समाजको आइसबर्ग: सतहमुनिका सङ्कट
दिलीप पौडेल
अर्नेस्ट हेमिङ्वेको आइसबर्ग सिद्धान्तअनुसार साहित्यमा लेखकले सबै कुरा स्पष्ट रूपमा नभनी सतहमा देखिने केही कुरा मात्र व्यक्त गर्छन्। त्यसको गहिरो अर्थ, भावना र वास्तविकता भने पाठकले आफैँ बुझ्न सक्ने गरी लुकेको हुन्छ। जसरी समुद्रमा तैरिएको हिमशिलाको सानो भाग मात्र पानीमाथि देखिन्छ, त्यसरी नै कथामा देखिने घटनाभन्दा नदेखिने अर्थ र भावनाको गहिराइ ठूलो हुन्छ।
उदाहरणका लागि, हेमिङ्वेको ‘द किलर्स’ कथामा दुई जना हतियारधारी मानिस एउटा सानो रेस्टुरेन्टमा आउँछन्। उनीहरूले त्यहाँका कर्मचारीलाई नियन्त्रणमा लिन्छन् र पूर्वबक्सर ओले एन्डरसनलाई मार्न आएको बताउँछन्। तर ओलेलाई खबर दिँदा ऊ भाग्ने वा प्रतिरोध गर्ने प्रयास गर्दैन। बरु आफ्नो कोठामा चुपचाप सुतिरहन्छ र आफ्नो भाग्य स्वीकार गरेजस्तो देखिन्छ।
बाहिरी रूपमा हेर्दा यो दुई हत्यारा र सम्भावित हत्याको कथा हो। तर यसको भित्री तहमा भय, असहायता, निराशा र मृत्युको प्रतीक्षाजस्ता गहिरा भावना लुकेका छन्। सन् १९२० को दशकमा शिकागोमा अल कापोनजस्ता कुख्यात अपराधी चर्चित थिए।
अवैध व्यापारसँग सम्बन्धित गिरोह, धम्की र हत्याका घटनाले अमेरिकी जनमानसमा डर सिर्जना गरेका थिए। कथाका म्याक्स र अलजस्ता हत्याराले यही अपराधी संसारको झल्को दिन्छन्। यसरी कथाको भित्री तहमा प्रथम विश्वयुद्धपछिको भय, अमेरिकी समाजमा बढ्दो आपराधिक गतिविधि र त्यसले सर्वसाधारणमा पारेको मनोवैज्ञानिक असरसमेत देख्न सकिन्छ।
यहाँ कुरा हेमिङ्वेको साहित्यको मात्र होइन। साहित्य त हाम्रो समाजमा आइसबर्गझैँ लुकेर बसेका अनेकौँ यथार्थको दर्पण पनि हो। समाजमा देखिएका साना-साना घटनाक्रमलाई गहिराइमा अध्ययन गर्ने हो भने तिनको पछाडि लुकेका ठूला समस्याको तस्बिर देख्न सकिन्छ।
निःशुल्क टर्कीका लागि लामो लाइन
केही हप्ताअघि टोरन्टोको नर्थ योर्कस्थित एउटा संस्थाले 'थ्याङ्क्सगिभिङ डे' का दिन निःशुल्क टर्की वितरण गरिरहेको थियो। संस्थाको योजना ३५० जना न्यून आय भएका मानिसलाई चाडका अवसरमा एक छाक भए पनि मिठो खाना खुवाउने थियो। तर त्यस दिन टर्की लिन एक हजारभन्दा बढी मानिस घण्टौँ लाइनमा उभिएको भिडियो भाइरल भयो। सात सयभन्दा बढी मानिस रित्तो हात फर्किनुपरेको खबर स्थानीय सञ्चारमाध्यममा आयो।
कतिपयले आफूले टर्की किन्न सक्ने मानिस पनि निःशुल्क पाइने लोभमा लाइनमा बसेको टिप्पणी गरे। तर टर्की किन्न सक्ने आर्थिक अवस्था सहजै भएको भए मानिसहरू दिनभरि लाइनमा उभिन तयार हुन्थे होलान् त? आफ्नो समय खर्चेर र अरूको अगाडि आफ्नो आर्थिक कठिनाइ उजागर हुने अवस्था स्वीकारेर लाइनमा बस्नुको पछाडि के बाध्यता थियो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
यो घटनालाई निःशुल्क वस्तु पाउने आकर्षणका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। बरु यसले न्यून आय भएका मानिसको जीवनयापन, खाद्य सुरक्षाको अवस्था र आधारभूत आवश्यकता पूरा गर्न उनीहरूले भोगिरहेको कठिनाइबारे प्रश्न उठाउँछ। पानीमाथि देखिएको आइसबर्गको टुप्पोझैँ यो घटना पनि समाजमा विद्यमान गहिरो आर्थिक समस्याको एउटा सङ्केत हुन सक्छ।
आवास र जीवनयापनको बढ्दो दबाब
खाद्य बैंकमा बढ्दो निर्भरता, महँगो आवास र घरविहीनताको समस्या क्यानाडाको सामाजिक तथा आर्थिक अवस्थाका गम्भीर सङ्केत हुन्। न्यून आम्दानी भएका धेरै परिवारको कमाइको ठूलो हिस्सा घरभाडामै खर्च हुँदा खाद्यान्न र अन्य आधारभूत आवश्यकताका लागि पर्याप्त रकम बाँकी रहँदैन।
रेस्टुरेन्टमा ग्राहक घट्नु, सिनेमा हलमा दर्शकको उपस्थिति कम हुनु र सपिङ मलप्रतिको आकर्षण घट्नु पनि आर्थिक दबाबका सम्भावित सङ्केत हुन सक्छन्। यी घटनालाई आर्थिक सङ्कटको प्रत्यक्ष प्रमाण मान्नुअघि अन्य कारणसमेत विचार गर्नुपर्छ। तर यस्ता प्रवृत्ति जीवनयापनको बढ्दो खर्चसँग जोडिएर देखिएमा तिनले उपभोग गर्ने क्षमतामा आएको परिवर्तनबारे प्रश्न उठाउँछन्।
अन्टारियोका विभिन्न क्षेत्रमा घरविहीनताको समस्या गम्भीर बन्दै गएको छ। टोरन्टोका सडकछेउका पार्क, सार्वजनिक स्थान र लेक अन्टारियो आसपासका झाडीमा देखिने पालहरूले यस समस्याको गम्भीरता झल्काउँछन्। त्यस्तै, घरको ऋणको किस्ता तिर्न नसकेर ऋण असुलीका लागि घर बिक्री गर्नुपर्ने घटनाले पनि आर्थिक असुरक्षा उजागर गर्छन्।
बाहिरबाट हेर्दा घर गुमाउनु व्यक्तिगत आर्थिक असफलताजस्तो देखिन सक्छ। तर यसको सतहमुनि महँगो आवास, बढ्दो जीवनयापन खर्च, ऋणको भार, रोजगारीको असुरक्षा र आम्दानी तथा खर्चबीचको असन्तुलनजस्ता संरचनागत समस्या लुकेका हुन सक्छन्।
बैंकबाट ऋण लिएर घरको स्वामित्व प्राप्त गरेका मानिससमेत आर्थिक परिस्थितिमा आएको प्रतिकूल परिवर्तनका कारण घरविहीन हुने जोखिममा पर्न सक्छन्। त्यसैले घर गुमाउने अवस्थालाई व्यक्तिको कमजोरीका रूपमा मात्र व्याख्या गर्नु समस्याको एउटा पक्ष मात्र हेर्नु हो।
सार्वजनिक शिक्षाको बजेट सङ्कट
अर्को समस्याग्रस्त क्षेत्र सार्वजनिक शिक्षा प्रणाली हो। सन् २०२६ मा टोरन्टो र योर्क क्षेत्रका सरकारी विद्यालयमा देखिएको बजेट सङ्कट र कर्मचारी कटौतीलाई आइसबर्ग सिद्धान्तका आधारमा हेर्दा यी सार्वजनिक शिक्षा प्रणालीमा सतहमा देखिएका समस्या मात्र हुन्।
शिक्षक, शैक्षिक सहयोगी तथा प्रशासनिक कर्मचारीको कटौती र स्थानान्तरणले विद्यालयको दैनिक सञ्चालन र विद्यार्थीले पाउने सहयोगमा ठूलो असर पार्न सक्छ। विशेषगरी अटिजम तथा विकासात्मक अपाङ्गता भएका विद्यार्थीका लागि परिचित सहयोगी कर्मचारीको निरन्तरता महत्त्वपूर्ण हुन्छ। सहयोगी कर्मचारी परिवर्तन हुँदा व्यक्तिगत सहयोग, सुरक्षा र सिकाइमा चुनौती सिर्जना हुन सक्छ।
यसको सतहमुनि सरकारी अनुदानको अपर्याप्तता, बढ्दो सञ्चालन खर्च, विद्यार्थी सङ्ख्यामा परिवर्तन र स्रोतसाधनको न्यायोचित वितरणजस्ता संरचनागत समस्या लुकेका छन्। त्यसैले सार्वजनिक शिक्षाको सफलता खर्च घटाउनु वा बजेट सन्तुलित बनाउनुमा मात्र सीमित हुनु हुँदैन। प्रत्येक विद्यार्थीले आवश्यक सहयोग पाउने र शिक्षक तथा सहयोगी कर्मचारीले प्रभावकारी रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्नु नै गुणस्तरीय शिक्षाको वास्तविक आधार हो।
स्वास्थ्य सेवामा पहुँचको चुनौती
अन्टारियोको सार्वजनिक स्वास्थ्य प्रणालीमा पनि यस्तै समस्या देखिन्छन्। अस्पतालमा लामो प्रतीक्षा समय, आकस्मिक कक्षमा भीड, विशेषज्ञ चिकित्सकको अभाव र शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्था सतहमा देखिने समस्या मात्र हुन्। धेरै नागरिकले पारिवारिक चिकित्सकको सेवा पाउन नसक्नु र बिरामीले समयमै उपचार नपाउनु स्वास्थ्य प्रणालीका प्रमुख चुनौती हुन्।
यी समस्याको सतहमुनि स्वास्थ्यकर्मीको असमान वितरण, अस्पतालका शय्याको सीमित क्षमता, बढ्दो जनसङ्ख्या र दीर्घकालीन हेरचाह सेवाको अभावजस्ता संरचनागत कारण लुकेका छन्। सार्वजनिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धि हो। तर समयमै उपचार नपाउँदा रोग पहिचानमा ढिलाइ हुन सक्छ र बिरामी तथा परिवारमाथि आर्थिक एवं मानसिक बोझ थपिन सक्छ।
त्यसैले स्वास्थ्य प्रणालीको सफलता अस्पताल र सेवाको सङ्ख्याले मात्र मापन गर्नु पर्याप्त हुँदैन। प्रत्येक नागरिकले आवश्यक स्वास्थ्य सेवा कति सहज रूपमा र कति समयमा प्राप्त गर्न सक्छ भन्ने आधारमा पनि यसको मूल्याङ्कन गर्नुपर्छ।
सतहमा देखिने घटनाभन्दा गहिरो यथार्थ
अर्नेस्ट हेमिङ्वेको आइसबर्ग सिद्धान्त साहित्यमा मात्र सीमित छैन। यसले समाज र जीवनका जटिल वास्तविकता बुझ्ने दृष्टिकोण पनि प्रदान गर्छ। टोरन्टोमा निःशुल्क टर्की लिन घण्टौँ लाइनमा उभिएका मानिस, खाद्य बैंकमा बढ्दो निर्भरता, घरविहीनता, मोर्गेज डिफल्ट, सार्वजनिक विद्यालयमा कर्मचारी कटौती, स्वास्थ्य सेवामा लामो प्रतीक्षा र आर्थिक असुरक्षाजस्ता घटना समाजमा देखिएका हिमशिलाका टुप्पा मात्र हुन्। तिनको सतहमुनि बढ्दो जीवनयापन खर्च, आवास सङ्कट, आम्दानी र खर्चबीचको असन्तुलन, सार्वजनिक सेवामा स्रोतको अभाव र सामाजिक असमानताजस्ता गहिरा संरचनागत समस्या लुकेका हुन सक्छन्।
यी समस्यालाई अलग-अलग घटनाका रूपमा हेर्दा तिनबीचको वास्तविक सम्बन्ध बुझ्न सकिँदैन। शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र मानसिक स्वास्थ्य एकअर्कासँग गाँसिएका छन्। आर्थिक सङ्कटले परिवारको आधारभूत आवश्यकता पूरा गर्ने क्षमतामा असर पार्छ। त्यसले मानसिक तनाव बढाउन सक्छ र पर्याप्त सामाजिक सहयोग नपाउँदा समस्या अझ जटिल बन्न सक्छ।
त्यसैले गरिबीलाई व्यक्तिगत असफलता, खाद्य बैंकको लाइनलाई निःशुल्क वस्तुप्रतिको लोभ वा घर गुमाउनुलाई व्यक्तिको कमजोरीका रूपमा मात्र व्याख्या गर्नु वास्तविकताको सतही मूल्याङ्कन हो। प्रश्न मानिसहरू किन समस्यामा परे भन्ने मात्र होइन, उनीहरूलाई त्यस्तो अवस्थामा पुर्याउने सामाजिक, आर्थिक र नीतिगत संरचना कस्तो छ भन्ने पनि हो।
आइसबर्गको पानीमाथिको सानो भाग हेरेर सम्पूर्ण हिमशिलाको आकार अनुमान गर्न नसकिएझैँ, केही दृश्य घटनाका आधारमा समाजको वास्तविक अवस्था बुझ्न सकिँदैन। त्यसका लागि तथ्याङ्क, मानवीय अनुभव र समस्याका जरा जोडिएका संरचनागत कारणको गहिरो अध्ययन आवश्यक छ।
अन्ततः कुनै समाजको समृद्धि अग्ला भवन, विकसित सडक र आर्थिक वृद्धिले मात्र मापन हुँदैन। नागरिकले सम्मानपूर्वक खान, बस्न, उपचार पाउन, शिक्षा हासिल गर्न र सुरक्षित भविष्य निर्माण गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले पनि त्यसको वास्तविक अवस्था देखाउँछ।
यदि यस्ता समस्या निरन्तर बढिरहे र तिनको समाधानका लागि प्रभावकारी कदम चालिएन भने क्यानाडामा पनि अन्य देशमा देखिएका तीव्र सामाजिक असन्तोषका अवस्था उत्पन्न नहोलान् भन्न सकिँदैन।
फ्रान्सलगायत युरोपका विभिन्न मुलुकमा देखिएका सामाजिक विद्रोह र आन्दोलनले आर्थिक असमानता, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाप्रतिको असन्तुष्टिलाई बेवास्ता गर्न नहुने सङ्केत गर्छन्। समाजमा सतहमा देखिएका घटनालाई मात्र सम्बोधन गरेर पुग्दैन; तिनको सतहमुनि रहेका कारण पहिचान गरी समाधान खोज्नु आवश्यक छ।

सम्बन्धित खबर











.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया