• शनिबार, ८ कार्तिक, २०८३
  • Saturday, 24 October, 2026
  • X

क्यानाडामा महँगा गाडी लुट्ने गिरोहका १० जना पक्राउ, १२८ अभियोग

नेपालTouch
मंगलबार कार्तिक ४, २०८३ | Tuesday October 20,2026

अन्टारियो। क्यानाडाको ग्रेटर टोरन्टो क्षेत्रमा महँगा गाडी लुट्ने तथा चोरी गर्ने संगठित गिरोहसँग सम्बन्धित अनुसन्धानमा प्रहरीले १० जनालाई पक्राउ गरी १२८ वटा अभियोग लगाएको छ।

पिल क्षेत्रीय प्रहरीले ‘प्रोजेक्ट हाई गार्ड’ नाम दिएर आठ महिनासम्म गरेको अनुसन्धानपछि सोमबार सार्वजनिक गरेको विवरणअनुसार, पक्राउ परेकाहरू ग्रेटर टोरन्टो क्षेत्रमा भएका २१ वटा गाडी लुटपाट तथा चोरीका घटनासँग सम्बन्धित रहेको आरोप छ। ती घटना सन् २०२५ जुनदेखि २०२६ अप्रिलसम्म भएका थिए।

प्रहरीका अनुसार केही घटनामा लुटेराहरूले चक्कु र बन्दुक देखाएर गाडीधनीलाई धम्क्याएका थिए। कतिपयलाई शारीरिक आक्रमण गरिएको थियो भने केही पीडित गम्भीर घाइते भएका थिए। घटनाबाट यात्रु तथा अन्य व्यक्तिसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले गाडी लुट्ने व्यक्तिहरू मात्र नभई घटनाको योजना बनाउने, लुटपाट सञ्चालन गर्ने र त्यसबाट आर्थिक लाभ लिने व्यक्तिहरू संलग्न रहेको भनिएको संगठित सञ्जालसमेत पहिचान गरेको जनाएको छ। उक्त सञ्जालले चोरीका लागि महँगा गाडी छनोट गर्ने र कम उमेरका व्यक्तिलाई अपराधमा संलग्न गराउने गरेको प्रहरीको आरोप छ।

सेप्टेम्बर ३ मा विभिन्न स्थानमा खानतलासी गर्दा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा १७ वर्षका दुई किशोरसमेत छन्। प्रहरीले करिब १४ लाख क्यानेडियन डलर मूल्य पर्ने १५ वटा चोरीका गाडी फेला पारेको छ। त्यस्तै, चारवटा अवैध बन्दुक, गोली र बन्दुकका म्यागजिन पनि बरामद गरिएको छ।

पिल क्षेत्रीय प्रहरी प्रमुख निशान दुरैयाप्पाले अनुसन्धानले लुटपाटमा प्रत्यक्ष संलग्न व्यक्तिदेखि त्यसको योजना बनाउने र लाभ लिने भनिएका व्यक्तिसम्म पुग्न सहयोग गरेको बताए। संगठित अपराध नियन्त्रण गर्न विभिन्न प्रहरी निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

अनुसन्धानमा अन्टारियो प्रान्तीय प्रहरी, टोरन्टो प्रहरी, हाल्टन क्षेत्रीय प्रहरी र ह्यामिल्टन प्रहरीसमेत सहभागी थिए। टोरन्टोमा भएका २१ घटनामध्ये छवटा घटनालाई यस अनुसन्धानसँग जोडिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पिल क्षेत्रमा सन् २०२३ मा उच्च बिन्दुमा पुगेको सवारीसाधन चोरीको घटना त्यसयता ५० प्रतिशतभन्दा बढी घटेको छ। यस वर्षको हालसम्मको तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा थप १० प्रतिशतले कम छ। टोरन्टोमा पनि यस वर्ष हालसम्म गाडी खोसेर लुट्ने घटनामा ६४ प्रतिशत कमी आएको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्तिविरुद्ध लगाइएका आरोप अदालतबाट प्रमाणित भइसकेका छैनन्। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

तपाईंको प्रतिक्रिया