• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

ब्राम्पटनमा आज हुदैंछ 'नेपाल फेस्टिभल'

नेपालTouch
शनिबार श्रावण ९, २०८३ | Saturday July 25,2026

ब्राम्पटन। क्यानाडामा बसोबास गर्ने नेपाली समुदाय, नेपाली भाषा-संस्कृति र मौलिक पहिचानलाई बृहत् रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ब्राम्टनमा तेश्रो पटक आयोजना गरिएको ‘नेपाल फेस्टिभल’को सम्पूर्ण तयारी पुरा भएको छ।

आयोजक लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबले यस बृहत् सांस्कृतिक महोत्सवमा उपस्थित भई नेपाल फेस्टिभललाई भव्य रूपमा सफल पारिदिन ब्राम्टन तथा वरपरका सम्पूर्ण नेपाली समुदायका सदस्यहरूलाई अपिल गरेको छ। 

क्यानाडाको बहुसांस्कृतिक समाजमा नेपाली कला, संस्कृति, भेषभूषा र खानाको मौलिकतालाई स्थानीय तथा अन्य समुदायमाझ चिनाउन यो फेस्टिभल महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ। "परदेशमा हुर्कँदै गरेको नयाँ पुस्तालाई आफ्नो मूल जरो र सांस्कृतिक सम्पदासँग जोड्न तथा नेपालीहरूलाई एउटै छानामुनि ल्याएर आपसी एकता बलियो बनाउन यो महोत्सवले कोसेढुङ्गाको काम गर्ने छ" आयोजकले जनाएको छ।

महोत्सवमा आउने आगन्तुकहरूका लागि नेपाली परम्परागत परिकारका मःम, सेकुवा, सेलरोटी लगायतका विभिन्न स्वादिला खानाका स्टलहरू र सांस्कृतिक वस्तुहरू उपलब्ध गराइनेछ। यस पटक फेस्टिभलमा ५० भन्दा बढी विभिन्न भेन्डरहरूले भाग लिँदै छन्, जहाँ नेपाली हस्तकला, कपडा, गरगहना तथा विविध परिकार र सेवाहरू प्रदर्शन एवं बिक्रीका लागि राखिनेछ।

यस बृहत् कार्यक्रमलाई सफल बनाउन क्यानाडास्थित दर्जनौं स्थानीय नेपाली सङ्घ-संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले ऐक्यबद्धता जनाउँदै प्रत्यक्ष साथ र सहयोग दिएका छन्।

महोत्सव अवधिभर विभिन्न उमेर समूहका दर्शकहरूलाई लक्षित गरी विविध गतिविधिहरू सञ्चालन गरिनेछ। यस अवसरमा नेपाली परम्परागत सांस्कृतिक झाँकी प्रदर्शन, भेषभूषा र्याली र कन्सर्ट जस्ता गतिविधिहरू समावेश छन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका ख्यातिप्राप्त गायक खेम सेञ्चुरी क्यानाडा आइसकेका छन्। उनी बाहेक गायक तथा संगितकार चेतन सापकोटा तथा स्थानीय चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

महोत्सवमा क्यानाडामा नै रहेका उदीयमान स्थानीय कलाकारहरूले लोक, पप र आधुनिक गीत-संगीतका माध्यमबाट दर्शकहरूलाई छमछमी नचाउनेछन्। साथै, स्थानीय नृत्य समूहहरूद्वारा परम्परागत र आधुनिक नृत्यहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।

सपर्स वर्ल्ड प्लाजाको उत्तरी पार्किङ स्थलमा आयोजना गरिएको कार्यक्रममा नेपाली बाहेक अन्य समुदायको पनि उल्लेख्य उपस्थिति रहने आयोजकको अपेक्षा छ।

तपाईंको प्रतिक्रिया