• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

टोरन्टोको बिली बिशप विमानस्थल विस्तारमा अटवाको रोक

नेपालTouch
आइतबार श्रावण १०, २०८३ | Sunday July 26,2026
-नेपाल टच ग्राफिक्स

टोरन्टो । क्यानाडाको संघीय सरकारले बिली बिशप टोरन्टो सिटी विमानस्थल विस्तार गर्ने योजना रोकेको छ। सार्वजनिक स्थान, आवास, ध्वनि प्रदूषण र वातावरणीय प्रभावसम्बन्धी चिन्तालाई कारण देखाउँदै अटवाका अधिकारीहरूले सो विस्तार योजना अघि नबढाउने निर्णय गरेका हुन्।

अन्टारियोको प्रगतिशील कन्जर्भेटिभ सरकारले योजनाको समर्थन गरिरहेको भए पनि क्यानाडा सरकारले यो कदम चालेको छ।

यातायात मन्त्री स्टिभन म्याकिननले शुक्रबार घोषणा गर्दै अटवाको ध्यान हाल विमानस्थलमा भइरहेको स्वीकृत धावनमार्ग सुरक्षा सुधारमा मात्र केन्द्रित रहने स्पष्ट पारे। यस निर्णयसँगै विमानस्थलमा लामो धावनमार्ग बनाउने र ठूला जेट विमान सञ्चालन गर्न दिने प्रस्ताव अन्त्य भएको छ। हाल सो विमानस्थलमा साना विमान मात्र आवतजावत गर्न पाउँछन्।

मन्त्री म्याकिननले संघीय सरकार लिटिल नर्वे पार्क वा ह्यान्लान्स पोइन्ट बीचजस्ता सार्वजनिक स्थानमा बाधा पुग्ने, ध्वनि प्रदूषण बढाउने, वातावरणीय प्रभाव पार्ने वा टोरन्टोमा आवश्यक घर निर्माणमा बाधा पुर्‍याउने कुनै पनि योजनाको पक्षमा नरहेको बताए।

ट्रान्सपोर्ट क्यानाडाले आयोजना गरेको परामर्श प्रक्रियामा प्राप्त ८७ हजारभन्दा बढी सर्वसाधारणको सुझावका आधारमा यो निर्णय लिइएको उनले जानकारी दिए।

बिली बिशप विमानस्थल क्यानाडाको हवाई यातायात सञ्जालको महत्त्वपूर्ण हिस्सा रहेको बताउँदै मन्त्री म्याकिननले संघीय सरकारको ३ करोड डलर सहयोगमा भर्खरै सञ्चालनमा आएको भन्सार पूर्व-जाँच सुविधाको उल्लेख गरे। यद्यपि, विमानस्थलसम्बन्धी भविष्यका कुनै पनि छलफलमा टोरन्टोवासीका चिन्तालाई सम्बोधन गरिनुपर्ने उनको भनाइ थियो।

टोरन्टोकी मेयर ओलिभिया चोले संघीय सरकारको यो निर्णयको स्वागत गर्दै प्रधानमन्त्री र यातायात मन्त्रीलाई धन्यवाद दिएकी छन्। नगरवासीको निरन्तरको प्रयासका कारण यो परिणाम सम्भव भएको बताउँदै उनले प्रस्तावसँग जोडिएका सहरको स्वामित्वमा रहेका जग्गा फिर्ता गर्न अन्टारियो सरकारसँग माग गरेकी छन्।

विमानस्थलको स्वामित्व र सञ्चालन गरिरहेको टोरन्टो पोर्ट अथोरिटीले पनि अटवाको ध्यान धावनमार्ग सुरक्षा क्षेत्र आयोजना पूरा गर्नेतर्फ मात्र रहेकोबारे जानकारी पाएको पुष्टि गरेको छ। संस्थाले सहर र क्षेत्रको आवश्यकता पूरा गर्न यो पहललाई अघि बढाउने जनाएको छ।

यता अन्टारियोका यातायात मन्त्री प्रभमीत सरकारियाले भने प्रान्त सरकार अझै पनि विमानस्थल विस्तारकै पक्षमा रहेको बताएका छन्। यो आयोजनाले क्यानाडाको अर्थतन्त्रमा वार्षिक ८ अर्ब ५० करोड डलरसम्म योगदान पुर्‍याउने, हजारौँ रोजगार सिर्जना गर्ने र यात्रु तथा व्यवसायीका लागि पहुँच सहज बनाउने उनको दाबी छ। भविष्यका योजनामा सार्वजनिक स्थानको संरक्षण र वातावरणीय प्रभावको सम्बोधन गरिनुपर्ने उनले उल्लेख गरेका छन्।

तपाईंको प्रतिक्रिया