• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

न्यू ब्रन्सविकमा दशैं कप र सामुदायिक दशैं कार्यक्रम हुने

नेपालTouch
सोमबार असोज १९, २०८३ | Monday October 05,2026

फ्रेडरिक्टन। नेपाली कल्चरल एसोसिएसन अफ न्यू ब्रन्सविकले बडादशैंको अवसरमा आयोजना गर्न लागेको एटलान्टिक दशैं कप, सामुदायिक दशैं भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रमको तयारी जारी रहेको जनाएको छ।

दशैंको अवसरमा संस्थाले दुई छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दैछ। अक्टोबर १० मा एटलान्टिक दशैं कप र अक्टोबर १८ मा सामुदायिक दशैं भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रम हुनेछन्।

आयोजकका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य एटलान्टिक क्यानाडामा बसोबास गर्ने नेपाली समुदायलाई एकआपसमा जोड्नु, नयाँ पुस्तालाई नेपाली संस्कृति र समुदायसँग नजिक ल्याउनु तथा खेलकुद र सांस्कृतिक गतिविधिमार्फत आपसी सहकार्यलाई अझ बलियो बनाउनु हो।

अक्टोबर १० मा आयोजना हुने खेल कार्यक्रमका लागि यस क्षेत्रका नेपाली टोलीहरूले सहभागिता जनाउने सकारात्मक प्रतिक्रिया दिएका छन् भने छिमेकी नोभा स्कोसियाका टोलीलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ। प्रतियोगिताका लागि खेलमैदान बुकिङ, आवश्यक पूर्वाधार, विश्राम तथा अन्य आधारभूत सुविधाको व्यवस्था निश्चित भइसकेको छ। संस्थाका उपाध्यक्ष ज्वाला थापा मगरले प्रतियोगितासँग सम्बन्धित मुख्य व्यवस्थापकीय कामहरू पूरा भइसकेको र कार्यक्रम निर्धारित योजनाअनुसार अघि बढिरहेको जानकारी दिए।

त्यस्तै, स्वयंसेवक परिचालन, सहभागी टोली तथा खेलाडीहरूको स्वागत, आवश्यक सहयोग र समन्वयका लागि छुट्टै योजना तयार गरिएको छ। संघका सोसल मिडिया कोअर्डिनेटर दिपेन दुतराजका अनुसार स्वयंसेवक तथा सहभागी टोलीहरूको स्वागत, सहयोग, सूचना सम्प्रेषण र कार्यक्रमका गतिविधिलाई समुदायसम्म पुर्‍याउने कार्य भइरहेको छ।

प्रतियोगिताका लागि आवश्यक मेडल, ट्रफी तथा प्रमाणपत्रको तयारी पनि भइरहेको छ। कोषाध्यक्ष युवराज काफ्लेका अनुसार कार्यक्रमको बजेट तथा व्यवस्थापनसम्बन्धी काम योजनाअनुसार अघि बढिरहेको छ। विशेष अतिथिका रूपमा उप-मेयर रूथ ब्रिन सहभागी हुने निश्चित भइसकेको छ।

एनसिएएनबिका अध्यक्ष रेवती रिजालले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले दुवै कार्यक्रमका लागि उत्साहपूर्वक काम गरिरहेको बताउँदै मुख्य योजना तथा तयारीका कामहरू लगभग सम्पन्न भइसकेको जानकारी दिए।

उनले यी कार्यक्रमहरूले समुदायलाई जोड्ने, हाम्रो संस्कृति र पहिचानलाई जोगाउने तथा एटलान्टिक क्षेत्रमा नेपाली समुदायलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गरे। “परदेशमा पनि हाम्रो भाषा, संस्कृति, चाडपर्व र आपसी सम्बन्ध नै हाम्रो पहिचान हो,” उनले भने, “आउनुहोस् खेलकुद, भेटघाट, शुभकामना र नेपालीपनमार्फत यस वर्षको दशैंलाई अझ आत्मीय र सम्झनलायक बनाऔं।”

तपाईंको प्रतिक्रिया