• सोमबार, २४ कार्तिक, २०८३
  • Monday, 09 November, 2026
  • X

नमरेको व्यङ्ग्यचेत

डा. पुण्यसागर मरहट्टा

शनिबार कार्तिक २२, २०८३ | Saturday November 07,2026

धेरै दिन भएछ, लेख्न छोडेको। आज मलाई असाध्यै माया गर्ने, कोपुण्डोलकै भएर पनि सागर नभनेर सप्रेम ‘पुन्ने’ भन्ने, मेरा लेखकीय गुरु विष्णु प्रसाईं आफ्नो अनन्त यात्रामा जानुभएको दिन कसो-कसो अलिकति फुर्सद भयो र लेख्न बसेको छु। यो लेख उनै अग्रज विष्णु दादामा समर्पित छ।

पञ्चायतकालमै जस्तो लाग्छ, माथवरसिंह बस्नेतले साप्ताहिक पुनर्जागरण पत्रिका चलाउँथे। गणेशमानजीका किस्सा टिपेर ‘मेरा कथाका पानाहरू’ भन्ने स्तम्भ उनै बस्नेत दाजुले लेख्थे भने हाम्रा विष्णु प्रसाईं दादा चाहिँ त्यही पृष्ठको सिरानतिर, दायाँपट्टि ‘देब्रे फन्को हो’ कि ‘बायाँ फन्को’ त्यस्तै केही नाम गरेको स्तम्भ लेख्थे। सम्झिने अग्रज दाजुदिदीहरू अझै हुनुहुन्छ।

पञ्चायत ढल्यो। कोपुण्डोल उहिलेदेखिकै कांग्रेसी अखडा थियो। चेतमान व्यञ्जनकार सभापति र राजीव पौडेल सचिव थिए पञ्चायतपछिको नेपाली कांग्रेस वडा नम्बर १ इकाइ समितिमा। राजीव पौडेलले भर्खरै साप्ताहिक विमर्श छाप्ने अफसेट प्रेस खोलेका थिए। त्यहीँ नेपाली कांग्रेसको इकाइ कार्यालय थियो। कविन ढुङ्गेल अध्यक्ष र मचाहिँ नेविसंघ इकाइको सचिव थियौँ। छापामा देखेको विष्णु दाइलाई साक्षात् देखेको त्यहीँ हो। एक दिन मैले माइन्युट लेखेको देखेर हो क्यारे, उहाँले भन्नुभयो, ‘ओइ भाइ, तेरो भाँती पुर्‍याएर लेख्ने कला रहेछ, लेख्न थाल।’

पछि त्यही प्रेसमा छाप्ने गरी एउटा साप्ताहिक सुरु गरेका थियौँ हामीले। सुवास पोखरेल दाइ, देवु दाइ (देवराज चालिसे), अर्का देवु दाइ (देवप्रकाश त्रिपाठी), राजीव पौडेल दाइ, शायद उपेन्द्र भट्टराई दाइ पनि मिलेर ‘नयाँ क्षितिज’ नामक त्यो पत्रिका निकाल्न थाल्यौँ। विष्णु दाइकै शैलीमा म लेख्थेँ त्यो पत्रिकामा, तर पी स्मार्टको छद्म नाममा। पुण्यको पी, सागरको एस र मरहट्टाको मार्ट मिलाएर। सम्पादन टोली र विष्णु दाइलाई मात्रै त्यो थाहा थियो। ‘विदुर नीति’ भनेर कटाक्ष लेख्थेँ म उहिलेबेला।

सरकार गिरिजाबाबुको थियो। हामीलाई गिरिजाबाबुको तत्कालीन कार्यशैली मन परेको थिएन, तर मुखर विरोध गर्न सक्ने अवस्था थिएन। भर्खर आएको प्रजातन्त्र, जसलाई गणेशमानजी लगायतले शिशु प्रजातन्त्र भन्ने गर्नुहुन्थ्यो, त्यो मर्छ भन्ने त्रास थियो। यो ०४८-०४९ सालतिरको कुरा हो। त्यतिखेर शायद म नेविसंघ जिल्ला कार्यसमितिको सदस्य र ललितपुर नगर समितिको सचिव बनिसकेको थिएँ।

०४९ भदौ अन्तिमतिर म पढ्न युक्रेन अनि पछि त्यतैबाट बेलारुस गएँ। फर्केर आउँदा ‘नयाँ क्षितिज’ त मासिइसकेको थियो नै, शायद राजीव दाइको प्रेस पनि थिएन। सुवास दाइ केही समय अमेरिका गएर फर्किनुभएको थियो र चालिसे दाइ पोखरा फर्किनुभएको थियो। उपेन्द्र दाइ चापागाउँ पुगिसक्नुभएको थियो शायद। पत्रकारितामा अर्का देवु दाइ भने ‘साप्ताहिक घटना र विचार’ मा डटेकै थिए। सुवास दाइ शायद त्यतिखेर ‘घटना र विचार’ कै सम्पादक हुनुहुन्थ्यो। फेरि ‘विदुर नीति’ लेख्ने अफर आयो। झन्डै एक वर्ष लेखेँ। पछि शैलजा दिदी र एनरोनसम्बन्धी घटना जोडेर स्तम्भ टिप्पणी लेखेपछि देवु दाइलाई कतैबाट दबाब आएको हुनुपर्छ। अलि बिरसिलो जस्तो भयो, लेख्न छोडेँ। पछि प्राध्यापनमा लागियो। क्याम्पसको नेतृत्व तहमा बसेर काम गरियो। लेख्न चाँजो मिल्दैनथ्यो।

पछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले फेरि लेखनकर्ममा फर्काउनुभयो। गोविन्द अधिकारीले उकेरा हालिदिनुभयो। अचेल त बेनुप भट्टराई अनि जयराम गौतमले सघाइदिनुभएको छ, कलम चल्छ।

यी सबै उपक्रमका साक्षी थिए हाम्रा जुँगामुठ्ठे विष्णु दाइ। गएछन्। गएको वर्ष नेपाल गएको थिएँ म। भेट्न घरै गएँ। असाध्यै स्नेह गर्नुहुन्थ्यो। भाउजूसँग ‘नाइँ नाइँ’ भन्दै झन्डै आधा किलो मिठाई खाएर आएँ, हार्नै सकिनँ।

अलि अघि कांग्रेस सभापति गगन थापाले पोखरातिर कुनै शोकसभामा सम्बोधन गर्दै भनेको सम्झिन्छु—कांग्रेस भनेको परिवार हो। त्यसैले त्यो हाम्रो पारिवारिक लय पुनःस्थापना गर्नुपर्ने छ। मैले विष्णु दाइलाई कांग्रेस भएकाले चिनेको हुँ। त्यही हुनाले स्नेह पनि पाएको हुँ। माथि लेखिएका हरेक नामसँग कांग्रेस जोडिएको छ। अहिले को कता, को कता भए होलान्, तर पनि जरा खोज्दै जाने हो भने सबै एउटै मूलबाट टुसाएका छन्।

अलिअघि सामाजिक सञ्जालमा स्नेहले अहिलेका सत्तासीन भाइहरूलाई सुझाव दिने हेतुले एउटा व्यङ्ग्योक्ति लेखेको थिएँ। एकजना अनुजालाई बिझेछ, भन्न भ्याइहालिन्—विदेशमा बसेर विदेशी पासपोर्ट बोकी नेपालको राजनीतिमाथि व्यङ्ग्य गर्ने, आफू कुन पार्टीको समर्थक हो भनेर खुलेर भन्न पनि नसक्ने, तर घुमाउरो स्टाटस र व्यङ्ग्यात्मक ग्रुपको आडमा फेसबुकको वाल नै फोहोर बनाउने महान् बुद्धिजीवीहरूलाई एउटा सानो सुझाव छ।

सरकारले न्यायालयदेखि प्रशासनसम्मका गतिविधि नियालेर, अनियमितता र विसङ्गतिमा संलग्न भएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएर कठघरामा उभ्याउँदै जवाफ माग्दा तपाईंको मुटु यति धेरै किन पोलेको हो? प्रश्न यही हो। देशभित्रको सिस्टममा बसेर प्रमाणका आधारमा अनुसन्धान गर्ने निकायले हेर्ने विषय हो यो, फेसबुकको भित्तामा बसेर फैसला सुनाउने विषय होइन। सामान्य कुरा बुझ्न पनि तपाईंहरूको बुद्धि कहाँ गएर अड्कियो?

बिझेपछि बोल्नु अनुचित होइन। त्यो बोल्न सक्ने अधिकार दिलाउन अनेक विष्णु दाइहरूको योगदान छ भन्ने बिर्सनु भने न्यायोचित होइन। हामीले हिजो जे भयो, त्यो ठीक भयो भनेका भए न छद्म नाममा लेख लेख्नुपर्थ्यो, न आफूले जरोकिलो सहजै गाड्ने माटो छोडेर हिँड्नुपर्थ्यो। विदेशी पासपोर्ट बोक्नु त्यत्रो अपराध होइन, जति अपराध दुईवटा पासपोर्ट बोक्नु हो। त्यसो गर्नु हुँदैन भन्नु शायद अपराध होइन।

हाम्रो पुस्ताले त लोकतन्त्रको सुन्दर स्वरूप देख्नै पाएन। कांग्रेसको आन्तरिक किचलोसँगै माओवादी रडाको देखियो, भोगियो। अहिलेको पुस्तालाई ‘हो कि हो कि जस्तो गर्छ फेरि’ ले लट्टू बनाउँछ। तर धरानको तीनकुनेको ढाँटमा बन्दुकको गोली चलेको सुनेर क्याम्पस चिफ क्वार्टरमा तोते बोलीमा ‘राम्काका, माओवादी आयो, झ्यालढोका थुनिस्यो’ भन्ने छोरो नै अब त छब्बीस वर्षे लोर्के भइसक्यो। ऊ पनि त्यस्तै रवैया देखाउँछ।

बुद्धिजीवी हुन त संयम चाहिँदो हो। हाम्रो पुस्तामा शायद त्यही कमजोरी छ। कसैले भिराइदिएको उपाधि, कसैले भिडाइदिएको ट्रफीमा मख्ख परेका केही हामीले हाम्रो पुस्ताको पोर्ट्रेट बनाइदिएका छौँ। त्यो देखेर अनुज-अनुजा, भतिजी-भतिजा सबैलाई एउटै खाल्डोमा हाल्छन् र भन्छन्, सामान्य कुरा बुझ्न पनि तपाईंहरूको बुद्धि कहाँ गएर अड्कियो?

हाम्रो पुस्ताको बुद्धि त प्रतिशोध, घृणा र एकअर्कालाई खुइल्याउनमै खेर गयो। आगामी पुस्ताको बुद्धि त्यतातिर नजाओस् भन्ने चेत भएका हामीजस्ता अल्पबुद्धि पनि छौँ। त्यो अल्पबुद्धि घिडघिडो भएरै पनि बाँच्छ, मर्दैन।

व्यङ्ग्यपूर्ण लेखनमार्फत अभिव्यक्ति स्वतन्त्रताको चस्को विष्णु दाइले मलाई सारिदिनुभयो, मैले कसैलाई सारेँ, उसले कसैलाई सार्छ। यो निरन्तर सरिरहन्छ, मरे पो मर्छ!

र अन्त्यमा, जसरी ०४७ सालपछि एकथरी कांग्रेसीहरू मदमत्त थिए, त्यो ०६४ तिर माओवादीमा सरेको थियो, ०७४ तिर नेकपामा सरेकै थियो र अहिले सत्तारूढ दलमा सरेकै छ। हामीले भन्दाभन्दै त्यो मदहोसीले सबैलाई आफ्नो हैसियत देखाइदियो। त्यो देखिँदै छ भन्ने पूर्वानुमान रवि लामिछानेले गरेछन् क्यारे र चितवनमा गएर भने—धरातल नभुल।

(पुनश्चः लेखकको यो निजी अनुभूति हो। लेखक सम्बद्ध व्यावसायिक र सामुदायिक संस्थाहरूको नीति, नियम र परिधिसँग लेख सम्बद्ध छैन।)

तपाईंको प्रतिक्रिया