‘प्राकृतिक रुपमा नेपाल राम्रो, सामाजिक रुपमा बेलायत’
नेपालTouch
गीता पोखरेल व्युक्यानन् बेलायतमा बस्छिन्। बुक्यानन् उनको बेलायती थर हो। काठमाडौंस्थित त्रिचन्द्र कलेजबाट स्नाकोत्तर गरेकी उनी पहिले पर्यटन क्षेत्रसँग सम्बन्धित भएर काम गर्थिन्।
पुर्ख्यौली घर ओखलढुंगा भएकी उनी काठमाडौंमा जन्मिएकी थिइन्। त्यहीँ उनले प्रारम्भिकदेखि उच्च शिक्षासम्म हासिल गरेकी हुन्।
पर्यटन क्षेत्रमा रहेकै बेला बेलायती नागरिकसँग नजिकिएकी गीतको उनैसँग विवाह भयो। कुराकानीका क्रममा उनले विगतमा भोगेको तीतो अनुभव पनि साझा गरेकी छन्।
खासगरी महिलामाथि हुने हिंसाका कुराले उनलाई पिरोल्ने गरेको छ। आफू बेलायतमा रहँदा नेपालमा भएका त्यस्ता हिंसाका घटनाले विचलित बनाउने गरेको उनको अनुभव छ।
त्यस्ता घटना र त्यससँग सम्बन्धित अन्यायपूर्ण धारणाका विरुद्ध उनी सामाजिक सञ्जालमा कडा रुपमा धारणा राखिरहेकी हुन्छिन्। यसपटक हामीले उनै गीतासँग अन्तरङ्ग कुराकानी गरेका छौं।
नेपालमा रहँदा के गर्नुहुन्थ्यो ?
नेपालमा धेरै ठाउँमा काम गरे फरक नेचरका फरक कामहरु। ट्युसन पढाउनेदेखि मिडियालगायत गरिबहरुको लागि काम गर्नेदेखि धनीहरुलाई घुमाउने टुरिजम क्षेत्रमा समेत काम गरें। बेलायत आउनु अगाडि म ट्राभल एण्ड टुरिजममा टुर अफिसर थिएँ।
बेलायतमा के गर्दै हुनुहुन्छ?
म बेलायतमा गृहिणी हो। श्रीमानजीको व्यवसाय छ। सानोतिनो सहयोग गर्छु।
तपाईं बसेको क्षेत्रमा नेपाली कति छन्?
म बसेको ठाउँ धेरै बेलायतीहरुकै बाहुल्यता भएको ठाउँ हो। यहाँ मैले कोही नेपाली बसेको भेटेकी छैन । हुनुहुन्छ होला तर न्यून संख्यामा।
नेपाल छाडेर बेलायत आउन के कुराले प्रेरित गर्यो?
बेलायत आउनुको रमाइलो प्रसङ्ग छ। म टुर एण्ड ट्राभल कम्पनीमा टुर अफिसरको रुपमा काम गर्थें। जागिरको पहिलो टुरमा १२ जना टुरिष्टहरु हुनुहुन्थ्यो। म उहाँहरुलाई घुमाउन पोखरा लिएर जाँदै थिएँ, अफिसको आफ्नै गाडीमा। चिया खाने ठाउँमा गाडी रोकेका थियौं। एकजना टुर मेम्बर टोलाएको देखें। मैले सबैले चिया नास्ता खानुभयो भएन हेर्नुपर्थ्यो। अफ्ठेरो सजिलो, स्वास्थ स्थिति सबै बुझिरहनु पर्थ्यो। केयर टेक भनौं न। उहाँ टोलाएको ठाउँमा गएर सोधें ‘सबै ठिक छ नि?’ श्रीमती कहाँ हुनुहुन्छ? चिया खाजा खानुस्।
उहाँले जवाफ दिनुभयो ‘मैले बिहे गरेको छैन।'
मैले सोधें ‘गर्लफ्रेण्ड?’
‘छैन ।’

चिया नास्ता खान साथी चाहिन्छ भने मेरो टेबुल ज्वाइन गर्नुहोला। अन्यथा मान्नुहुन्न भने मेरो सल्लाह– जीवन लामो छ, असल मान्छे खोजेर बिहे गर्नुस्।
त्यति भनेकी थिएँ, मेरो टेबलमा आएर चिया नास्ता गर्नुभयो। खाना खाने ठाउँमा लामो विश्राम हुन्छ। उहाँले बिस्तारै मेरो पारिवारिक स्थिति बुझ्नुभयो । यसरी बुझ्न खोज्नु सामानय हो। विदेशीहरु घुम्न आउँदा नेपालको पारिवारिक स्थिति, सामाजिक परिवेश, संस्कार, रीतिरिवाज सबै जान्न खोज्छन्।
ममाथि बलात्कार भएको थियो तर हदम्यादको कानुनले मुद्दा बलात्कारीसँग नाता कायमतिर मोडियो। उपाय नभएको कानुनको बाटोमा म एक विवश पीडित थिएँ। बलात्कारीसँग कानुनी रुपमा मेरो डिभोर्स भएको थियो । मेरी एक छोरी छन्। ममाथि बलात्कार भएको कुरा म अहिले पनि पुष्टि गर्न सक्छु।
मैले मेरा कुरा बताएपछि उहाँ नजिकिनुभयो। १० दिनको घुमाइपछि उहाँ बेलायत फर्कनु भयो । हामी लगातार सम्पर्कमा रह्यौं। सन् २०२० मामलाई मेरो देश घुम्न आउ म स्पोन्सर गर्छु भन्नुभयो। मैले विवाहको प्रस्ताव राखे । उहाँले स्वीकार्नुभयो अनि म र छोरी बेलायत आयौं। आएको ती महिनापछि बिहे गर्यौं।
विदेश आउने निर्णय गरेर ठिक गरिएछ कि बेठिक गरिएछ भन्ने लाग्छ?
मेरो निर्णय गलत लाग्दैन। यहाँ र नेपालबीच धेरै फरक छ। मान्छेहरु धेरै बुझ्ने छन् र समाज संकुचित छैन।
अब ढुक्कै बेलायत बसाइ हुन्छ कि नेपाल फर्कने योजना छ ?
म बेलायत नै बस्छु। म नेपाली कानुन, समाज र समाजका व्यक्तिहरुबाट प्रताडित भएको मान्छे। मलाई नेपाल फर्कने मोह छैन तर यसको मतलब नेपालको माया छैन भन्ने होइन। म नेपालमा मैले सक्ने सामाजिक सेवा गर्न तयार छु। विशेषतः महिला, बालबालिका, बृद्ध तथा सडकमा आश्रितहरुका लागि।
नेपाल कत्तिको सम्झना हुन्छ?
जबजब यौन हिंसाका अपराधहरु बाहिर आँउछन् मलाई पीडितको नजिक हुन पाएको भए हुन्थ्यो जस्तो लाग्छ। म बेलायत आएपछिका बलात्कारको घटना पढ्दा बिचलित भएको छु। अन्जाइटी भएको छ सबै घटनामा।
विशेषतः पल शाह काण्ड, व्युटी पेजेन्ट र अहिले सन्दीप लामिछानेको केस। मुद्दा अनुसन्धान हुन्जेल चुप बस्नुपर्छ भन्ने कुरा मानिसहरु बुझ्दै बुझ्दैनन्। पीडितलाई आक्षेप लगाउने गर्छन्। त्यस्तो अवस्थामा पीडितको हौसलाको लागि म पनि लेख्छु। समाजलाई बुझाउन पनि लेख्छु।
नेपाल र बेलायतमा समानता वा फरक केके छन्?
मलाई नेपाल र बेलायतमा समानता छ जस्तो लाग्दैन। समाज नै फरक छ। बुझाई नै फरक छ।
तपाईंलाई नेपाल राम्रो लाग्छ कि बेलायत?
प्राकृतिक रुपमा भन्ने हो भने नेपाल राम्रो छ तर सामाजिक रुपमा बेलायत। मलाई बेलायत नै राम्रो लाग्छ।

नेपालको बढी के ‘मिस’ हुन्छ?
नेपालको खासै केही मिस हुँदैन। घरको चाहिँ मम्मी ड्याडी, भदा भदैनीहरु र कुकुर मिस हुन्छ।
खासगरी कुन बेला बढी सम्झना आउँछ?
म कठोर भएछु कि के हो सम्झना आउँदैन।
नेपालमा आफन्त, साथी संगीसँग कत्तिको सम्पर्क हुन्छ?
घरमा दिनको ३–४ पल्ट कुरा हुन्छ। त्यो बाहेक अरुहरुसँग खासै हुँदैन। सबैको जीवन व्यस्त छ। बरु परदेशमा भएकाहरुसँग नै बढी सम्पर्क हुने रहेछ।
भान्सामा बढी के पाक्छ? नेपाली खानाका परिकारको कत्तिको याद आउँछ?
भान्सामा ७५ प्रतिशत बेलायती, २० प्रतिशत कन्टिनेन्टल र ५ प्रतिशत जति नेपाली खाना पाक्छ। नेपाली परिकार पहिलापहिला त याद आउँथ्यो। अब यतैको बानी परियो।
एनआरएनमा आबद्ध हुनुहुन्छ कि छैन, अरु नेपाली संघ संस्थामा?
छैन म कुनै संघ संस्था वा राजनीतिक पार्टीसँग आवद्ध छैन।
बेलायतका नेपाली संघ संस्थाप्रति तपाईंको कस्तो धारणा छ?
मैले बेलायतका नेपाली संघ संस्था बुझेकै छैन। नबुझीधारणा बनाउनु ठिक होइन होला।
चाडपर्वमा सामूहिक सहभागिता कत्तिको हुन्छ?
उति हुँदैन।
घरमा नेपाली कि अँग्रेजीमा बढी कुरा हुन्छ?
हामी अंग्रेजी नै बोल्छौं।
नेपाली समाचारमा कत्तिको चासो लाग्छ, कसरी अपडेट हुन्छ?
ओहो, यो मेरो नराम्रो पक्ष हो कि के हो, सारै चासो लाग्छ। फेसबुक, ट्विटर र अनलाइन मिडियाबाट अपडेट भइन्छ।
कत्तिको घुम्नुहुन्छ, नेपालको कुन ठाउँ घुम्न मनपर्छ?
मलाई घुम्न सारै रमाइलो लाग्छ। मेरो त झन काम नै टुरिष्ट घुमाउने थियो। नेपालको पोखरा, चितवन, नगरकोट, सिटी टुर, चितवनमा जङ्गल सफारी, फरेस्ट वाक, कन्नोइङ्ग, सारङ्कोटबाट बिन्ध्यााबासिनी सम्मको हाइकिङ्ग, नगरकोटबाट चाागुनारायण सम्मको हाइकिङ्ग खुब रमाइलो हुन्थ्यो।
फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नु हुन्छ?
फुर्सदमा म समाचार र मिडियामा आएका लेखहरु नै पढ्छु। ट्विटर स्पेसमा ज्ञान गुणका कुरामा बहस हुँदा म त्यता पनि जान्छु। नेपालमा हुादा पढ्न ल्याएका पुस्तकहरु नेपालबाट यहाँ आउँदा ल्याउन पाइएन। ती किताबहरु पढ्न मन भरिएकै छैन। कुनै दोहोर्याउनु छ, कति धेरै पढ्नै बाँकी छ।
कस्ता गीत सुन्नुहुन्छ? मनपर्ने नेपाली गीत कुन हुन्?
धेरै छन् मन पर्ने गीतहरु । मलाई ट्रयाजिक गीतहरु मन पर्दैन। अलि उत्साह आउने खालका गस्तहरु मन पर्छन्।
पछिल्लो पटक हेरेको नेपाली फिल्म कुन हो?
ममा फिल्म हेर्ने धैर्य नै छैन त्यसैले म अपडेट छैन। तर ‘पशुपतिप्रसाद’, ‘छक्कापन्जा’ धेरै चर्चामा आएकोले हेरेकी थिएँ। गज्जब राम्रो लाग्यो। मलाई दीपकराज गिरीको कन्सेप्ट मनपर्छ। थोरै हेरेकामध्ये जीवनकै उत्कृष्ट फिल्मचाहिँ हिन्दी ‘पिङ्क’ फिल्म हो।
कुन कुन सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ?
म फेसबुक, ट्विटर र टिकटकमा पनि छु। टिकटकमा धेरै कम उपस्थिति छ।
घरमा नानीबाबुले नेपालीमा लेखपढ गर्छन्?
छोरीले नेपालबाटै १२ कक्षा सकेर आएकी हुन्। नेपाली लेखपढ नगर्ने कुरै छैन।
नानीबाबुहरु नेपालीपनबारे कति जानकार छन्?
पूर्ण जानकार छिन् छोरी।
बेलायत बस्दा नेपालको र नेपालजाँदा बेलायतको मिस हुने कुरा के हुन्?
नेपाल पुग्दा पनि प्लेन चढेर सोही दिन बेलायत फर्किएको सपना देख्छु। सायद जिम्मेवारीबोध भएको होला।
नेपालबारे बेलायती नागरिकहरु कति जानकार छन्? नेपालबाट आएको भन्दा उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ?
नेपाल सगरमाथा तथा बहादुर गोर्खा सैनिक भएको देश भन्ने प्रायः बेलायतीलाई थाहा छ। ‘डु यु मिस नेपाल’ भनेर सोधेको प्रश्नमा म ‘नो’ उत्तर दिन्छु अनि भन्छन् नेपाली ट्रिट फिमेल एज सेकेन्ड क्लास सिटिजन वी अन्डर्स्टान्ड द्याट भन्छन्।
तपाईंको जीवनमा सबैभन्दा खुसी अनुभव गरेको कुनै क्षण सम्झनुहुन्छ?
छोरी जन्मिएको क्षण म एकदम खुसी भएकी थिएँ। विवाह पछिको अहिलेको जीवनचाहिँ म आफूलाई ब्लेस्ट (आशिर्वाद) मान्छु। श्रीमान् एकदम बुझ्ने र माया गर्ने हुनुहुन्छ। छोरी प्रतिको उहाँको ममता देख्दा म उहाँप्रति एकदम कृतज्ञ छु।
अनि दुःखलाग्दो कुनै घटना?
म विगत सम्झेर दुःखी हुन्छुर त्यो समाज, त्यो कानुनती अबुझ संकुचित विचारहरु। मैले पटक पटक लैङ्गकि तथा यौन हिंसा भोगेकी छु। मैले मेरो विगत कोरेर लेख लेखेकी छु, त्यो मेरो ट्विटरमा पिन ट्विट छ। त्यो सानो र छोटो लेख हो। म उपन्यास लेख्ने सोचमा छु।
सरकार र सरोकारवालाले बेलायतबाट के सिकुन् भन्ने लाग्छ?
सरकारले छोरा र छोरी बीचको विभेद कानुनी रुपमै हटाउनु पर्छ। नागरिकता विधेयक एउटा उदाहरण हो। अरु कति छन् कति सिक्ने कुरा भनी साध्य छैन।
नेपालबाट बेलायतले सिक्नु पर्ने कुरा केही छन्?
यो प्रश्नको उत्तर मलाई थाहा छैन।

सम्बन्धित खबर














.png)

.png)
.png)
.png)




तपाईंको प्रतिक्रिया