• बुधबार, १२ कार्तिक, २०८३
  • Wednesday, 28 October, 2026
  • X

टोरन्टोको मेयरमा ओलिभिया चाउ पुनः निर्वाचित

नेपालTouch
मंगलबार कार्तिक ११, २०८३ | Tuesday October 27,2026
ओलिभिया चाउ। तस्बिरः याहू क्यानाडा

अन्टारियो। ओलिभिया चाउ क्यानाडाको सबैभन्दा ठूलो सहर टोरन्टोको मेयरमा पुनः निर्वाचित भएकी छन्। सोमबार भएको स्थानीय निर्वाचनमा उनले प्रमुख प्रतिस्पर्धी ब्राड ब्राडफोर्डसहित ५० जना उम्मेदवारलाई पछि पार्दै दोस्रो पटक मेयरको जिम्मेवारी पाएकी हुन्।

'ग्लोबल न्युज'का अनुसार राति ११ बजेसम्मको अनौपचारिक नतिजामा चाउले ५४ प्रतिशत मत प्राप्त गरेकी छन् भने ब्राडफोर्डले ४१ प्रतिशत मत पाएका छन्। अग्रिम मतदान, हुलाकमार्फत प्राप्त मत र मतदानकै दिन खसेका मत समेटिएको आधिकारिक नतिजा सहरका क्लर्कले साताको अन्त्यसम्म प्रमाणित गर्ने अपेक्षा गरिएको छ।

सन् २०२३ मा भएको उपनिर्वाचनबाट मेयर बनेकी चाउले अब पहिलो पूर्ण कार्यकाल सम्हाल्नेछिन्। उनले निर्वाचनपछिको सम्बोधनमा टोरन्टोमा बसोबास गर्ने सबै समुदायका मानिसको कुरा सुन्ने, उनीहरूको पक्षमा काम गर्ने र विश्वास जित्न निरन्तर प्रयास गर्ने बताइन्।

चाउले आफ्नो चुनावी अभियानमा नगरका सार्वजनिक सेवा संरक्षण, टोरन्टो यातायात आयोगका सवारीसाधनलाई ट्राफिक बत्तीमा प्राथमिकता दिने व्यवस्था विस्तार र युवामाझ हुने हिंसा रोकथामका कार्यक्रमको बजेट बढाउने प्रतिबद्धता जनाएकी थिइन्। खाद्यान्नको मूल्य घटाउन सहयोग गर्ने, विद्यालयमा निःशुल्क दिवा खाजा उपलब्ध गराउने र किफायती आवास निर्माण बढाउने योजना पनि उनका प्रमुख एजेन्डामा थिए।

मेयरका रूपमा पहिलो कार्यकालमा चाउले सन् २०२४ मा ९.५ प्रतिशत, २०२५ मा ६.९ प्रतिशत र २०२६ मा २.२ प्रतिशत सम्पत्ति कर वृद्धिलाई समर्थन गरेकी थिइन्। उनले टोरन्टो यातायात आयोगको भाडा स्थिर राख्ने व्यवस्था पनि लागू गरेकी थिइन्। त्यसैगरी, अन्टारियो सरकारसँगको सम्झौताअनुसार गार्डिनर एक्सप्रेसवे र डन भ्याली पार्कवे प्रान्तीय सरकारको स्वामित्वमा जाने व्यवस्था मिलाइएको थियो ।

६९ वर्षीया चाउ हङकङबाट १३ वर्षको उमेरमा परिवारसहित क्यानाडा आएकी थिइन्। उनले सन् १९८५ मा टोरन्टो जिल्ला विद्यालय बोर्डको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेकी थिइन्। सन् १९९१ मा नगर परिषद् सदस्य निर्वाचित भएकी उनी सन् २००६ मा संघीय संसद्मा प्रवेश गरेकी थिइन्। उनका दिवंगत पति ज्याक लेटन संघीय नयाँ लोकतान्त्रिक पार्टीका नेता थिए।

चाउका प्रमुख प्रतिस्पर्धी ब्राडफोर्डले निर्वाचन परिणामपछि उनलाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले टोरन्टोलाई सुरक्षित बनाउने, सहरलाई एकताबद्ध गर्ने र कसैलाई पनि पछाडि नछाड्ने दिशामा सबै नेतृत्वकर्ताले काम गर्नुपर्ने बताएका छन्।

चाउले पनि ब्राडफोर्डले चुनावी प्रतिस्पर्धामा नयाँ ऊर्जा र विचार ल्याएको भन्दै धन्यवाद दिइन्। निर्वाचनमा विजयी हुनु अन्तिम लक्ष्य नभई जिम्मेवारी भएको उल्लेख गर्दै उनले आफ्ना प्रतिबद्धता पूरा गर्न तत्काल काम थाल्ने बताइन्।

तपाईंको प्रतिक्रिया