• मंगलबार, १८ कार्तिक, २०८३
  • Tuesday, 03 November, 2026
  • X

‘विदेशका नेपालीलाई लगानी गर्ने वातावरण तयार गर्नुपर्छ’

नेपालTouch
बुधबार जेठ २४, २०८० | Wednesday June 07,2023
नेपाल टच ग्राफिक्स

सुनसरीको धरानका कृष्ण बजगाईं विदेश आएको दुई दशकभन्दा बढी भयो। रेडियो नेपालमा लामो समय काम गरेका उनी सुरक्षित भविष्यको खोजीमा बेलायत आएका हुन्। 

माओवादीको सशस्त्र द्वन्द्व चर्किरहेको थियो त्यो बेला। शान्तिपूर्वक गरिखाने र बस्न सकिने वातावरण बिग्रँदै गएको थियो। त्यसैले उनी सुरक्षित भविष्य र राम्रो अवसरको खोजीमा यता आएका हुन्।

भ्रमण र साहित्य लेखनमा रुचि भएका बजगाईंका १५ वटा पुस्तक प्रकाशित भइसकेका छन्। उनका कतिपय सिर्जना स्कूलदेखि विश्वविद्यालयको पाठ्यक्रममा समेटिएका छन्।

विदेशमा काम गर्दै साहित्य सिर्जनामा सक्रिय लण्डन निवासी बजगाईंसँग यसपटक हामीले अन्तरङ्ग कुराकानी गरेका छौं–

नेपालमा के गर्नुहुन्थ्यो?

यता आउनुअघि मैले रेडियो नेपालमा १२ वर्ष काम गरेँ।

बेलायत आएको कति भयो? किन आउनुभयो?

म सुरक्षित भविष्य र राम्रो अवसरका लागि विदेश आएको हुँ। म नेपालमा भएको बेला माओवादी द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो। सरकारी पक्ष र माओवादी पक्ष ज्यान मार्ने कार्यमा उद्दत देखिन्थे। शान्तिपूर्वक काम गरिखाने र बस्न पाउने वातावरण थिएन। हरेक क्षेत्रमा राजनीति ब्याप्त थियो। देशको अवस्था देखेर फ्रस्टेशन भइरहेको थियो। अवसर आएपछि स्थायी जागिर छाडेर विदेश हानिएँ। विदेश आएको २३ वर्ष भयो । पहिले बेल्जियममा ११ वर्ष बसियो । त्यसपछि बेलायत आएर बसेको १२ वर्ष भयो ।

के गर्दै हुनुुहुन्छ?

एक दशकअघि त व्यवसायी थिएँ, अहिलेचाहिँ नोकरी गर्दैछु।

सधैं यतै बसाइ हुन्छ कि नेपाल फर्कने योजना?

सधैं त यता बसिन्न होला। छोराहरुले पढाई सकेर जागिर खान थालेपछि नेपाल फर्कने योजना छ।

धेरै नेपाली विदेश आउँछन्, के कारणले होला जस्तो लाग्छ?

नेपालीहरु विदेश आउनुका धेरै कारण छन्। मुख्य कारण रोजगारीका र अध्ययनका लागि हो। नेपालमा रोजगारीको अवसर कम छ। भएको जागिरबाट परिवार पाल्न कठिन छ। जागिर पाउन झन् कठिन छ। अहिले नेपालमा योग्यता मात्र भएर हुँदैन राजनीतिक पार्टी वा नातागोताको भनसुन चाहिन्छ। त्यस्तो अवस्थाका कारण स्वस्थ र शिक्षित युवा युवतीहरु विदेशिन बाध्य भएका छन्। गुणस्तरीय शिक्षाका लागि पनि नेपालीहरु विदेश जान्छन्। विदेशमा पढेपछि नेपालमा फर्कने कम नै छन्। फेरि नेपालमा केही गरौं न त भन्दा काम गर्ने राम्रो वातावरण नै छैन।

नेपाल कत्तिको सम्झना हुन्छ? खासगरी कुन बेला?

विदेशमा बस्ने सबैको एउटै पीडा ‘तन परदेशमा र मन घरदेशमा’ हुन्छ। अरु नेपाली जस्तै विदेशमा रहे पनि मेरो मन हरदम नेपालमै हुन्छ। विशेष गरी दसैँ तिहारमा नेपाल सम्झन्छु। नेपालमा कुनै ठूलो दैवी प्रकोप, दुर्घटना भएको बेला झन् धेरै सम्झन्छु।

नेपाल र बेलायतको कसरी तुलना गर्नुहुन्छ?

तुलना केसँग गर्ने? विकास–निर्माण, सम्पन्नता, अनुशासन, जनतालाई राज्यले प्रदान गर्ने कल्याणकारी सेवा आदिमा बेलायत अगाडि छ। बेलायतमा कुनै पनि अफिसियल काम गर्न भनसुन गर्नु वा घुस दिनु पर्दैन। काममा र पदमा कुनै भेदभाव छैन। स्वास्थ्य सेवा निःशुल्क छ। गाँस, बास र कपासको खासै चिन्ता लिनु पर्दैन।

नेपालमा आफन्त, साथीसंगीसँग कत्तिको सम्पर्क हुन्छ?

आफन्त र साथीसंगीसँग नियमित सम्पर्क हुन्छ। सामाजिक सञ्जाल, टेलिफोन र भिडियो कलले सम्पर्क टुट्न दिएको छैन।

यता नेपालीबीच सामूहिक भेटघाट कत्तिको हुन्छ?

यता पनि नेपालीहरुबीच बेलाबेलामा सामूहिक भेटघाट हुन्छ। दसैँ, तिहार, नयाँ वर्ष आदि थुप्रै नेपालीहरु मिलेर मनाउँछौं। यस्ता कार्यक्रमले सम्बन्धलाई नवीकरण र नयाँ सम्बन्ध स्थापना गर्न मद्दत मिल्छ। अर्को कुरा यता जन्मेका हाम्रा छोराछोरीहरुलाई हाम्रो चाड पर्व, धर्म संस्कृतिबारे बुझाउन सजिलो हुने भएकोले त्यस्तो भेटघाट भइरहन्छ।

तपाईंका रुचिहरु के के छन्?

मेरो रुचि भ्रमण र साहित्य लेखन हो। जापान, चीन, अमेरिकादेखि युरोपका अधिकांश देशको भ्रमण गरेको छु। सानैदेखि साहित्यमा रुचि भएका कारण मेरा १५ वटा पुस्तक प्रकाशित भइसकेका छन्। आफ्नो रुचि र रहरका लागि लेखेको साहित्यको गुणवत्ता कारण होला स्कूलदेखि विश्वविद्यालयको पाठ्यक्रममा मेरा रचनाले स्थान पाएका छन्। 

नेपालका चार विश्वविद्यालयको स्नातक तहमा मेरा चार नियात्रा, कक्षा १२ को अनिवार्य नेपालीमा एक लघुकथा, म्यान्मार (बर्मा) को कक्षा ९ मा दुई लघुकथा, नेपालको सरकारी स्कूलको कक्षा ५ मा एक बालकथा, निजी क्षेत्रको विद्यालयका कक्षा ४, ५, ६ र ७ मा गरी २० वटा बालकथा पाठ्यक्रम परेका छन्, पढाई भइरहेका छन्। स्नातकोत्तर तहमा मेरा कृतिका बारेमा ४ वटा शोध (थेसिस) भएका छन्। अब त साहित्य लेखन र यात्रा भन्दा अरु रुचि हुँदैन होला जस्तो लाग्छ। 

एनआरएनएमा आवद्ध हुनुहुन्छ कि छैन, अरु नेपाली संघ संस्थामा?

एनआरएनमा अति धेरै राजनीति र विवाद हुने गरेकोले म त्यसमा आवद्ध छैन। मेरो रुचि साहित्य भएकोले साहित्यसम्बन्धी संस्था ‘समकालीन साहित्य प्रतिष्ठान’ बेलायतको अध्यक्ष छु। १६ वर्ष अघिदेखि नियमित रुपमा www.samakalinsahitya.com नामक वेब पत्रिका सम्पादन र प्रकाशन गरिरहेको छु। 

६ वर्षदेखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ को प्रधान सम्पादकको जिम्मेवारीमा छु। अहिलेसम्म त्यसका ९ अंक हार्ड कपिको रुपमा प्रकाशित भएका छन्। परदेशको व्यस्त जीवनमा पेट पाल्ने काम गर्नै पर्छ। परिवार र साथीसंगीहरुलाई पनि समय दिनै पर्यो। योभन्दा बढी अरु संघ संस्थामा सक्रिय हुन समय पुग्दैन। यसैमा खुसी छु।

नेपालबारे बेलायतीहरु कतिको जान्दछन्? नेपाली भन्दा उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ?

बेलायत नेपालको भरपर्दो पुरानो मित्र हो। आर्थिक सहयोग गर्ने दाता राष्ट्र मध्येको एक हो। नेपाल र बेलायतको दौत्य सम्बन्ध कायम भएको दुई सय वर्षभन्दा बढी भइसक्यो। नेपालीहरुले बेलायती सेनामा धेरै लामो समयदेखि सेवा गर्दै आएका छन्। नेपालीको बहादुरी र इमान्दारितासँग उनीहरु परिचित छन्। नेपालीप्रति बेलायतमा एकदम राम्रो धारणा छ। बेलायतीहरुले नेपालीलाई मन पराउँछन्।

नेपालको अवस्थाबारे कत्तिको जानकार हुनुहुन्छ?

राजनीतिमा चासो नलिए पनि एक सचेत व्यक्तिको नाताले नेपालको राजनीतिक उतारचढाव, षड्यन्त्र र धोकाका बारेमा थोरै भए पनि जानकार छु। देशको कमजोर आर्थिक अवस्था, गरिबी, बेरोजगार, दण्डहिनता, महँगी र भ्रष्टाचारको गन्धका बारे अलिअलि थाहा पाएको छु।

के के कुरामा सुधार गर्नुपर्ने ठान्नुहुन्छ?

नेपालमा नयाँ रोजगारी सिर्जना गर्न विदेशमा रहेका नेपालीलाई लगानी गर्ने वातावरण तयार गर्नु पर्दछ। सबैभन्दा पहिले राजनीतिक भ्रष्टाचार निर्मूल पारिनु पर्दछ। शिक्षा र स्वास्थ्य निःशुल्क गरिनु पर्दछ।

तपाईंको प्रतिक्रिया