• मंगलबार, १८ कार्तिक, २०८३
  • Tuesday, 03 November, 2026
  • X

टोरन्टोमा एकैदिन ५४ जनाद्वारा रक्तदान गरेर नयाँ कीर्तिमान

नेपालTouch
सोमबार कार्तिक १७, २०८३ | Monday November 02,2026
फोटोः आयोजक

टोरन्टो। फिस्टेल स्पोर्ट्स क्लब, टोरन्टो र नेप्लिज ब्लड डोनर्स एसोसिएसन (एनबिडिए) क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको रक्तदान तथा प्लाज्मा दान कार्यक्रममा एकैदिन ५४ जना सहभागी भएका छन्। 

अक्टोबर ३१ स्कारबोरोस्थित क्यानेडियन ब्लड सर्भिसेसको डोनेसन सेन्टरमा आयोजित कार्यक्रममा क्यानाडामा नेपाली समुदायले एकै दिन गरेको रक्तदान कार्यक्रममध्ये हालसम्मकै सर्वाधिक र नयाँ ऐतिहासिक रेकर्ड भएको आयोजकले जनाएका छन्।

सो अवसरमा १०० औँ पटक रक्तदान गरी अतुलनीय योगदान पुर्‍याउनुभएका बाल चन्द्र पाण्डेय (विवेक)लाई आयोजकका तर्फबाट सम्मानित गरिएको थियो। यसैगरी, कार्यक्रममा १०० भन्दा बढी पटक रक्तदान गरेर कीर्तिमान कायम गरेका एनबीडीए क्यानाडाका अध्यक्ष लिलानाथ पाण्डेले आयोजक कल्ब, स्वयंसेवकहरू र रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

१०० औं पटक रक्तदान गर्ने बाल चन्द्र पाण्डेय।

क्लबका अध्यक्ष शैलेन्द्र वर्माले यस्ता परोपकारी कार्यले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यको भावनालाई अझ मजबुत बनाउने बताए।क्लबका महासचिव कृष्ण पौडेलले रक्तदानलाई जीवन रक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण मानवीय कार्यका रूपमा उल्लेख गरे। 

अध्ययन, रोजगार तथा अन्य अवसरका लागि क्यानाडामा रहेका नेपालीहरूलाई मानवीय सेवाका गतिविधिमा जोड्न र समुदायको सकारात्मक पहिचान निर्माण गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने आयोजक समितिको विश्वास छ।

तपाईंको प्रतिक्रिया