• मंगलबार, ९ मङ्सिर, २०८३
  • Tuesday, 24 November, 2026
  • X

सगरमाथाको यात्रासँगै सुरु भएको अर्को कठिन आरोहण

नेपालTouch
मंगलबार मङ्सिर ९, २०८३ | Tuesday November 24,2026

गत डेढ वर्षमा जुलीले दुईवटा पहाड चढिन्। एउटा वास्तविक पहाड थियो, अर्को जीवनले अचानक उभ्याएको चुनौती। हिमालयको सगरमाथा आधार शिविरसम्मको यात्रा कठिन भए पनि स्तन स्वास्थ्यसम्बन्धी जोखिम पहिचानदेखि परीक्षण र उपचार प्रक्रियासम्मको यात्रा उनका लागि अझ चुनौतीपूर्ण बन्यो।

सन् २०२४ को शरद ऋतुमा जुली र उनका श्रीमान्ले सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने योजना बनाए। यसअघि यस्तो यात्रा नगरेकाले उनीहरूले लामो समय तयारी गरे। पदयात्रासम्बन्धी जानकारी खोजे, युट्युबका भिडियो हेरे, शारीरिक अभ्यास सुरु गरे र मार्गदर्शक कम्पनी छनोट गरेर सन् २०२५ को शरद ऋतुका लागि यात्रा तय गरे।

तर, त्यसको केही महिनापछि उनको जीवनले अर्कै मोड लियो।

सन् २०२५ जुलाईमा ५३ वर्षीया जुली नियमित स्तन परीक्षण (म्यामोग्राम) का लागि गइन्। उनले ५० वर्षको उमेरदेखि नियमित परीक्षण गराउँदै आएकी थिइन्। ५२ वर्षको उमेरमा गरिएको परीक्षणपछि उनको स्तनको तन्तु बाक्लो रहेको (डेन्स ब्रेस्ट) भन्दै अर्को वर्ष पुनः परीक्षण गर्न सुझाव दिइएको थियो। तर, त्यसको अर्थ र सम्भावित जोखिमबारे उनलाई पर्याप्त जानकारी थिएन।

जुलाईको परीक्षणपछि थप म्यामोग्राम र अल्ट्रासाउन्ड गर्न बोलाइँदा उनी केही चिन्तित भइन्। तर परिवारमा स्तन क्यान्सरको इतिहास नभएको, तीन सन्तानलाई स्तनपान गराएको, नियमित व्यायाम गर्ने र स्वस्थ तौलमा रहेको कारण आफूलाई कुनै समस्या नहुने विश्वास गरिन्। पदयात्राको तयारीले आफू वयस्क जीवनकै सबैभन्दा स्वस्थ अवस्थामा रहेको पनि उनलाई लागेको थियो।

तर परीक्षणमा स्तनमा सूक्ष्म क्याल्सियम जमेको (माइक्रोक्याल्सिफिकेसन) देखियो। त्यसपछि बायोप्सी गर्नुपर्ने भयो। अगस्ट २० मा गरिएको बायोप्सीको नतिजामा एटिपिकल डक्टल हाइपरप्लासिया (एडीएच) देखियो। यो स्तनमा क्यान्सरपूर्व अवस्थाका असामान्य कोषिका बढ्ने अवस्था हो, जसलाई शल्यक्रिया गरेर हटाउनुपर्ने हुन्छ।

जुलीका लागि यो अप्रत्याशित खबर थियो। सगरमाथा आधार शिविरको यात्राका लागि उनले महिनौँ तयारी गरेकी थिइन्, तर स्तन स्वास्थ्यको यो चुनौतीका लागि उनीसँग न जानकारी थियो, न तयारी, न मार्गदर्शन।

सेप्टेम्बरको सुरुमै उनले शल्यचिकित्सकसँग भेटिन्। सेप्टेम्बर २६ मा शल्यक्रियाको मिति तय भयो। शल्यक्रियापछि स्वास्थ्यमा सुधार आए अक्टोबरमा तय भएको चार साताको हिमालय यात्रा गर्न सकिने चिकित्सकले बताए।

यसबीच जुलीले एडीएचबारे थप अध्ययन गर्न थालिन्। शल्यक्रियाबाट निकालिएको तन्तुको परीक्षणपछि एडीएचको ७ देखि ५३ प्रतिशतसम्मको अवस्थामा डक्टल कार्सिनोमा इन सिटु (डीसीआईएस) अर्थात् शून्य चरणको क्यान्सर देखिन सक्नेबारे उनले जानकारी पाइन्। एडीएच भएका महिलामा दुवै स्तनमा भविष्यमा क्यान्सर हुने जोखिम बढ्न सक्ने र रजोनिवृत्तिअघि यस्तो अवस्था देखिँदा जोखिम थप महत्त्वपूर्ण हुन सक्ने पनि उनले थाहा पाइन्।

जोखिम घटाउन औषधि प्रयोग उपयोगी हुन सक्ने र निदानपछि कम्तीमा १० देखि १५ वर्षसम्म नियमित निगरानी आवश्यक पर्ने जानकारीले उनको चिन्ता थप बढायो।

शल्यक्रिया सफल भयो। तर शल्यक्रियापछि चिकित्सकले उनको नमुना थप परीक्षणका लागि टोरन्टोका विशेषज्ञकहाँ पठाउनुपर्ने बताए। एडीएच मात्रै हो वा डीसीआईएस पनि हो भन्नेमा चिकित्सकहरू निश्चित हुन सकेका थिएनन्। नतिजा आउन केही साता लाग्ने भएकाले स्वास्थ्यमा सुधार हुँदै गए चार साताको पदयात्रामा जान सकिने सुझाव उनले पाए।

त्यसपछि जुली सगरमाथा आधार शिविरको यात्रामा निस्किइन्। नोभेम्बर १२ मा फर्किएपछि पनि परीक्षणको नतिजा आएको थिएन। उनले शल्यचिकित्सकलाई सम्पर्क गरिन्, तर नतिजा प्राप्त हुन सकेन। क्यान्सर भएको हो वा होइन भन्ने अन्योलले उनलाई तनावमा राख्यो। नौ सातासम्म पनि नतिजा नआएपछि क्यान्सर पुष्टि भए उपचार प्रक्रियामा ढिलाइ नहोस् भनेर उनले क्यान्सर उपचारसम्बन्धी विशेषज्ञकहाँ पठाउन आग्रह गरिन्।

अन्ततः डिसेम्बर ४ मा शल्यचिकित्सकले फोन गरेर एडीएच मात्रै देखिएको र आफू सुरक्षित रहेको बताए। नियमित परीक्षणमा फर्किन सक्ने भन्दै उनलाई उपचार प्रक्रियाबाट बिदा गरियो। तर एडीएचसँग जोडिएको दीर्घकालीन जोखिमबारे जानकारी पाएकी जुलीलाई यो निर्णय चित्त बुझेन। उनले त्यसबारे थप जानकारी लिन क्यान्सर विशेषज्ञसँग भेट्ने अपेक्षा गरेकी थिइन्।

उनका पारिवारिक चिकित्सकले पनि थप निगरानी आवश्यक हुन सक्ने बताए। तर नयाँ वर्षसम्म क्यान्सर विशेषज्ञको फोन आएन। जनवरीको मध्यतिर आफैँ सम्पर्क गर्दा उनको उपचारका लागि पठाइएको सिफारिस डिसेम्बरमै अस्वीकार गरिएको जानकारी पाइन्। तर शल्यचिकित्सकले त्यसबारे आफूलाई जानकारी नदिएको उनको गुनासो छ।

त्यसपछि उनले पारिवारिक चिकित्सकसँग पुनः भेटेर आफ्नो जोखिम र आगामी परीक्षणबारे छलफल गरिन्। यही क्रममा विशेषज्ञको परीक्षण प्रतिवेदनमा एडीएचसँगै एटिपिकल लोबुलर हाइपरप्लासिया (एएलएच) पनि देखिएको र उनको अवस्था सीमावर्ती रहेकाले शल्यक्रियापछि थप इमेजिङ परीक्षण गर्न सिफारिस गरिएको जानकारी पाइन्। तर उनलाई यसबारे पहिले जानकारी दिइएको थिएन। शल्यक्रिया भएको चार महिना बितिसक्दा पनि सिफारिस गरिएको परीक्षण गरिएको थिएन।

पारिवारिक चिकित्सकको पहलमा उनी आफ्नो क्षेत्रनजिकैको स्तन परीक्षण केन्द्रमा पुगिन्। फेब्रुअरी ९ मा दुवै स्तनको म्यामोग्राम गर्दा फेरि सूक्ष्म क्याल्सियम जमेको देखियो। भोलिपल्ट गरिएको बायोप्सीमा क्यान्सर नदेखिए पनि छ महिनापछि पुनः परीक्षण गर्नुपर्ने सुझाव दिइयो। सेप्टेम्बरमा गरिएको परीक्षणमा कुनै परिवर्तन देखिएन।

मार्चमा गरिएको एमआरआईमा अर्को गाँठो देखिएपछि अल्ट्रासाउन्ड गरियो। म्यामोग्राममा नदेखिएको उक्त गाँठो फाइब्रोएडेनोमा अर्थात् क्यान्सर नभएको गाँठो हुन सक्ने चिकित्सकहरूको अनुमान थियो। अक्टोबरमा गरिएको अर्को परीक्षणमा पनि यसको आकारमा परिवर्तन देखिएन। दुवै अवस्थालाई निरन्तर निगरानीमा राख्नुपर्ने चिकित्सकले बताएका छन्।

यसबीच जुलीले स्तन क्यान्सरको जोखिमबारे थप जानकारी खोजिन्। अन्टारियोमा उच्च जोखिम भएका महिलाका लागि छुट्टै परीक्षण कार्यक्रम रहेको उनले थाहा पाइन्। व्यक्तिगत तथा पारिवारिक इतिहासका आधारमा आईबीआईएस (टायरर–कुजिक) वा क्यानरिस्क गणनाबाट जीवनभर स्तन क्यान्सर हुने जोखिम २५ प्रतिशतभन्दा बढी देखिएमा उक्त कार्यक्रममा सहभागी हुन सकिने व्यवस्था छ।

डेन्स ब्रेस्ट्स क्यानाडाको वेबसाइटबाट उनले निःशुल्क अनलाइन आईबीआईएस जोखिम गणक प्रयोग गरिन्। त्यसबाट आफ्नो जीवनभर स्तन क्यान्सर हुने जोखिम २९ प्रतिशत देखियो। उनले पारिवारिक चिकित्सकमार्फत उच्च जोखिम परीक्षण कार्यक्रममा सहभागी हुन आवेदन दिइन्। तर पारिवारिक इतिहास नभएकाले आवेदन स्वीकृत नहुन सक्ने चिकित्सकको अनुमान थियो।

गत साता उनले आफ्नो आवेदन अस्वीकृत भएको जानकारी पाइन्। पारिवारिक इतिहास नभएको कारण देखाउँदै उनलाई कार्यक्रममा सहभागी गराइएन। यस निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो क्षेत्रका प्रान्तीय सांसद (एमपीपी) सँग जवाफ मागेकी छन्।

‘उच्च जोखिम भनेको उच्च जोखिम नै हो। स्तन क्यान्सरले मेरो परिवारमा यसको इतिहास छ कि छैन भनेर हेर्दैन। त्यसो भए उच्च जोखिमको कार्यक्रममा पारिवारिक इतिहासलाई मात्रै किन आधार बनाइन्छ ?’ उनको प्रश्न छ।

जुलीका लागि पछिल्लो १६ महिना निकै कठिन र निराशाजनक रहे। तर यस अवधिमा उनले स्तन स्वास्थ्य र आफ्नो व्यक्तिगत जोखिमबारे धेरै कुरा सिकिन्। स्तनको तन्तु बाक्लो हुनु, एडीएच र एएलएचजस्ता अवस्था तथा आईबीआईएसबाट देखिने जोखिमको महत्त्व बुझिन्। परीक्षणको नतिजा बुझ्न, आवश्यक प्रश्न गर्न र आफ्नो स्वास्थ्यका लागि आफैँ पहल गर्नुपर्ने अनुभव पनि उनले सँगालिन्।

उनी भन्छिन्, स्तन भएका कुनै पनि महिलाले जुनसुकै बेला यस्तो जोखिमको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले डराएर बस्नुभन्दा आफ्नो जोखिमबारे जानकारी लिने, नियमित परीक्षण गराउने, चिकित्सकसँग प्रश्न गर्ने र आवश्यक पर्दा स्वास्थ्य प्रणालीसँग जवाफ माग्ने तयारी गर्नुपर्छ।

‘पहाड चढ्नुपर्ने अवस्था जुनसुकै बेला आउन सक्छ। त्यसैले आत्तिनुभन्दा तयारी गर्नु महत्त्वपूर्ण छ। आफ्नो जोखिम बुझ्नुपर्छ, यसअघि यस्तो यात्रा गरेका महिलाका अनुभव सुन्नुपर्छ र स्वास्थ्य परीक्षणलाई निरन्तरता दिनुपर्छ,’ उनको सुझाव छ।

जुलीलाई आफ्नो यात्रा अझै पूरा भएको छैन भन्ने थाहा छ। तर एकपछि अर्को पाइला चाल्दै उनी अघि बढिरहेकी छन्। आफूले भोगेको अनुभव अरू महिलाका लागि उपयोगी बाटो बन्ने उनको आशा छ।

सामान्यतया स्तन क्यान्सर निदान भएका महिलाका अनुभव सार्वजनिक गर्दै आएको भए पनि जुलीको अनुभव फरक र उत्तिकै महत्त्वपूर्ण रहेको जनाएको छ। एडीएच र एएलएचजस्ता अवस्थाबारे बुझ्न तथा स्वास्थ्य सेवाको प्रक्रियामा आफ्नो अधिकार र आवश्यकताका लागि आवाज उठाउन उनको अनुभवले अन्य महिलालाई सहयोग पुग्ने 'डेन्स ब्रेस्ट्स क्यानाडा'को अपेक्षा छ।

तपाईंको प्रतिक्रिया