• शनिबार, ८ कार्तिक, २०८३
  • Saturday, 24 October, 2026
  • X

अमेरिकी अधिकारीमाथि आक्रमण गर्ने क्यानेडियनलाई थप ५० वर्ष कैद

नेपालTouch
शुक्रबार कार्तिक ७, २०८३ | Friday October 23,2026
अमेरिकी प्रहरीले सार्वजनिक गरेको अब्दुलरहमानको तस्बिर।

अन्टारियो। अमेरिकामा आतङ्कवादसम्बन्धी अभियोगमा ४० वर्षको जेल सजाय भोगिरहेका मिसिसागाका २८ वर्षीय अब्दुलरहमान एल बहनासावीलाई जेलका दुई अधिकारीमाथि आक्रमण गरेको अभियोगमा थप ५० वर्ष कैद सजाय सुनाइएको छ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार सन् २०२० मा पेन्सिलभेनियास्थित संघीय जेलमा बहनासावीले आफ्नो कोठामा रहेको स्टिलको टेबलको भागबाट बनाइएको हतियारले दुई जना जेल अधिकारीमाथि आक्रमण गरेका थिए। उनले एक अधिकारीको टाउको र अनुहारमा तथा बीचमा रोक्न आएका अर्का अधिकारीको हातमा छुरा प्रहार गरेका थिए।

अमेरिकी अभियोजक कार्यालयका अनुसार बहनासावीले गत वर्ष नोभेम्बरमा आक्रमण, हत्या गर्ने उद्देश्यले आक्रमण, जेलभित्र प्रतिबन्धित सामग्री राखेको र इस्लामिक स्टेट (आइएसआइएस) लाई सहयोग गरेकोलगायतका अभियोग स्वीकार गरेका थिए।

आक्रमणपछि उनलाई नियन्त्रणमा लिइएको थियो। त्यस क्रममा उनको मोजाभित्र इस्लामिक स्टेटका लागि गरिएको आतङ्कवादी आक्रमणसम्बन्धी उल्लेख भएको एउटा नोट फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। उनको जेलको कोठामा इस्लामिक स्टेटप्रति निष्ठा व्यक्त गरिएको सामग्री पनि भेटिएको थियो।

बहनासावीलाई सन् २०१८ मा न्युयोर्कमा आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोगमा ४० वर्ष कैद सजाय सुनाइएको थियो। अभियोगमा न्युयोर्क सहरको भूमिगत रेल प्रणालीमा बम विस्फोट गराउने र टाइम्स स्क्वायरमा कार बम विस्फोट गराउने योजनासमेत उल्लेख थियो।

सजाय निर्धारणका क्रममा बहनासावीले आफूले गरेको घटनाप्रति गहिरो पछुतो व्यक्त गर्दै मानसिक स्वास्थ्य समस्या र आवश्यक औषधि तथा उपचारको अभावले आफ्नो अवस्था प्रभावित भएको बताएका थिए। उनले आफूले औषधि पाउँदा शान्त रहने र स्पष्ट रूपमा सोच्न सक्ने उल्लेख गरेका थिए।

उनका अभिभावकले छोराले अमेरिकी जेलमा पर्याप्त मानसिक स्वास्थ्य उपचार र औषधि नपाएको भन्दै उनलाई क्यानाडा फर्काएर यहाँकै जेलमा सजाय भुक्तान गर्ने व्यवस्था मिलाउन माग गर्दै आएका छन्। सन् २०१८ मा सजाय सुनाउँदा न्युयोर्कका एक न्यायाधीशले पनि उनलाई परिवार र मानसिक स्वास्थ्य सेवाको नजिक पर्ने जेलमा राख्न सुझाव दिएका थिए।

बहनासावीको परिवारले उनको क्यानाडा स्थानान्तरणका लागि कानुनी प्रयास जारी राखेको छ। अमेरिकी जेलमा एकान्तवासमा राखिएको अवस्थाले उनको उपचारमा कठिनाइ भएको परिवारको भनाइ छ।

क्यानाडाको सुधार सेवा विभागले अन्तर्राष्ट्रिय कैदी स्थानान्तरणका लागि प्राप्त सबै आवेदनलाई ध्यानपूर्वक विचार गरिने जनाएको छ। तर विभागले व्यक्तिगत मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

बहनासावीका अमेरिकी वकिल एन्ड्र्यु फ्रिस्चले मानसिक स्वास्थ्य समस्यासँग जोडिएका घटनाका लागि उनलाई थप सजाय दिइएको भन्दै अमेरिकी न्याय प्रणालीको व्यवहारप्रति प्रश्न उठाएका छन्।

तपाईंको प्रतिक्रिया