• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

बेतेनीको बाटो

गोपाल गड्तौला

आइतबार भदौ ७, २०८३ | Sunday August 23,2026
-नेपाल टच ग्राफिक्स

शरद् यामको एउटा सफा बिहान। तेजविहीन बादलका थोग्लाहरू टाढा आकाशमा कतै बसिरहेका। ती भरदिन पनि हल्लिने नाम लिँदैनन्। बास बस्छन्, भोलिपल्ट फेरि त्यहीँ झुल्किन्छन्। यसको मतलब तत्कालै आकाश वर्षिने कुनै छाँट छैन।

भर्खरै धान काटेर छोडिएका गाँजका छोटा ठुटाहरूबाट मसिना मुना पलाउन थालेका खुला खेत। लामो आयु हुँदैन त्यस्ता ठुटाहरूको। बाख्राबस्तुले नदेखुन्जेल मात्र हो तिनले टुसाउन पाउने। कसैकसैले गाउँमा तोरी र गहुँ छर्न जोतेर माटो पल्टाइछोडेका गरा। सागपात रोप्न ठिक्क पारिएका करेसाबारी। आमाहरूका ढाडमा डोकोमा बोकिएर पोखिएका मलका थुप्राहरू।

मेरा साना आँखाहरूले कहिल्यै बुबाले डोकोमा मल बोकेर मलखाडीदेखि खेतसम्म पुगेको देखेकै छैन। खेतका आलीहरूमा धानसँगै केही महिना अघि रोपिएका भटमास र मासको दालका मसिना पोथ्राहरू अझै छन्। ती कुनै उखेल्न लायक भइसकेका, कुनै हरियै। छिमल–छिमल उखेल्ने लेठो गरिरहने फुर्सद आमाहरूलाई छैन। किनकि त्यो पनि आमाहरूकै काम हो। एकैमेलो उखेल्ने, समेट्ने र सुकाएर दाइँ गर्ने।

कतैकतै खलो भनिने खमारको गरामा झाँट्ने दिन पर्खिएर ठडिएका धानका कुन्यु छन्। गाउँमा जस्ताको छानो लगाएका घरहरू एकाध मात्र छन्। सग्ला र सप्रिएका धानका बिटाहरू झाँटीसकेपछि अलगै राखेर कसिला मुठा पारिन्छ। ती मुठे परालले छाउने हो घर र गोठहरू।

गाउँको माथिल्लो लस्करमा पराले छानोले छोपिएको छ एउटा झाँप्रो। त्यसको आँगन अघिल्तिरको जुठेल्नोमा पूरा छाया दिने बाँसको झाङ उभिएको छ। लुगा सिलाउन आउने विष्टहरूलाई पिँध बिसाउन दुईतिर काठका साना मुड्का गाडेर त्यसमाथि तेर्सो राखिएको काठको एउटा फल्याक।

तर सामुन्नेमा मृत्युको त्रास मडारिएको छ अचेल यो घरमा। आउनै लागेको तिहारको कुनै रङ-रौनक छैन। पाँचवटा सन्तान जन्माइसकेको शरीर छैटौँ जन्माउने तरखरमा छ। एक-दुई पटक रात छिप्पिँदै गएपछि धामी बसेको आवाज गाउँमा सुनिएको हो। निक्खर कालो रङका कुखुराहरू पनि बलि चढे। तर पटक्कै बिसेक नभएको महिना नाघिसक्यो।

बाटो हिँड्नेले पनि झ्यालबाट फुत्किएर बाहिर पुगेको एकोहोरो ऐया सुनिरहन्छन्। बाहिर बिहानैदेखि बजिरहेको सिलाइ मेसिनको कटकट आवाज विश्राम हुनासाथ बिरामीको अधकल्चो पीडाको हलुको आर्तनाद आँगन, त्यससँगै जोडिएको परेवाडाँगीदेखि दमक बजारसम्म ओहोरदोहोर गर्ने मूलसडकले सुनिरहेको हुन्छ। हाम्रो सानो बाह्रघरेमा दशकौँदेखि गाउँको अभिन्न सदस्यका रूपमा बसेको, तर कसैका पनि आँगन नाघेर घरभित्र नपसेको यो घरका सदस्यको हृदयको आकाश यसरी अँध्यारिएको हप्तौँ भयो।

सायद महिलाहरूबीच भने घाँसदाउरा, मेलापातमा दर्जीकी गर्भिणी श्रीमतीको शरीरले निकै नै दुःख पाएको कुरा हुन्थ्यो।

म आमाको सारीको सप्को समाउँदै र अर्को हातले कट्टु थाम्दै झिसमिसे बिहान घरबाट माथितिर लागें। आमा मलाई सकेसम्म छोड्नुहुन्न। गाउँमा कतै एकोहोरो शङ्ख बज्यो भने वा मैले कुनै विपद् देख्न नपरोस् भनेर सकेसम्म सारीको सप्कोमा यसैगरी लुकाउनुहुन्थ्यो।

घाम पूरा उदाइनसकेको आँगनमा उभिएर भित्र सुनिने गरी बोलाउनुभयो, “मास्टर्नी, को छौ भित्र?”

भित्रबाट कमला निस्की। ऊ उमेरले मभन्दा केही जेठी होली। तर महिनौँदेखि भान्सा, जुठेल्नो र आँगन–घुर्‍यान सम्हाल्दै छे। ग्यालिस भएको हाफपाइन्ट लगाई, उनै मास्टरले सिलाइदिएको निलो झोलामा महेन्द्रमाला किताब र कापी बोकेर म सिंहदेवी स्कुल जाँदै गर्दा ऊ ब्याउन लागेको बाख्री तान्दै बारीको डिलसम्म पुर्‍याइरहेकी हुन्छे।

ऊसहित उसका पाँचै दाजुभाइ-दिदीबहिनीले स्कुलका कक्षा सुरु भएको सूचक घण्टी बजेको सुने मात्र, स्कुलको आँगन टेकेनन्।

कमलालाई आमाले रुमालमा बाँधिएको पोको दिनुभयो। भन्नुभयो, “सेलरोटी र हिउँदे सिमी छ, आमाले खान्छे होला।”

उसले टाउको हल्लाई मात्र। बोलिन। उल्टा पाइला मलाई लिएर आमा घर फर्किनुभयो।

त्यो परिवारमा मेरो मिल्ने साथी थियो मिलन। भाइहरूमध्ये ऊ माइलो। बेतेनी खोलामा ऊ हातखुट्टा पूरै चलाएर जोडले पौडी खेल्थ्यो। ढकाल काकाको घरपछाडिको अम्बाको बोटमा हामीभन्दा छिटो चढेर पाकेको आँप टिप्थ्यो। बरन्डाबाट ढकाल ठूलाकाका ठूलो स्वरमा कराउँदा सम्ममा हामी उतैबाट घर नफर्की पश्चिमतिरको सापमाराको होली तरिसकेका हुन्थ्यौँ।

एउटा ढुङ्गाले अर्कोलाई ठोक्काउने खेलमा ऊ अलिक सिधा निशाना लगाउँथ्यो। स्कुल नजाने भएकाले ऊ हातखुट्टा लाग्न थालेपछि गाउँलेका घरमा खेतबारीको काम सघाउन जान्थ्यो।

खेल्दाखेल्दै हामी गेलावारी बडाबाबुको आँगनमा भर्खरै गाडिएको चापाकलबाट उफ्रिउफ्री पानी निकाल्थ्यौँ। गाउँभरिकै एउटै चापाकल हाम्रा लागि रमिता थियो। भुरा उफ्रिएर पानीकल बिगार्ने भए भन्दै बाँसको झिक्रो बोकेर मोटो ज्यानकी गेलावारी बडिआमा घरमाथिबाट सिँढीको हतेउडी समातेर ओर्लिंदासम्ममा हामी मुन्तिरका अरू तीनवटा आँगन काटेर विष्णु बहिदारको घरबाट ओरालो लागिसकेका हुन्थ्यौँ।

बेफिक्री खेल्दाखेल्दै म उतैउतै बेतेनी खोलाको किनारनिर गाउँको पुछारमा रहेको मेरो मामाघर पुग्थें। मेरा उ बेलाका साथीहरू रमेश, विनोद, घनश्याम, किशोर र मिलन यिनै त थिए। कयौँ दिनदेखि मिलन भेटिएको थिएन। बिरामी आमाको छेउछाउमै बस्ने मिलनसँग आजको चिसो बिहान पनि भेट भएन।

* * * 

बिहान उज्यालो हुनुभन्दा केहीअघि महिलाको रोदन अलिक कडा स्वरमा सुनियो। बुबाले एउटा हातले एभरेडी टर्चलाइट ठीक पार्नुभयो र सुरुवालको इँजार कसेर अर्को एक हातले चुरोट सल्काउँदै सिँढीबाट ओर्लिनुभयो।

ओल्लोपल्लो घरका प्रायः पुरुष सदस्य सबैजसो गाउँको ठाडो लाइनको बीचतिरको त्यो दुःखी आँगनमा भेलाभए।

भाइटिकाको छेकको अँधेरी रात नसकिँदै हाम्रा गाउँकी मास्टर्नीले आज दम तोडिछन्।

हाम्रा बडिआमा, काकीहरूले अघि नै यो खबरको लख काटिसकेका थिए। हामी चारजना भुरालाई आँखाअगाडि एउटै खाटमा राखेर आमा एकोहोरिनुभयो। हत्तपत्त रुनुहुन्न मेरी आमा। मैले आजसम्म आमाका आँखा रसाएको देखेको छैन।

हाम्रा आङमा परेका सबै कपडा सिलाइदिने मास्टरकी गर्भवती श्रीमती बच्चा जन्माउन नसकेर गर्भभित्रको बच्चासहित आफू परलोक भएकी थिइन्।

पोतोले गालाहरू भरिएको धमिलो अनुहार लिएर लोग्नेको छेउमा बसी उध्रिएका लुगा टालटुल गरिदिने मास्टर्नी लमतन्न सुतेकी। हिजो आमाले लगिदिएको सेलरोटी खाइन् कि खाएकी थिइनन् होला...

* * *

घरघरबाट दाउराको जोहो गर्न हाम्रो गोठका डल्ले र चौँरे राँगाहरू गाडामा जुटाइए। अलिक माथि ओली जेठाका घरदेखि दाउरा बटुलेर गाडामा हाल्न थालियो। पुछारको विष्णु बहिदारको घरसम्म पुग्दा गाडामा दाउराको उरुङ जुटिसकेको थियो।

आमाका आँखा छलेर म मास्टरको आँगन जान सकिनँ। आमाले पनि मलाई छोड्न सक्नुभएन।

अलिक कडा स्वरमा एकोहोरो शङ्ख बज्यो। सेतो कपडाले ढाकिएको शरीर काँधहरूमा चढिएर हाम्रो आँगन अगाडिको बाटोहुँदै ओरालो लाग्यो। बेतेनी खोला पुगेर उनीहरूले काँध बिसाउनेछन्।

अरण्यरोदनले शिथिल छोराछोरीहरू र वियोगले क्लान्त मास्टर पछिपछि कहालीलाग्दो यात्रामा थिए। उनीहरूका पाइला एकदमै गह्रौँ लाग्थे। गाउँ शोकको आँसु बगाइरहेको थियो।

घाम आज पनि उसैगरी उदायो। तर भयानक उदासीले गाँजेको थियो गाउँका हरेक एकाईलाई। घामका किरणले शीतका थोपाहरूलाई छुँदा सधैँ सुन्दर कोलाज निर्माण हुन्थ्यो। तर आज ती पनि मास्टर्नीको शोकमा अरण्यरोदनले शिथिल भएर मुर्झाएका सन्तानले वर्षाएका आँसुझैँ।

पछ्यौरीले मुखसम्म छोपेर बरन्डामा उभिनुभएकी आमाको दायाँ हातले मलाई पूरै अँचेटेको थियो। म आमाको सारीमा करिब-करिब लपक्कै टाँसिएर वात्सल्यले बेरिँदै समेटिएको थिएँ।

घरीघरी शरीर कोल्टे पार्दै आँखा तन्काएर मलामी हिँडेको बाटोतिर हेर्न खोजेको आमा थाह पाइहाल्नुहुन्थ्यो। अझै कडा अँचेट्नुहुन्थ्यो।

मेरा आँखा भने सेतो कपडाले छोपिएर बेतेनी खोलाको बाटो लागेकी मास्टर्नीको बडेमानको शरीर देखिन्छ कि भनेर खोजिरहेका थिए।

तपाईंको प्रतिक्रिया