकारको फाइनान्स एण्ड ट्रेजरी बोर्डमा कार्यरत् छन्।
नेपालमा काम गर्दै जाँदा नेपाल राष्ट्र बैंकको सहायक निर्देशकको जिम्मेवारीसमेत सम्हालेका अधिकारी देशको असहिष्णु राजनीतिक अवस्था, राजनैतिक द्वन्द्वको प्रभाव, अनिश्चित भविष्य जस्ता कारणले नेपालीहरु विदेश आउने गरेको बताउँछन्।
आफू विदेश आउनुको कारणमा उनीे विकसित देशको बैभवता र सम्पन्नताभन्दा पनि देश प्रतिको वितृष्णा, असहिष्णु राजनीति प्रतिको घृणाभाव र भावी सन्ततिको चिन्ता अनि जिम्मेवारीवोध बताउँछन्। यसपटक हामीले अधिकारीसँग अन्तरङ्ग कुराकानी गरेका छौं–
विदेश किन र कहिले आउनुभयो?
म क्यानाडामा स्थायी बसोबास गर्न पाउने अवसर पाएर सन् २०१० को जुलाईमा आएको हो। किन आएको भन्ने कुराको एउटै मात्र सोझो जवाफ मैले आजसम्म फेला पार्न सकेको छैन। देशको असहिष्णु राजनीतिक अवस्था, राजनैतिक द्वन्द्वले परिवारमा पारेको प्रत्यक्ष प्रभाव, परिवारका सदस्यहरुको विस्थापित जीवन र अनिश्चित भविष्य, सन्ततिको र आफ्नो सुनिश्चित भविष्यको खोजी, विदेशी आलिशान वैभव, सुख, शान्ति र समृद्धिको लोभ जस्ता विविध कारणहरुले नै मलाई क्यानाडा ल्याएको हुनसक्छ।
अहिले के कस्तो पेशा व्यवसाय गर्दै हुनुहुन्छ?
जीविकोपार्जनका लागि गरिने सुरुवाती संघर्षका कामहरुका अतिरिक्त मैले सन् २०१३ मा युनिभर्सिटीबाट एमबिए सकेपश्चात बैंकमा जागिर सुरु गरें। फाइनान्सियल एडभाइजरको रुपमा काम गरिरहँदाकै अवस्थामा हाल न्यू ब्रन्सविक प्रान्तीय सरकारको फाइनान्स एण्ड ट्रेजरी बोर्डमा फाइनान्सियल एनालिष्टको रुपमा कार्यरत छु।
अब यतै ढुक्कै बसाइ हुन्छ कि फर्कने योजना छ?
जुन दिन देश छाडेर हिँडेको थिएँ, त्यो दिन म निकै रोएको थिएँ किनभने मैले एउटा कठोर निर्णय लिएको थिएँ– देश छाड्ने। फर्कने योजना हालसम्म बनाउन सकेको छैन र फर्कने वातावरण पनि बनेको छैन। भविष्यमा अर्को कठोर निर्णय लिन मन नलागुञ्जेल हाललाई यतै बस्ने योजना छ। स्थायी रुपमा फर्कने तत्काल कुनै योजना छैन।
धेरै नेपाली विदेश आउँछन्, के कारणले होला?
विदेश आउने हरेक व्यक्तिका आ–आफ्नै रहर र वाध्यताहरु हुन्छन्। हामी नेपालीहरुको सवालमा मेरो बिचारमा वाध्यताभन्दा पनि रहर र लालचा नै बढी हो कि जस्तो लाग्छ। विकसित र धनी देशहरुले अवलम्वन गरेको यो विश्वव्यापी बसाई–सराई नीति नै यति आकर्षक र लोभलाग्दो छ कि गरिबी, अभाव, अस्थिरता र असुरक्षाको मारमा पिल्सिएका तेस्रो विश्वका मेहनति, कुशल र शिक्षित जनशक्ति बत्तीमा पुतली होमिएझैं होमिन्छन्। मेरो व्यक्तिगत सवालमा भने विकसित देशको बैभवता र सम्पन्नता भन्दापनि देश प्रतिको वितृष्णा, असहिष्णु राजनीति प्रतिको घृणाभाव र भावी सन्ततिको चिन्ता र जिम्मेवारीवोधले मलाई विदेश ल्याएको हुनुपर्छ।
नेपाल कत्तिको सम्झना हुन्छ? खासगरी कुन बेला?
नेपालको सम्झना नभएको क्षण हुँदैन। १२ वर्षमा खोलो फर्कन्छ भन्थे, १३ वर्ष पुग्यो यो मन अझै विदेशी हुन सकेको छैन। दिनभर तन यहाँ भएपनि सपनीमा मन हररात नेपालमै हुन्छ। अझ विशेष गरी चाडबाड, तिथि–श्राद्ध, विवाह–ब्रतबन्ध जस्ता पारिवारिक जमघट र शुभकार्यहरु र कुनै परिवारका सदस्य वा आफन्तसँगको कहिल्यै भेट नहुने बिदाई (मृत्यु) को समाचार आएका बखत नेपालको भन्दा पनि परिवार र आफन्तहरुको धेरै सम्झना आउँछ।
नेपाल र क्यानाडाबीच तुलना गर्न परे के फरक पाउनुहुन्छ?
नेपाल र क्यानाडाको तुलना गर्नु भनेको बयर र स्याउ तुलना गरेजस्तै लाग्छ मलाई। नेपाल प्राकृतिक सुन्दरता, स्रोत र सम्पदाले सम्पन्न भएर पनि कुशल नेतृत्व र सक्षम व्यवस्थापनको अभाव र सेवा संचालन प्रणाली नबसेका कारण देश कंगाल र नेता र कर्मचारी सम्पन्न भएको देश कहलिन्छ। धनी झनझन धनी र गरिब झनझन गरिब हुँदै गएको देशको रुपमा चिनिन्छ। रणनैतिक भौगोलिकताका कारण शक्ति राष्ट्र र समूहहरुको राजनैतिक क्रीडास्थल बनेको छ।
क्यानाडा आफैँमा नीति, नियम र प्रणालीमा चल्ने देश, प्रगतिशील कर प्रणाली भएको देश, भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने एक प्रगतिशील समाजवादी शासन प्रणाली भएको मुलुकको रुपमा चिनिन्छ। हावापानीका हिसाबले नेपाल प्राकृतिक स्वर्ग हो भने क्यानाडा कृत्रिम स्वर्ग हो। रोटीबेटीको सम्बन्ध भएको छिमेकी देश भारतको हेपाईको तुलनामा संसारको शक्तिशाली राष्ट्र अमेरिकासँग झण्डै आधा भूगोल लामो सीमारेखा भएरपनि आफैंमा स्वतन्त्र, स्वाधीन, सुरक्षित र सांस्कृतिक विविधता भएको देश हो क्यानाडा।
नेपालमा आफन्त, छरछिमेकी र साथीसंगीसँग कत्तिको सम्पर्क हुन्छ?
पुराना, सम्पर्क विहिन र छुटिसकेका साथीहरुसँग पनि सामाजिक सञ्जालमा जोडिन पाउँदा हामी कुनै कुनै सप्ताहान्त त घण्टौं कुरा गरेर अतीतमा हराउने गर्छौं। साह्रै मज्जा लाग्छ वाल्यकाल र किशोरावस्थामा हराउन!
प्रविधिको विकास र सहज पहुँचले आजभोलि संसार झनै साँघुरो भएको महसुस हुन्छ मलाई। मेरी ७६ वर्ष टेकेकी आमा हुनुहुन्छ। वहाँसँग प्रायः दैनिक कुरा गर्छु। अन्य परिवारका सदस्यहरुसँग समय अनुकूल मिलाएर प्रायः सप्ताहान्तमा कुरा हुन्छ। छरछिमेकीहरुसँग केही विशेष काम र समयानुकूल भएको बखत मात्र कुरा हुन्छ। बरु साथीभाइसँग चाँहि सामाजिक सञ्जालमार्फत् समूह बनाएर नियमित अपडेट भइरहन्छ। पुराना, सम्पर्क विहिन र छुटिसकेका साथीहरुसँग पनि सामाजिक सञ्जालमा जोडिन पाउँदा हामी कुनै कुनै सप्ताहान्त त घण्टौं कुरा गरेर अतीतमा हराउने गर्छौं। साह्रै मज्जा लाग्छ वाल्यकाल र किशोरावस्थामा हराउन!
यता नेपालीबीच सामूहिक भेटघाट कत्तिको हुन्छ?
नेपालमा रहँदा पनि म असाध्य सामाजिक व्यक्ति थिएँ। छरछिमेकमा आइपर्ने विवाह, ब्रतबन्ध, मरुमारु जस्ता सुख–दुख दुबै कार्यहरुमा म सक्रिय रहन्थें। यतिसम्म मलाई सम्झना छ कि, टोलमा मरुमारु पर्यो भने सदगति पूर्वको व्यवस्थापनका लागि पहिलो सम्पर्क व्यक्ति म हुन्थें। मैले नै दाहसंस्कारका लागि आवश्यक सरजामको बन्दोवस्त र दाहसंस्कार कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पथ्र्यो। हरेक एकादशी–एकादशीमा टोलमा पालैपालो सामूहिक भजन–कीर्तन गरिन्थ्यो। यहाँ आएपछि सुरुका केही वर्षहरु शहरमा स्थायी बसोबास गर्ने नेपाली–नेपालीको बीचमा सामूहिक भेटघाट हुन्थ्यो। नेपालीहरुको कुनै औपचारिक संस्था थिएन।
कालान्तरमा भुटानी–नेपाली परिवारहरुको आगमनले भने बेग्लै उत्साह थपियो। भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न नेपालबाट आएका नेपाली भन्दा भुटानबाट आएका नेपाली भाषी दाजुभाइ–दिदीबहिनिहरु कैयौं गुणा समर्पित थिए। उनीहरुसँगको सामीप्यले नेपाली कल्चरल एशोसियशन अफ न्यू ब्रन्सविक नामको संस्था दर्ता गरी हरेक चाडबाड र सामाजिक कार्यहरुमा सक्रिय रहन थालियो।
संस्थाको अध्यक्ष भएको नाताले नियमित भेटघाट, बैठक, कार्यक्रम, भावी योजनामा छलफलका अतिरिक्त सामाजिक कार्यहरु जस्तै विवाह, न्वारन, श्राद्ध, दसैँ, तिहारमा सामूहिक देऊसी–भैलो, बनभोज र सामूहिक भजन कीर्तन जस्ता कार्यक्रमहरुमा निरन्तर भेटघाट हुन्थ्यो, रमाइलो गरिन्थ्यो। भुटानी नेपालीहरु क्रमशः पश्चिम अन्टारियो बसाईं सरेपछि भने नेपाली भाषीहरुको संख्या तुलनात्मक न्यून हुन गएको छ। नयाँ आउने नेपालीहरु प्रायः कर्मशील युवा पुस्ता मात्र रहेको र भाषा, संस्कृति, परम्परा भन्दा पनि जागिर, वृत्तिविकास र रमझम तिर बढी ध्यान जाने भएकोले होला सामाजिक भेटघाट पातलो भएपनि सामूहिक भेटघाट भने निरन्तर चलिरहन्छ।
तपाईंका रुचिहरु के के छन्?
मेरा रुचिहरुको सूची खासै लामो छैन। म संगीत सुन्न र चलचित्र हेर्न मन पराउँछु। नयाँ स्थानहरुको भ्रमण, खेलकुद, परोपकार र सामाजिक काममा अरुलाई सहयोग गर्न पाउँदा मलाई आनन्द लाग्छ।
एनआरएनएमा आवद्ध हुनुहुन्छ कि छैन, अरु नेपाली संघ संस्थामा?
मलाई एनआरएनएमा आबद्ध गराउन धेरैजना साथीहरुले निकै प्रयास गर्नुभयो र गरिरहनु भएको पनि छ। तर म हालसम्म साधारण सदस्य पनि बनेको छैन। यसमा मेरो कुनै पूर्वाग्रह छैन तर केही अडानहरु छन्।
जबसम्म संस्थाको ठोस उद्देश्य मुताबिक संस्थालाई नेपाली राजनैतिक दलको प्रत्यक्ष प्रभावबाट मुक्त गरिन्न र एनआरएनए भनेको चाँहि खाली ठूला शहरमा बस्नेहरुको पदको लागि अरुले सदस्य बनिदिनु पर्ने मानसिकताबाट सदस्यहरुलाई मुक्त गराइन्न र संस्थाप्रति सदस्यहरुको अपनत्व ग्रहण गराउन सकिन्न, तबसम्म यो नेपालका राजनैतिक दलहरुको स्वार्थी राजनीतिबाट प्रभावित समूहबाट टाढै रहने प्रण गरेको छु।
मलाई एनआरएनएमा आबद्ध गराउन धेरैजना साथीहरुले निकै प्रयास गर्नुभयो र गरिरहनु भएको पनि छ। तर म हालसम्म साधारण सदस्य पनि बनेको छैन। यसमा मेरो कुनै पूर्वाग्रह छैन तर केही अडानहरु छन्।
बरु राजनैतिक रङ्गभन्दा माथि उठेर स्थानीय समुदायमा आफ्नो पहिचान र नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनका लागि नेपाली कल्चरल एशोसियशन अफ न्यू ब्रन्सविक नामको संस्थामा आबद्ध भइ विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छु। त्यसैगरी, नेपाली साहित्य समाज क्यानाडाको कार्यसमिति सदस्य, क्यानडा नेपाल फ्रेण्डशिप एण्ड कल्चरल सोसाइटीको महासचिव र मल्टिकल्चरल एशोसियशन अफ फ्रेडरिक्टनको उपाध्यक्ष समेत भइ सक्रिय रुपमा काम गरिरहेको छु।
नेपालबारे क्यानेडियनहरु कतिको जान्दछन्? नेपाली हो भन्दा उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ?
पहिले पहिले त ’आइ एम फ्रम नेपाल’ भन्यो भने– ‘ओ, यु आर फ्रम निपोल (इटालीको एक शहर)’ भन्थे। अचेल भने नेपाल र नेपालीको बारेमा धेरै जानकारी राख्छन् क्यानेडियनहरु। श्रम बजारमा समेत नेपाली कामदारहरुको छुट्टै र विश्वासिलो छवि कायम छ जस्तो लाग्छ मलाई।
म नेपाली हुँ भन्दा निकै उत्साहित र आत्मीय भाव पाउँछु सहकर्मीहरुबाट। भूकम्प, बाढी पहिरो र विमान दुर्घटना जस्ता दैवी प्रकोप र राष्ट्रिय विपदका समाचार सुने, पढे भने कार्यालयमा आएर सोधखोज गर्छन्, निकटका परिवारका सदस्यहरुको अवस्थाको बारेमा जानकारी राख्छन् र चन्दा सहयोग गर्न समेत तयार रहन्छन्। समग्रमा, अधिकांश क्यानेडियहरुले नेपाल र नेपालीको बारेमा सकारात्मक प्रतिक्रिया नै अभिव्यक्त गरेको पाउँछु मैले।
नेपालको पछिल्लो अवस्थाबारे कत्तिको जानकार हुनुहुन्छ?
नेपालको पछिल्लो अवस्थाका बारेमा अनलाइन समाचारबाट जे जस्तो समाचारहरु सम्प्रेषित हुन्छन्, त्यतिमात्र जानकारी राख्छु। मलाई राम्रोसँग थाहा छ, पत्रकारिता र पीत पत्रकारिताको फरक। सबै समाचार सत्य हुँदैनन् भन्ने जान्दा जान्दै पनि कुनै अप्रत्यासित समाचार पढेमा वा सुनेमा त्यसलाई पुष्टि गर्ने थप आधार खोज्नेतर्फ लाग्दिन। बरु तटस्थ रहने कोसिस गर्छु।
अधिकांश समय समाचारभन्दा पनि सामाजिक सञ्जालमा उपलब्ध हुने अन्तरवार्ता, टक शो, र प्रतिक्रियाहरुमा लगाउँछु। त्यसैले, नेपालको यथार्थ स्थितिको भन्दा पनि बजारमा जुन अवस्थाको चर्चा बढी चल्छ, त्यसको मात्र जानकारी रहने गर्छ।
के के कुरामा सुधार गर्नुपर्ने ठान्नुहुन्छ?
समस्या समाधानको सन्दर्भमा एउटा भनाइ छ– सानो प्वाल हुँदा रफ्फु गर्न मिल्छ रे, ठूलो भ्वाङ् नै परेपछि त टाल्नै पर्छ रे। नेपालको विषयमा कुरा गर्दा समस्या एक ठाउँमा रफ्फु गर्न मिल्ने गरी हैन, टाल्नै पर्ने गरी भ्वाङ् परेको देख्छु म। सबैभन्दा मुख्य कुरा त एकजनाले चाहेर हुनसक्ने केही छैन। आम नेपालीको इच्छाशक्ति र सोचमा नै परिवर्तन आउनु पर्छ।
‘फुटाऊ र राज गर’ को पछिल्लो राजनीतिक दर्शनले सयौं जातको फूलबारीमा विष घोलिदिएको छ। नाकको लम्बाई र आँखाको खुलाईबाट मान्छेका विचार र भावनाहरुको समर्थन र बिरोध हुन्छ। त्यसैले राजनैतिक स्वार्थभन्दा माथि उठेर सिङ्गो देशलाई एकताको सुत्रमा उन्न सक्ने राजनेताको नेतृत्व, क्षणिक राजनैतिक र व्यक्तिगत लाभभन्दा माथि उठेर देशको सर्वोपरि हितलाई मध्यनजर गर्ने उत्पादनमुखी जनता, निःशुल्क आधारभूत शिक्षा, स्वास्थ्य र पोषणको प्रत्याभूति दिनसक्ने राज्य संयन्त्र, पारदर्शी, सेवामुखी, सर्वसुलभ, नवीनतम प्रविधियुक्त र सहज पहुँच भएको सक्षम कर्मचारीतन्त्र, नीति, नियम र ऐन–कानूनमा चल्ने दर्बिलो संस्थागत संरचना, कर्मचारीको अनुत्पादक समय कटौती, आन्तरिक उत्पादनमा जोड, व्यावसायिक र नवीनतम प्रविधिमैत्री शिक्षा प्रणालीको विकास हुन सके देशले काँचुली फेर्न केही दशक नै काफी छ। दृढ इच्छाशक्तिको खाँचो छ। यी सबै एकैपटक हुने विषय हैनन् तर सुरुवात चाँहि कहाँबाट र कसले भन्ने प्रश्न प्रमुख रहन्छ।
‘फुटाऊ र राज गर’ को पछिल्लो राजनीतिक दर्शनले सयौं जातको फूलबारीमा विष घोलिदिएको छ। नाकको लम्बाई र आँखाको खुलाईबाट मान्छेका विचार र भावनाहरुको समर्थन र बिरोध हुन्छ।
नेपाली गीत, फिल्मबारे अपडेट हुनुहुन्छ? कुन कुन मन पर्छन्?
मलाई प्रायः मेलोडियस गीतहरु मन पर्छन्। र्याप र पपले खासै आकर्षित गर्दैन। सुन्ने भनेको पुराना सदाबहार गीतहरु र चलेका चलचित्रका आधुनिक सुगम संगीत बढी मन पर्छ। नेपाली चलचित्रहरु प्रायः सबै हेर्छु। सामान्यतया सामाजिक सन्देश बोकेका, भुईँमान्छेका कथाहरु बाचिएका, सामाजिक शोषण र उत्पीडन विरुद्धको जनजागरणका कथावस्तु बोकेका चलचित्र बढी मन पर्छन्। तर मन परेको फिल्म चाहेको समयमा हेर्न पाएको छैन।
युट्युब, नेटफ्लिक्स, अमेजन जस्ता माध्यममा पनि नेपाली चलचित्रहरु आइदिए हुन्थ्योजस्तो लाग्छ। पछिल्लो पटक नेपाल जाँदा हेरेको चलचित्र छक्कापञ्जा ४ हो। चर्चा र सफलता पाएजति गहकिलो कथावस्तु र मनोरञ्जन पाएको थिइनँ, औसत नै लागेको थियो। तर व्यापारमा पाएको सफलताले भने मेरो मुखमा बुझो लाग्यो।
नेपालमा गर्न मन लागेको कुनै त्यस्तो काम जो तपाईंको धोको छ?
नेपालमा गर्नुपर्ने काम र क्षेत्र धेरै छन्। अझ इमान्दार भएर भन्नु पर्दा त सकारात्मकभन्दा पनि मलाई त नकारात्मक काम गर्न बढी मन छ। अकारण, अनायास मेरो पिताजीको हत्या गर्ने मुख्य दोषीसँग प्रतिशोध लिने धोको छ मिल्ने भए त! तर यी नकारात्मक पक्षलाई दवाउन म सकारात्मक काम गर्न चाहन्छु। तीमध्ये मेरो मनमा गर्न मन लागेको पहिलो सकारात्मक कामचाहिँ शिक्षा क्षेत्र नै हो।
मेरो परिवारमा जुन दुर्घटना घटाइयो, मेरो बुबालाई जुन ठाउँमा गोली हानी हत्या गरियो, त्यही ठाउँका विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति दिलाऊन मेरो बुबाको नाममा अक्षयकोष खडा गर्न मन छ। अर्को रहर भनेको चाहिँ जुन घर थातथलोमा मेरो जन्म भयो, त्यो बेचिएको जन्मघर पुनः प्राप्त गरी त्यो घरमा आफ्नै सन्तानबाट लखेटिएका अपहेलित बृद्ध आमाबुबाहरुको लागि आधुनिक सुविधासम्पन्न बृद्धाश्रम चलाऊन मन छ।
नेपालमा घुम्न चाहेका ठाउँ कुन कुन हुन्?
जुनबखत म आफू देशदर्शनमा जानसक्ने हैसियतमा थिएँ, त्यो बखत आन्तरिक पर्यटनको खासै विकास भएको थिएन। अहिले जस्तो नयाँनयाँ पदमार्गका रुटहरु, ठाउँठाउँमा होमस्टे, होटल र लजहरु, अनि बाटोघाटो र सञ्चारको सुबिधा थिएन। अहिले देशैभर फस्टाएको आन्तरिक पर्यटनको प्रवर्द्धनले मैले हिजो चाहेर पनि घुम्न नपाएका केही ठाउँहरु मेरो ‘गर्न बाँकी कामहरु’ को सूचीमा छन्।
पूर्वबाट सुरु गर्नु पर्दा, मलाई पाथीभरा माताको काखमा बसी कञ्चनजङ्घामा टेक्ने सूर्यको पहिलो किरण हेर्न मन छ। खुम्बुको काखबाट संसारको चुचुरो नियाल्न मन छ। अन्नपूर्ण ट्रेकिङबाट घले गाउँको सांस्कृतिक विविधताको मनोरञ्जन लिंदै कागबेनीमा पितृश्राद्ध गरेर मुक्तिनाथका बाइसे धारामा प्रायश्चित स्नान लिने मन छ।
उपल्लो मुस्ताङको फरक संस्कृतिबाट बिरक्त भएर राराको गहिराइमा प्रतिविम्बित सैपाल हिमालको छायाँ नियाल्दै शे–फोक्सुण्डोको कञ्चन छटामा डुबुल्की मारेर खप्तडको खुल्ला आकाश मुनिका शान्त हरिया फाँटमा निश्चिन्त भएर उत्तानो टाङ्ग लगाएर कम्तीमा १–२ घण्टा चीर निन्द्रामा सुत्न मन छ।

सम्बन्धित खबर



.png)







.png)



.png)
.png)
.png)





तपाईंको प्रतिक्रिया