पूर्वसूचनाको एक घण्टी: विपद् जोखिम न्यूनीकरणमा क्यानाडाको पाठ र नेपालको यथार्थ
शिरोमणि दवाडी
गत अगस्ट १५ र १६ मा क्यानाडाको ओटावास्थित युनिभर्सिटी अफ ओटावामा CANFOR द्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो विद्यावारिधि अनुसन्धान “Communicating Climate Change in Nepal: Impact of Electronic Media Journalism on Public Awareness” प्रस्तुत गर्ने अवसर पाएको थिएँ। जलवायु परिवर्तन र यसको सञ्चार मेरो अनुसन्धानको मुख्य विषय भएकाले क्यानाडा बसाइका क्रममा त्यहाँको मौसम, वातावरण, विपद् र त्यससँग सम्बन्धित जनसञ्चार प्रणालीप्रति चासो हुनु स्वाभाविकै थियो। अनुसन्धानको विषयसँग जोडिएको एउटा प्रत्यक्ष अनुभवले मलाई पूर्वसूचना र जनसञ्चारको महत्त्वलाई सिद्धान्तमा भन्दा प्रयोगात्मक रूपमै बुझ्ने अवसर दियो।
क्यानाडाको ह्यामिल्टनमा घुमिरहँदा आकाशमा कालो बादल मडारिँदै थियो। हावाहुरी चल्ने र पानी पर्ने सङ्केत देखिन्थ्यो। त्यही बेला मेरो मोबाइलमा अचानक फरक किसिमको घण्टी बज्यो। फोनमा आएको आपत्कालीन सन्देश (Emergency Alert) ले चेतावनी दिँदै सावधानी अपनाउन सूचित गर्यो। म लगत्तै सुरक्षित हुन नजिकैको गन्तव्यतर्फ लागेँ। नभन्दै केही समयपछि तीव्र हावाहुरी र असिनासहितको ठूलो वर्षा भयो। एउटा सामान्य मोबाइल फोनको सूचनाले सम्भावित जोखिमबारे मानिसलाई केही समयअघि नै कसरी सचेत गराउन सक्छ र उसले आफ्नो व्यवहार बदलेर ज्यान जोगाउन सक्छ भन्ने कुरा मैले प्रत्यक्ष अनुभव गरेँ।
अर्को दिन ब्राम्प्टनस्थित सुसन फेनेल स्पोर्ट्सप्लेक्समा थिएँ अचानक भवनभित्र आपत्कालीन 'अलार्म' बज्यो। 'फायर' भन्दै सबैलाई तत्काल बाहिर निस्कन भनियो। बाहिर निस्कँदा दमकल, प्रहरी र एम्बुलेन्स तयारी अवस्थामा उभिसकेका थिए। केही समयको आवश्यक जाँच तथा अनुसन्धानपछि तत्कालको खतरा नभएको जानकारी दिइयो र भवनमा पुनः प्रवेश गर्न दिइयो।
दुवै घटना ठूलो विपद्मा परिणत भएनन्, तर मेरा लागि यी दुई घटना आफैँमा एउटा महत्त्वपूर्ण पाठ बने। विपद् आएपछि उद्धार गर्नु मात्र होइन, जोखिम आउनुअघि आम नागरिकलाई समयमै सूचना दिएर सही निर्णय लिन सक्ने अवस्थामा पुर्याउनु विपद् व्यवस्थापनको सबैभन्दा ठूलो हिस्सा हो भन्ने कुरा सिद्धान्ततः बुझेको भए पनि यो अनुभवले मलाई त्यसलाई व्यवहारमै महसुस गरायो।
त्यसै क्षण मेरो मनमा नेपालका केही विपद्का दृश्यहरू आए। केही वर्षअघि सिन्धुपाल्चोकमा आएको विनाशकारी बाढी होस् वा यसै वर्ष भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अचानकको विनाशकारी बाढी—प्रश्न एउटै थियो: जोखिमबारे पर्याप्त सूचना समयमै पुगेको भए के जनधनको क्षति कम गर्न सकिँदैन थियो र?
विपद् पूर्वसूचना भनेको मोबाइलमा आउने एउटा साधारण सन्देश मात्र होइन। यसको पछाडि जोखिम पहिचान, मौसम तथा जलविज्ञानको निरन्तर निगरानी, पूर्वानुमान, जोखिमको विश्लेषण, चेतावनी जारी गर्ने संस्थागत निर्णय, सूचना प्रसारण र अन्ततः नागरिकले त्यसलाई बुझेर सुरक्षित व्यवहार अपनाउने सम्पूर्ण अन्तरसम्बन्धित शृङ्खला जोडिएको हुन्छ।
संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालय (UNDRR) को प्रतिवेदनअनुसार व्यापक र प्रभावकारी बहुविपद् पूर्वसूचना प्रणाली भएका देशमा विपद्सम्बन्धी मृत्यु, सीमित क्षमता भएका देशको तुलनामा झण्डै छ गुणा कम हुने गरेको छ। प्रतिवेदनले पूर्वसूचना प्रणालीका चार महत्त्वपूर्ण आधार प्रस्तुत गरेको छ:
१. जोखिमको ज्ञान
२. जोखिमको निगरानी तथा पूर्वानुमान
३. चेतावनीको सञ्चार र प्रसारण
४. प्रतिक्रिया दिने तयारी।
यी चारै वटा तत्व प्रभावकारी हुनु अनिवार्य छ। सूचना हुनु मात्र पर्याप्त छैन; त्यो समयमै सही व्यक्तिसम्म पुग्नुपर्छ र त्यस सूचनाका आधारमा मानिसले आफ्नो व्यवहार बदलेर सुरक्षित हुनुपर्छ।
यस सन्दर्भमा क्यानाडाको अभ्यासका बारेमा चर्चा गरौँ। क्यानाडामा मैले अनुभव गरेको मोबाइल अलर्ट कुनै संयोग थिएन। क्यानाडासँग 'नेसनल पब्लिक अलर्टिङ सिस्टम' (NPAS) अर्थात् राष्ट्रिय सार्वजनिक चेतावनी प्रणाली छ। यसले संघीय, प्रान्तीय, क्षेत्रीय तथा अधिकृत स्थानीय निकायबाट जारी गरिएका आपत्कालीन चेतावनीलाई तत्काल नागरिकसम्म पुर्याउने कानुनी र प्राविधिक संरचना बनाएको छ। यस प्रणालीअन्तर्गत आवश्यकताअनुसार मोबाइल फोन, टेलिभिजन र रेडियोमार्फत चेतावनी एकैपटक पठाउन सकिन्छ। चेतावनी निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गर्न सकिने भएकाले ठ्याक्कै जोखिममा रहेका मानिसलाई लक्षित सूचना दिन सकिन्छ।
क्यानाडाको अर्को महत्त्वपूर्ण पक्ष पूर्वसूचनाको भाषा र ढाँचा हो। 'इन्भायरन्मेन्ट एन्ड क्लाइमेट चेन्ज क्यानाडा' ले मौसमसम्बन्धी जोखिमलाई Warning (चेतावनी), Advisory (सल्लाह) र Watch (निगरानी) जस्ता छुट्टाछुट्टै श्रेणीमा वर्गीकरण गर्छ। मौसमसम्बन्धी जोखिमको गम्भीरता बुझाउन पहेँलो, सुन्तला र रातो रङ प्रयोग गरिन्छ। चेतावनी सन्देशमा चार कुरा प्रस्ट हुन्छन्: के हुँदैछ, कहाँ हुँदैछ, त्यसको सम्भावित प्रभाव के हो र नागरिकले तुरुन्तै के गर्नुपर्छ।
विशेष गरी तीव्र आँधी वा टोर्नाडोजस्ता घटनामा जोखिम क्षेत्रलाई निश्चित भौगोलिक रेखाङ्कनका माध्यमबाट अझ लक्षित गरेर 'Alert Ready' मार्फत एकैपटक सबै सञ्चारमाध्यममा अलर्ट पठाइन्छ। यसले के देखाउँछ भने पूर्वसूचना भनेको प्रविधि मात्र होइन, संस्थागत समन्वय र स्पष्ट सञ्चार प्रणालीको संयोजन हो।
अब नेपालको वर्तमान अवस्था र चुनौतीका सम्बन्धमा केही प्रसङ्ग जोडौँ। नेपालमा पूर्वसूचना प्रणाली नै नभएको भने होइन। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय सरकार, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा विभिन्न समुदायमा आधारित संस्थामार्फत विपद् सूचना प्रवाह हुँदै आएको छ।
नेपालमा बाढी पूर्वसूचनाका लागि एसएमएस, साइरन, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल र समुदायमा आधारित पूर्वसूचना प्रणाली प्रयोग भएका सकारात्मक उदाहरणहरू नभएका होइनन्। नेपालले पूर्वसूचना प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न 'कमन अलर्टिङ प्रोटोकल' सम्बन्धी तालिम र पूर्वाधार विकासमा पनि काम गरिरहेको छ। तर समस्या 'प्रणाली छ कि छैन' भन्ने मात्र होइन। वास्तविक प्रश्न हो: पूर्वसूचना जोखिममा रहेका अन्तिम व्यक्तिसम्म कति छिटो, कति स्पष्ट र कति विश्वसनीय रूपमा पुग्छ? अनि त्यस्ता सूचना बुझ्ने र व्यवहारमा उतार्ने हाम्रो आचरण र शैली के छ?
भदौ १० गते रसुवा जिल्लामा आएको अचानकको बाढीले यो प्रश्नलाई अझ गम्भीर बनाएको छ। भोटेकोशी र त्रिशूली नदी प्रणालीमा पानी, गेग्रान र ठूला ढुङ्गासहित अत्यन्त तीव्र बाढी आएको थियो। उपल्लो तटीय क्षेत्रमा हुने यस्ता घटनाहरू सीमापार जोखिम (Cross-border risk) सँग पनि जोडिएका हुन्छन्। हिमाली नदी र जलाधार क्षेत्रहरू राजनीतिक सीमामा बाँधिँदैनन्। त्यसैले माथिल्लो क्षेत्रमा हुने 'Sudden Surge' वा अवरोधको सूचना तत्काल तल्लो तटीय क्षेत्रमा नपुग्दा ठूलो क्षति हुने गर्छ। यसले नेपाल र छिमेकी मुलुकहरूबीच वास्तविक समय (Real-time) मा सूचना आदानप्रदान र आपत्कालीन सञ्चार प्रणालीको आवश्यकतालाई पुनः उजागर गरेको छ।
जे नहुनु थियो त्यो त भइसक्यो, तर यसबाट नेपालले लिन सक्ने व्यावहारिक पाठ के हो त? त्यो महत्त्वपूर्ण कुरा हो।
नेपाल र क्यानाडाको भौगोलिक, आर्थिक र पूर्वाधारको अवस्था फरक छ। क्यानाडाको प्रविधिलाई हुबहु नेपालमा लागू गर्न नसकिए पनि केही सिद्धान्त र अभ्यास भने स्थानीय अनुकूलन गरी अपनाउन सकिन्छ। हामीजस्तो विकासको गतिमा अगाडि बढ्दै गरेका देशले विकसित देशका यस्तै प्रविधि र अनुभवबाट सिक्ने हो। त्यसो भए नेपालले के गर्न सक्छ त? त्यसबारे छोटो बुँदागत विवेचना गरौँ:
१. एकीकृत प्रणाली: अलग-अलग निकायले आ-आफ्नो हिसाबले सूचना निकाल्नुभन्दा एउटै साझा र आधिकारिक 'एकीकृत सार्वजनिक चेतावनी प्रणाली' बाट चेतावनी जारी हुनुपर्छ।
२. बहुमाध्यमको प्रयोग: केवल मोबाइल एसएमएस वा इन्टरनेटमा मात्र भर नपरी रेडियो, टेलिभिजन, मोबाइल अलर्ट, स्थानीय साइरन र स्वयंसेवकमार्फत बहुमाध्यम प्रणाली अपनाई एउटै सन्देश एकैपटक प्रवाह गरिनुपर्छ।
३. कार्यमुखी र सरल भाषा: "बाढीको सम्भावना छ" भन्ने प्राविधिक भाषाभन्दा "यो नदी किनारका बासिन्दा आगामी १० मिनेटभित्र अग्लो स्थानतर्फ जानुहोस्" जस्ता स्पष्ट र कार्यमुखी सूचना दिनुपर्छ।
४. भूगोल लक्षित सूचना: जोखिममा रहेको निश्चित नदी तटीय वा पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई मात्र लक्षित गरेर सन्देश पठाउने प्रविधि विकास गर्नुपर्छ।
५. पूर्वतयारी र अभ्यास: चेतावनी आएपछि के गर्ने भन्नेबारे नागरिकलाई पूर्वजानकारी हुनुपर्छ। विद्यालय, समुदाय र स्थानीय सरकारमार्फत नियमित 'मोक ड्रिल' (अभ्यास) सञ्चालन गरिनुपर्छ।
यी र यस्ता पूर्वजानकारी तथा तयारीका अभ्यास नेपालमा हुँदै नभएका होइनन्, तर तिनलाई अझ प्रभावकारी बनाइनुपर्छ र समयसापेक्ष ढङ्गले सुधार गर्दै लग्नुपर्छ।
निष्कर्षमा भन्नु पर्दा, क्यानाडामा मेरो मोबाइलमा आएको त्यो एउटा घण्टीले मलाई सुरक्षित हुन केही मिनेटको समय दिएको थियो। विपद्को घडीमा त्यही केही मिनेटको पूर्वसूचना मानिसको जीवन बचाउन पर्याप्त हुन्छ। नेपालमा मोबाइल र इन्टरनेटको पहुँच व्यापक भइसकेको छ। संस्थागत संरचना र अनुभवहरू पनि हामीसँग छन्। अबको आवश्यकता ती सबैलाई एउटै प्रभावकारी शृङ्खलामा जोड्नु हो।
जोखिम पहिचान>पूर्वानुमान > चेतावनी > सञ्चार > नागरिकको बुझाइ> सुरक्षित व्यवहार
यो शृङ्खला जहाँ टुट्छ, त्यहीँ पूर्वसूचना प्रणाली असफल हुन्छ। हामीले क्यानाडा वा विकसित मुलुकबाट प्रविधि मात्र होइन, समयमै सूचना दिने संस्कृति, स्पष्ट जिम्मेवारी, बहुमाध्यमीय सञ्चार र नागरिकलाई सूचनाको 'सक्रिय सहभागी' बनाउने अभ्यास सिक्नुपर्छ। विपद् रोक्न सधैँ सम्भव नहोला, तर सही समयको एउटा सूचना वा घण्टीले कसैको जीवन बचाउन सक्छ भने त्यो नै पूर्वसूचना प्रणालीको सबैभन्दा ठूलो सफलता हुनेछ। समय बितेपछि पश्चात्ताप गर्नुभन्दा बेलैमा सोचौँ।
-लेखक थाइल्याण्ड स्थित प्रिन्स संग्क्ला युनिभर्सिटिमा नेपालमा जलवायु परिवर्तन सञ्चारमा विद्युतीय सञ्चारमाध्यमको प्रभाव विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ।

सम्बन्धित खबर
.png)





















तपाईंको प्रतिक्रिया