नीति बलियो, समुदाय बलियो
सन्तोष दाहाल
कुनै पनि विकसित लोकतान्त्रिक समाजमा संस्थाको मूल्याङ्कन त्यसले कति कार्यक्रम गर्यो, कति सम्पत्ति जोड्यो वा कसले नेतृत्व गरिरहेको छ भन्ने आधारमा मात्र हुँदैन। संस्थाको वास्तविक शक्ति यसको सुशासन (Governance), पारदर्शिता (Transparency), उत्तरदायित्व (Accountability), समावेशिता (Inclusion), उत्तरदायित्वप्रतिको संवेदनशीलता (Responsiveness) र खुलापन (Openness) मा निहित हुन्छ। क्यानाडा विश्वकै खुला, उत्तरदायी र विधिको शासनमा आधारित समाजहरूमध्ये एक हो। त्यसैले यहाँ दर्ता भएका गैर नाफामुखी संस्थाहरूबाट पनि त्यही स्तरको संस्थागत परिपक्वता अपेक्षा गरिन्छ। समुदायको विश्वासमा सञ्चालन हुने संस्थाले सार्वजनिक हितलाई निजी हितभन्दा माथि राख्नुपर्छ। यही कारणले कुनै पनि संस्थाको भविष्य व्यक्ति, समूह वा कार्यसमितिले होइन, विधानले निर्धारण गर्छ। व्यक्ति बदलिन्छन्, तर नीतिले संस्थाको दिशा दशकौँसम्म तय गरिरहन्छ।
गैर नाफामुखी संस्थाको सबैभन्दा ठूलो शक्ति कार्यसमिति होइन, सदस्यहरू हुन्। कार्यसमिति सदस्यहरूले दिएको जनादेशको अस्थायी संरक्षक मात्र हो। त्यसैले कुनै पनि विधानको पहिलो उद्देश्य नेतृत्वको संरक्षण होइन, सदस्यहरूको अधिकारको संरक्षण हुनुपर्छ। स्वस्थ गैर नाफामुखी शासनको आधार Checks and Balances हो। यसको अर्थ कुनै पनि निर्णय, अधिकार वा जिम्मेवारी एउटै संरचनामा अत्यधिक केन्द्रित हुनु हुँदैन। नेतृत्वमा प्रवेशका मापदण्ड, निर्वाचन प्रक्रिया, वित्तीय अधिकार, स्वार्थको द्वन्द्व, अपिल प्रक्रिया, पारदर्शिता र सदस्यहरूको सहभागितासम्बन्धी प्रावधानहरू यति स्पष्ट हुनुपर्छ कि प्रत्येक सदस्यले संस्थाको निर्णय प्रक्रियामा विश्वास गर्न सकोस्। नीति यस्तो हुनुपर्छ जसले व्यक्तिलाई होइन, संस्थालाई बलियो बनाओस्।
यस सन्दर्भमा नेप्लिज कम्युनिटी सोसाइटी अफ, क्यालगरी (एनसिएससी) का विधानका केही प्रावधानहरूबारे समुदायमा नीतिगत बहस हुनु स्वाभाविक देखिन्छ। उदाहरणका रूपमा, कार्यकारी कमिटीले बोर्ड अफ एड्भाइजर्स मनोनयन गर्ने र त्यही कमिटीले निर्वाचन समितिका सदस्यहरू तथा प्रमुख निर्वाचन अधिकारी नियुक्त गर्ने व्यवस्था छ। साथै अध्यक्ष पदका उम्मेदवारका लागि पूर्व कार्यकारी अनुभव आवश्यक हुनु, अन्य अल्बर्टा सोसाइटीका केही पदाधिकारीहरूलाई उम्मेदवारीमा लगाइएका सीमाहरू, कार्यकाल सम्बन्धी स्पष्ट सीमा नहुनु, निर्वाचन प्रक्रियाका केही विवरण निर्वाचन समितिले निर्धारण गर्न सक्ने व्यवस्था हुनु, तथा अपिल, पुनःमतगणना र निर्वाचन आचारसंहितासम्बन्धी विस्तृत प्रावधानहरू स्पष्ट रूपमा उल्लेख नहुनुजस्ता विषयहरूमा समुदायले चासो लिएको देखिन्छ। यी विषयहरू कुनै व्यक्ति विशेषप्रति लक्षित होइनन् बरू यी खुला, प्रतिस्पर्धी, निष्पक्ष र विश्वासयोग्य संस्थागत प्रणाली कसरी निर्माण गर्ने भन्ने नीतिगत प्रश्नहरू हुन्।
वित्तीय सुशासनको विषय अझ संवेदनशील हुन्छ, विशेष गरी सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालन हुने परियोजनाहरू भएका संस्थाहरूमा। गैर नाफामुखी संस्थाले खर्च गर्ने प्रत्येक डलर अन्ततः सार्वजनिक विश्वाससँग जोडिएको हुन्छ। त्यसैले वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु मात्र पर्याप्त हुँदैन। खर्चको अधिकार स्पष्ट हुनु, निर्णय प्रक्रिया दस्तावेजीकृत हुनु, सदस्यहरूले समयमै जानकारी प्राप्त गर्न सक्ने व्यवस्था हुनु, पारिश्रमिक वा बाह्य परियोजनासम्बन्धी प्रक्रियाहरू स्पष्ट हुनु र वित्तीय अभिलेखहरू सदस्यमैत्री ढङ्गले उपलब्ध गराउने अभ्यास विकसित हुनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। वर्तमान विधान र नियमले कार्यकारी कमिटी तथा बोर्ड अफ एडभाइजर्सका सदस्यहरूले निश्चित अवस्थामा Externally Funded Projects अन्तर्गत सीमित पारिश्रमिक पाउन सक्ने, पाँच वा सोभन्दा बढी मतदान सदस्यले दुई हप्ताको लिखित सूचना दिएर वित्तीय अभिलेख हेर्न सक्ने र वार्षिक साधारण सभामा वित्तीय विवरण प्रस्तुत गरिने व्यवस्था गरेको देखिन्छ। यी प्रावधानहरूलाई व्यवहारमा अझ पारदर्शी, सहज र सदस्यकेन्द्रित कसरी बनाउने भन्ने विषयमा खुला छलफल हुनु स्वस्थ लोकतान्त्रिक अभ्यास हो जुन संस्थाको हितमा पनि हुन जान्छ।
अर्को महत्त्वपूर्ण पक्ष नेतृत्वको पुस्तान्तरण हो। विश्वभरका सफल गैर नाफामुखी संस्थाहरूले नेतृत्वलाई स्थायी अधिकारका रूपमा होइन, सीमित अवधिको सार्वजनिक जिम्मेवारीका रूपमा लिन्छन्। नयाँ पुस्तालाई अवसर दिनु, नयाँ विचारलाई प्रवेश गराउनु, विविध पृष्ठभूमिका सदस्यहरूलाई नेतृत्वमा सहभागी गराउनु र अनुभव तथा नवप्रवर्तनबीच सन्तुलन कायम गर्नु नै संस्थागत विकासको आधार हो। जब नेतृत्वमा प्रवेशका अवसरहरू फराकिला हुन्छन्, सदस्यहरूको सहभागिता बढ्छ, संस्थाप्रतिको स्वामित्व बलियो हुन्छ र संस्थाको दीर्घकालीन स्थायित्व सुनिश्चित हुन्छ। त्यसैले विनियमले नेतृत्व विकासलाई प्रोत्साहन गर्छ कि सीमित बनाउँछ, प्रतिस्पर्धालाई सहज बनाउँछ कि कठिन बनाउँछ र सहभागितालाई विस्तार गर्छ कि संकुचित गर्छ भन्ने प्रश्न उठाउनु लोकतान्त्रिक संस्कृतिको स्वाभाविक हिस्सा हो।
हाम्रो समुदाय व्यक्तिकेन्द्रित बहसभन्दा माथि उठेर नीतिकेन्द्रित सार्वजनिक संवाद सुरु गर्ने ऐतिहासिक मोडमा उभिएको छ। प्रश्न कसले चुनाव जित्छ भन्ने होइन। प्रश्न कस्तो नीति अन्तर्गत चुनाव हुन्छ, सदस्यहरूको अधिकार कति सुरक्षित छ, वित्तीय उत्तरदायित्व कति स्पष्ट छ, निर्णय प्रक्रिया कति स्वतन्त्र छ र संस्थाले क्यानाडाको खुला, समावेशी, पारदर्शी तथा उत्तरदायी गैर नाफामुखी शासनका मान्यतासँग कति मेल खान्छ भन्ने हो। भवन, सम्पत्ति, कार्यक्रम वा बैंक खाताभन्दा ठूलो सम्पत्ति भनेको विश्वास गर्न सकिने संस्था हो। यदि आज हामीले बलियो नीति, निष्पक्ष शासन, खुला नेतृत्व, स्पष्ट वित्तीय उत्तरदायित्व र सदस्य केन्द्रित संस्थागत संरचना निर्माण गर्न सक्यौँ भने त्यसको लाभ आजका सदस्यहरूले मात्र होइन, भोलिका नेपाली क्यानेडियन पुस्ताले पनि पाउनेछन्।
त्यसैले आजको आवश्यकता कसैको पक्ष वा विपक्षमा उभिनु होइन। आवश्यकता सुशासन, पारदर्शिता, समावेशिता, उत्तरदायित्व र संस्थागत सुधारको पक्षमा उभिनु हो। किनभने अन्ततः नीति बलियो भए मात्र समुदाय बलियो हुन्छ।
डिस्क्लेमर : यहाँ व्यक्त विचार लेखकका निजी हुन् तसर्थ यी विचारले लेखक आबद्ध कुनै पनि संस्था वा संगठनको आधिकारिक धारणा वा नीतिको प्रतिनिधित्व गर्दैनन्। लेखको उद्देश्य क्यानाडाको गैर नाफामुखी सुशासनका सिद्धान्तहरूको सन्दर्भमा नीति, पारदर्शिता, उत्तरदायित्व, समावेशिता र संस्थागत सुधारबारे सार्वजनिक विमर्शलाई प्रोत्साहन गर्नु हो।

सम्बन्धित खबर










.png)

.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया