• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

स्मृतिमा प्रा. हर्षनारायण धौभडेल: ज्ञान, विचार र आप्रवासनको ऐनामा एक गुरुतुल्य अभिभावक

डा. नारायण पोखरेल

आइतबार भदौ ७, २०८३ | Sunday August 23,2026

नमस्कार सबैमा!

कृतिशेष प्रा. श्री हर्षनारायण धौभडेलज्यूका बारेमा श्रद्धाञ्जलिका केही शब्द व्यक्त गर्ने अनुमति चाहन्छु। म जे व्यक्त गर्न गइरहेको छु, त्यो कुनै औपचारिक जीवनी वा उहाँको जीवनको विस्तृत विवरण होइन; यो उहाँका बारेमा मेरो व्यक्तिगत सम्झना हो, मैले चिनेको र आदर गरेको एक प्रबुद्ध व्यक्तिसँगको मेरो स्मृति मात्र हो।

गएको आइतबार (१६ अगस्ट, २०२६) बिहानै फेसबुकमार्फत सेयर भएको नेपालटचको समाचार ब्यानर “शिक्षाविद् एवं पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन” माथि आँखा पर्नेबित्तिकै परिवारमा सम्पर्क गरेँ। ८८ वर्ष, ७ महिना, २३ दिन यस धरतीमा हाँसखेल गरेर १५ अगस्टका दिन सदाका लागि बिदा हुनुभएछ हर्षनारायण धौभडेल सर। उहाँ अब हामीबीच हुनुहुन्न भन्ने सत्यले त्यो दिनभरि मेरो मन एक किसिमले भारी बनाइरह्यो।

सोसल मिडियामा उहाँलाई श्रद्धाञ्जली दिनेहरूको घुइँचो देखेँ। सिराहालीहरूले उहाँलाई सिराहाको गौरव भनेका रहेछन् भने नेवाः समुदायले नेवाः गौरव। कतिपयले सेवानिवृत्त भएपछि छोरीसँग विदेशमा बस्दै आएकोमा गुनासो पनि पोखेका रहेछन्।

मृत्यु सबैको गन्तव्य हो भन्ने जान्दाजान्दै पनि आफूले चिनेको, भेटेको, आदर गरेको र जीवनका कुनै मोडमा आफूलाई प्रभावित गरेको मान्छे त्यही गन्तव्यतर्फ लागेको खबर सुन्दा मनले त्यसलाई सहजै स्वीकार्दो रहेनछ। धौभडेल सरको निधनको खबरले मलाई त्यही अनुभूति गरायो। किनकि उहाँ मेरा लागि एक प्राध्यापक वा सार्वजनिक व्यक्तित्व मात्र हुनुहुन्थ्यो; उहाँ एक आदरणीय अग्रज, गुरुतुल्य र क्यानडामा मेरो अभिभावकजस्तो मान्छे हुनुहुन्थ्यो।

मैले कहिलेदेखि प्राध्यापक हर्षनारायण धौभडेल सरलाई चिनेको हुँ ठ्याक्कै मेरो सम्झनामा छैन, तर जहिलेदेखि देखेँ उहाँलाई अत्यन्त क्रियाशील र गतिशील देखेको हुँ— जब उहाँ प्राध्यापकहरूका बीचमा सक्रिय सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो। बौद्धिक छलफल र आन्दोलनहरूमा प्रायः हाम्रो भेट हुन्थ्यो। हुनसक्छ वि.सं. २०३६ देखि २०४० बिचका वर्षहरूमा उहाँसँग पटक-पटक भेट भएको हुनुपर्छ। म भर्खर-भर्खर त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गरेको, उहाँ एक दिग्गज, अनुभवी र हक्की प्राध्यापकका रूपमा स्थापित भइसकेको व्यक्ति हुनुहुन्थ्यो।

एक जमाना थियो, जब नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा प्राध्यापकहरूले पनि दरोगरी काँध थाप्नुपर्दथ्यो, जसको मूल कारण पञ्चायती व्यवस्थाको निरंकुशता थियो। जसले २०३२ सालतिर सहाना प्रधान, अर्जुननरसिंह केसीलगायतका केही प्राध्यापकहरूलाई त्रिवि सेवाबाट निष्कासन गरेको विरुद्धमा प्राज्ञिक स्वतन्त्रताको माग राख्दै अग्रभागीय मोर्चा बन्नु जरुरी बन्यो, किनकि पार्टीहरू प्रतिबन्धित थिए। यस्ता मोर्चामा प्राध्यापक, वकिल तथा शिक्षकहरू प्रगतिशील र प्रजातान्त्रिक धारमा विभाजित भए पनि प्रजातान्त्रिक आन्दोलनलाई बौद्धिक सहयोग र ऐक्यबद्धता दिने ठाउँमा तिनीहरू साझा मोर्चामा उभिन्थे। मेरो सम्झनामा चन्द्रराज, राममान, मंगलसिद्धि, मथुराप्रसाद र हर्षनारायण जस्ता व्यक्तिहरू त्यस समयका प्रगतिशील प्राध्यापक फाँटका बलिया र साझा खम्बा थिए। तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनाअघि जसरी उनीहरू साझा थिए, पुनर्स्थापनापश्चात् भने उनीहरूको कित्ताकाट भयो, साझा रहेनन्। धौभडेल सर पनि एमालेनिकट बौद्धिक राजनीतिमा सक्रिय हुनुभयो र बुद्धिजीवी परिषद्को केन्द्रीय अध्यक्षसमेत बन्नुभयो। तर प्रगतिशील प्राध्यापक संगठनसँगको उहाँको सम्बन्ध भने टुटेन। त्यसै संगठनसँग मेरो पनि आबद्धता भएकाले उहाँसँग भेटघाट भइरहन्थ्यो।

त्यस समयमा धौभडेल सरसँग भएका थुप्रैमध्ये दुईवटा अवसरको सम्झना अझै मलाई टड्कारो गरी आइरहेको छ। पहिलो थियो वि.सं. २०३९–४० सालतिर, जब उहाँकी छोरी एसएलसी बोर्डमा आउँदा र अर्को वि.सं. २०५२ सालतिर, जब उहाँ राजदूत नियुक्त भएको बेला बधाई दिन भनी हामी उहाँको निवास पुगेका थियौँ। ती घटनाको विस्तारले यो मन्तव्य लामो हुने भएकाले मनमै राखेको छु। तर जहिले भेट्दा पनि उहाँको वाक्पटुता, तार्किकता र सहज संवाद शैलीले मलाई आकर्षित नै गर्थ्यो।

तर त्यसपछि म पीएचडीका लागि मस्कोतिर लागेँ। फर्केर आएपछि उहाँसँग पहिले जस्तो अन्तरंग रहने समयाभाव थियो, स्वभावतः उहाँका जिम्मेवारी थपिएका थिए। मैले पनि क्यानडाको आप्रवासन रोजेँ, अनि देखाभेट भएन।

प्राध्यापक हर्षनारायण धौभडेलले वि.स. २०२१ सालमा लेखेको कविता।

तर समयले हामीलाई फेरि भेट गरायो। सन् २००३–४ को एउटा संयोगपछि उहाँसँग फेरि भेट हुनगयो। त्यो भेटको वातावरण क्याल्गरी र एडमन्टनबिच हुने गरेको नेपालीहरूको पिकनिकले बनाइदिएको थियो। अल्बर्टामा नेपालीको संख्या कमै थियो त्यो बेला। त्यसैले दुवै शहरबिच वर्षमा एकपल्ट सिल्भन लेक भन्ने सुन्दर ठाउँमा पिकनिक गर्ने र एकअन्तरमा घुलमिल बढाउने परम्परा पहिलेदेखि बनेको रहेछ। यसै कार्यक्रममा परिचय दिने क्रममा एउटा नारी स्वरले आफ्नो थर “धौभडेल” बतायो, मेरा कान ठाडा भए। मैले प्रतिक्रियास्वरूप सुनाएँ, “मलाई अहिले जम्माजम्मी दुई जना धौभडेलहरूको याद आएको छ।” नारी स्वरले मेरो जिज्ञासा शान्त पारिदियो, “त्योमध्ये एक पक्का पनि मेरो बुवा हुनुपर्छ।”

त्यो निशा धौभडेलसँगको परिचय थियो। निशा, उहाँकी माइली छोरी हुन् जो जमेर क्याल्गरीमा बसोबास गरेकी छन्। र त्यही परिचयले आदरणीय धौभडेल सरसँगको पुरानो सम्बन्धलाई फेरि नवीकरण गरिदियो। त्यसपछि उनकै क्याल्गरी निवासमा धौभडेल सरसँग पुनः पुनः भेट हुन थाल्यो।

तदनन्तर करिब ८–१० वर्षअघिसम्म उहाँसँग भेट र कुराकानी भइरह्यो। पछिल्लो समय देखाभेट भए पनि कुराकानीका लागि उहाँको स्वास्थ्यले साथ दिन छाडेको थियो। यस्तैमा, नोभेम्बर ८, २०२५ का दिन साउथ क्याल्गरी मलमा अकस्मात् भएको देखादेखि नै हाम्रो अन्तिम भेट साबित भयो।

भेट हुँदा कुराकानीका अनेकौँ विषयहरू हुन्थे; आप्रवासनका, निवृत्त आदिका प्रमुख रहन्थे। तर हरेक कुराकानीपछि मैले केही न केही सिकेकै हुन्थेँ।

उहाँसँग भएको एउटा कुराकानी सम्झन्छु, जो आप्रवासनसँग सम्बन्धित थियो:

“उत्तरार्धमा परदेशिनु भनेको आफैँले आफूलाई दण्डित गर्नु हो भन्छन्, तपाईंलाई पनि त्यस्तै लाग्छ?”

सामान्यीकृत प्रश्नमा प्रतिवाद गर्दै आफ्नै परिप्रेक्ष्यमा फिट हुने गरी उहाँले तुरुन्त उत्तर दिनुभयो, “तपाईंको जीवनको उत्तरार्धको व्यवस्थापनको हकदार तपाईंका सन्तान हुन्छन्। उनीहरूले जे चाहन्छन् र जे सक्छन् त्यही गर्छन्, उनीहरूको इच्छाविपरीत जानु हुँदैन।”

धौभडेल सर औपचारिक रूपमा धेरैको कक्षाकोठामा पढाउने शिक्षक हुनुहुन्थ्यो; तर उहाँले लेखेका पुस्तक पढेर, उहाँका विचार र दृष्टिकोणबाट प्रभावित भएर, उहाँको व्यवहार र आचरणको अनुसरण गरेर ज्ञानको बाटो समातेका थुप्रै मानिसले उहाँलाई गुरुतुल्य ठान्दथे। त्यस्तैमध्ये एक म पनि हुँ।

उहाँका कुनै प्रत्यक्ष कक्षाबाट लाभ लिने अवसर मलाई मिलेन, न त मैले उहाँद्वारा लिखित कुनै पुस्तक पढेको सम्झना छ; तर उहाँको विज्ञानसम्मत विचार र दृष्टिकोण अनि आदरपूर्ण सद्भाव र समानतामूलक व्यवहारको म पनि प्रशंसक रहेँ र उहाँलाई ज्ञानगुरु ठानेँ। त्यसैले उहाँ मेरा लागि पनि गुरुसरह नै हुनुहुन्थ्यो।

धौभडेल सर नेपालको प्रगतिशील फाँटका कहिल्यै बिर्सन नसकिने प्रिय मान्छे हुनुहुन्थ्यो, एक कर्तव्यनिष्ठ र इमानदार व्यक्ति हुनुहुन्थ्यो। दासढुंगा घटनाको छानबिन आयोगमा सदस्य भएर होस्, नेपाल प्राध्यापक संघलाई सक्रिय बनाउने काममा होस्, त्रिभुवन विश्वविद्यालयको प्राध्यापकीय वा प्रशासकीय रूपमा होस्, अनुसन्धान संस्कृति विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि होस्— जहाँ पनि उहाँले आफ्नो समय र सामर्थ्यलाई नेपाली समाज र शिक्षाका निम्ति लगाउनुभयो। साथै उहाँको कूटनीतिक क्षमता र संवाद–कौशलका बारेमा पनि उहाँका विद्यार्थी र सहकर्मीहरूले आजपर्यन्त सम्झना गरिरहेका छन्।

हालको सिराहा बजार (तत्कालीन सप्तरी जिल्लाको मैसोथा प्रगन्ना) मा जन्मेर स्कुली शिक्षा सिराहा र भारतको जयनगरबाट र उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय, जवाहरलाल नेहरू विश्वविद्यालय, ओरेगन विश्वविद्यालयबाट प्राप्त गर्नुभएका हर्षनारायण धौभडेल सरले जीवनको ऊर्जाशील समय नेपालमै सेवा गर्दै त्यतै बिताए पनि जीवनको अन्तिम अध्याय पूरा गर्न भने सन्तानको आप्रवासनको डोरीले तानेर क्यानडा ल्याइपुर्‍याएको हो।

तर धौभडेल सर नेपालले कहिल्यै बिर्सन नहुने व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको निधन नेपाली बौद्धिक जगत्का लागि ठूलो क्षति हो।

आप्रवासनबारेको मेरो अर्को जिज्ञासामा धौभडेल सरले एउटा गहिरो आशयको जवाफ दिनुभएको मलाई अझै सम्झना छ, “भूगोल बदलिँदैमा मानिसको जरा समाप्त हुँदैन। बसोबास बदलिन्छ, नागरिकता पनि बदलिन सक्छ, तर स्मृति, संस्कार र सम्बन्धले मानिसलाई आफ्नो विगतसँग जोडिराख्छ। मान्छेको उन्नति–प्रगतिको मार्ग नै आप्रवासन हो।”

आफ्नो पारिवारिक पृष्ठभूमिमा बसाइँसराइको कथा रहेकोले होला त्यसप्रति एकदम सकारात्मक हुँदै भन्नुहुन्थ्यो, “भक्तपुरका पुर्खा रोजगारीका क्रममा सिराहा पुगेर घरजम गरे; आफैँ जागिरका क्रममा काठमाडौँ बसाइँ सर्नुपर्‍यो; अनि सन्तानले पनि आप्रवासन चाहेर क्यानडा, अमेरिका रोजे।”

सायद यही भएर होला उहाँले आप्रवासनको ऐनामा मान्छे, परिवार, मातृभूमि र बसोबासको अन्तरसम्बन्धको एउटा फराकिलो मानवीय तस्बिर देख्नुहुन्थ्यो।

आप्रवासन रोजेका कसैलाई जन्मभूमिको न्यास्रो लाग्छ भने “आफू बसोबास गरिरहेको स्थानमा जन्मदातालाई टेकाइदिए, त्यो भूमि पनि पितृ वा मातृभूमि बन्दछ” भन्ने आशयको सुझाव थियो उहाँको। त्यो सुनेपछि नै हो, म र मेरी धर्मपत्नीले पनि आ–आफ्ना जन्मदातालाई अल्बर्टाको भूमिमा टेकाउने योजना बनाएको। उहाँको त्यस कथनले मलाई यति प्रभावित गरेछ कि मैले यो प्रसङ्ग यसै वर्ष प्रकाशित मेरो पुस्तक “बालाई सम्झँदा” मा समेत समावेश गरेको छु।

अब उहाँ हामीबीच हुनुहुन्न, तर उहाँले छोडेका विचार, काम र मानवीय सम्बन्धहरू हामीबीच रहेका छन्। तिनले उहाँको सम्झना हामीलाई सधैँ गराइरहनेछन्।

अन्त्यमा, एक अग्रज, एक अभिभावक र एक गुरु— आदरणीय हर्षनारायण धौभडेल सरको अन्तिम बिदाइ (स्मृति) सभामा, उहाँको सम्झनामा केही कुरा राख्ने अवसर मलाई पनि दिएकोमा आयोजकहरूलाई हार्दिक आभार व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, श्रीमती शशी म्याडम, छोरीहरू, ज्वाइँहरू तथा नाति–नातिनाहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। अलविदा, धौभडेल सर।

(प्रा. धौभडेलको शोकसभामा डा. नारायण पोखरेलले अगस्ट २३, २०२६ क्याल्गरीमा व्यक्त गरेको मन्तव्य।)

तपाईंको प्रतिक्रिया