• शनिबार, ८ कार्तिक, २०८३
  • Saturday, 24 October, 2026
  • X

लस भेगासमा फ्लेमिङ्गो चोर्ने क्यानेडियन पशु क्रूरतामा दोषी ठहर

नेपालTouch
मंगलबार कार्तिक ४, २०८३ | Tuesday October 20,2026

अन्टारियो। क्यानाडाका एक व्यक्ति अमेरिकाको लस भेगासस्थित होटलबाट फ्लेमिङ्गो चरा चोरेर कुटपिट गरेको अभियोगमा दोषी ठहर भएका छन्। नेभाडाको अदालतमा सोमबार भएको सुनुवाइपछि निर्णायक मण्डलले ३४ वर्षीय मिचेल फेयरबर्नलाई पशु क्रूरतासम्बन्धी गम्भीर र सामान्य दुवै अभियोगमा दोषी ठहर गरेको हो।

अन्टारियोका बासिन्दा फेयरबर्नले गत मार्च ३ मा लस भेगासको चर्चित फ्लेमिङ्गो होटल तथा क्यासिनोको संरक्षित क्षेत्रमा राखिएको २७ वर्षको चिली प्रजातिको फ्लेमिङ्गो ‘पिची’लाई त्यहाँबाट निकाली आफ्नो होटल कोठामा लगेका थिए।

अभियोजन पक्षले फेयरबर्नको कार्यलाई जानाजानी गरिएको क्रूर व्यवहार र दुर्व्यवहारपूर्ण मजाकका रूपमा व्याख्या गरेको थियो। तर, उनका वकिल जोस टम्सचेकले फेयरबर्नले अत्यधिक मदिरा सेवन गरेका कारण मूर्खतापूर्ण व्यवहार गरेको भए पनि चरालाई हानि पुर्‍याउने नियत नरहेको जिकिर गरेका थिए।

फेयरबर्न लस भेगासमा निर्माणसम्बन्धी सम्मेलनमा सहभागी हुन पुगेका थिए। घटनाको दिन उनले मदिरा सेवन गरेको र त्यसपछि चरालाई आफ्नो कोठामा लगेको विषय अदालतमा उठेको थियो।

करिब पाँच घण्टाको छलफलपछि निर्णायक मण्डलले उनलाई दुवै अभियोगमा दोषी ठहर गरेको हो। फेयरबर्न अहिले घरमै सीमित रहने गरी निगरानीमा छन् र सजाय निर्धारणको पर्खाइमा छन्। अदालतले डिसेम्बर १ मा सजाय सुनाउने मिति तोकेको छ।

अभियोग प्रमाणित भएमा उनले चार वर्षसम्म जेल सजाय र सामान्य अभियोगमा थप छ महिनासम्मको सजाय भोग्नुपर्ने हुन सक्छ।

घटनापछि पिचीको शरीरमा चोट लागेको, केही प्वाँख झरेको र पखेटामा क्षति पुगेको बताइएको छ। शारीरिक रूपमा सुधार हुँदै गए पनि चरामा डर र असहजताका लक्षण देखिएको जनाइएको छ।

यस घटनाले पशु अधिकार र पशुमाथिको दुर्व्यवहारबारे व्यापक चासो उत्पन्न गरेको छ। नेभाडाका पशु अधिकार अभियन्ता जोन वाउडबीले अदालतको निर्णयलाई पशु कल्याणका पक्षमा महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।

तपाईंको प्रतिक्रिया