• शनिबार, ८ कार्तिक, २०८३
  • Saturday, 24 October, 2026
  • X

अल्बर्टा जनमतसङ्ग्रह: सोधिएका १० प्रश्न र प्रारम्भिक नतिजा

नेपालTouch
बुधबार कार्तिक ५, २०८३ | Wednesday October 21,2026
-Agency

अन्टारियो । क्यानाडाको अल्बर्टा प्रान्तमा हिजो सम्पन्न बहुचर्चित जनमत संग्रहको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्रान्तको स्वायत्तता, आप्रवासन नियन्त्रण र क्यानाडासँगको भविष्यलाई लिएर सोधिएका १० वटा मुख्य प्रश्नहरूमा अल्बर्टाबासीले आफ्नो स्पष्ट मत दिएका छन्।

प्रारम्भिक मतगणना अनुसार सोधिएका १० वटा प्रश्न र तिनमा खसेको मत प्रतिशत यसप्रकार छन्:

१०. क्यानाडाबाट अलग्गिने वा छुट्टिने प्रक्रिया अगाडि बढाउने कि क्यानाडामै रहने?

यस सबैभन्दा चर्चित र मुख्य प्रश्नमा मतदाताहरूले छुट्टिने प्रस्तावलाई भारी मतले अस्वीकार गरेका छन्। करिब ७६ प्रतिशत मतदाताले क्यानाडामै रहने पक्षमा मतदान गरेका छन् भने २४ प्रतिशतले मात्र छुट्टिने प्रक्रियाको समर्थन गरेका छन्।

९. संवैधानिक विवादमा संघीय कानुनभन्दा प्रान्तीय कानुनलाई माथि राख्ने?

यस प्रश्नमा मतदाताहरू निकै विभाजित देखिएका छन्। करिब ५१ प्रतिशतले प्रान्तीय कानुनलाई प्राथमिकता दिनुपर्ने पक्षमा र ४९ प्रतिशतले विपक्षमा मतदान गरेका छन्।

८. संघीय सरकारको सर्तबिना नै विकास अनुदान र बजेट प्रान्तले खर्च गर्न पाउनुपर्ने?

संघीय सर्तहरू हटाएर प्रान्तलाई बजेट खर्चको पूर्ण अधिकार दिने प्रस्तावको पक्षमा ५८ प्रतिशत मत खसेको छ भने ४२ प्रतिशतले यसको विरोध गरेका छन्।

७. क्यानाडाको सिनेट प्रणालीमा सुधार गरी सिनेटरहरूलाई जनताबाटै निर्वाचित गर्ने?

सिनेट सुधार र निर्वाचनको पक्षमा ५२ प्रतिशत मतदाता उभिएका छन् भने ४८ प्रतिशतले विपक्षमा मत हालेका छन्।

६. प्रान्तीय अदालतका न्यायाधीश नियुक्तिमा अल्बर्टा सरकारको पूर्ण अधिकार रहने?

न्यायाधीश नियुक्तिमा प्रान्तको नियन्त्रण हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा ५३ प्रतिशत र विपक्षमा ४७ प्रतिशत मत खसेको छ।

५. स्वास्थ्य र शिक्षा क्षेत्रमा संघीय सरकारको हस्तक्षेप रोकी प्रान्तीय नीति लागू गर्ने?

स्वास्थ्य र शिक्षामा प्रान्तको स्वायत्तता कायम गर्ने प्रस्तावलाई ५६ प्रतिशत मतदाताले समर्थन गरेका छन् भने ४४ प्रतिशतले अस्वीकार गरेका छन्।

४. कर संकलन र राजस्व व्यवस्थापनका लागि प्रान्तको आफ्नै छुट्टै एजेन्सी बनाउने?

संघीय एजेन्सीको सट्टा प्रान्त आफैँले कर संकलन गर्ने प्रस्तावको पक्षमा ५४ प्रतिशत र विपक्षमा ४६ प्रतिशत मत खसेको छ।

३. सार्वजनिक करबाट चल्ने सेवा-सुविधामा अल्बर्टाका स्थायी बासिन्दालाई मात्र प्राथमिकता दिने?

प्रान्तीय बासिन्दालाई सार्वजनिक सेवामा प्राथमिकता दिने प्रस्तावको पक्षमा ५७ प्रतिशत मत परेको छ भने ४३ प्रतिशतले विपक्षमा मतदान गरेका छन्।

२. अस्थायी कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वास्थ्य र शिक्षामा शुल्क वा सीमा तोक्ने?

अस्थायी बासिन्दाहरूलाई दिइने सुविधामा नियन्त्रण वा शुल्क लगाउने प्रस्तावको पक्षमा ५३ प्रतिशत र विपक्षमा ४७ प्रतिशत मत खसेको छ।

१. आप्रवासनको संख्या घटाउन र नियन्त्रण गर्न अल्बर्टालाई थप अधिकार दिने?

प्रान्तमा आउने आप्रवासीहरूको संख्या नियन्त्रण गर्ने अधिकार अल्बर्टालाई नै हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा ५५ प्रतिशत मतदाताले समर्थन जनाएका छन् भने ४५ प्रतिशतले विपक्षमा मत दिएका छन्।

निर्वाचन अधिकारीहरूका अनुसार यी सबै प्रारम्भिक मतपरिणामहरू हुन्। सम्पूर्ण मतगणना पूरा भएपछि आगामी अक्टोबर २९ मा अन्तिम आधिकारिक नतिजा सार्वजनिक गरिनेछ।

तपाईंको प्रतिक्रिया