• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

मिसिसागामा 'लन' मा गाडी पार्क गरे ३७५ डलरसम्म जरिवाना

नेपालTouch
आइतबार असोज १८, २०८३ | Sunday October 04,2026
प्रतीकात्मक तस्बिर

अन्टारियो। क्यानाडाको मिसिसागा सहरले आवासीय क्षेत्रका लन, बगैँचा तथा सवारी पार्किङका लागि प्रयोग नगरिएका हरियाली क्षेत्रमा गाडी पार्क गर्न रोक लगाएको छ।

नयाँ नियम उल्लंघन गरे सामान्य सवारीसाधनका लागि १५० क्यानाडाली डलर र भारी तथा मनोरञ्जनात्मक सवारीसाधनका लागि ३७५ डलरसम्म जरिवाना हुनेछ।

मिसिसागा नगर परिषद्ले सेप्टेम्बर २९ मा नयाँ उपनियम पारित गरेको हो। सोही दिनदेखि नयाँ नियम र प्रशासनिक जरिवानासम्बन्धी व्यवस्था लागू भएको नगरपालिकाले जनाएको छ। सुरुमा नियमबारे जानकारी गराउने र सचेतना फैलाउने काममा जोड दिइने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा लगिने नगरपालिकाले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार आवासीय लन, बगैँचा तथा सवारीसाधनका लागि बनाइएका होइनन् भन्ने अन्य हरियाली क्षेत्रमा गाडी पार्क गर्न, रोक्न वा उभ्याउन पाइने छैन। त्यस्ता क्षेत्रमा पार्किङसम्बन्धी उजुरी आए पार्किङ कार्यान्वयन अधिकारीले छानबिन गरी प्रशासनिक जरिवाना गर्न सक्नेछन्।

जरिवाना गाडीको दर्ता भएका धनीका नाममा जारी हुनेछ। यसअघि यस्ता पार्किङसम्बन्धी विषयलाई क्षेत्र निर्धारणसम्बन्धी उपनियमअन्तर्गत कारबाही गर्नुपर्ने भएकाले अदालतसम्म पुग्नुपर्ने अवस्था आउन सक्थ्यो। नयाँ व्यवस्थाले प्रक्रिया सहज र छिटो बनाउने नगरपालिकाको भनाइ छ।

नगरपालिकाका अनुसार सन् २०२३ को जनवरीदेखि २०२६ को अगस्टसम्म लनमा गाडी पार्क गरिएको विषयमा १ हजार ५०० भन्दा बढी उजुरी प्राप्त भएका छन्। बढ्दो उजुरीका कारण यसलाई प्रभावकारी र एकरूप रूपमा नियमन गर्न नयाँ व्यवस्था आवश्यक परेको नगरपालिकाले जनाएको छ।

लन तथा अन्य हरियाली क्षेत्रमा गाडी पार्क गर्दा माटो खुम्चिन सक्ने, हरियाली क्षेत्र घट्न सक्ने र वर्षाको पानी बग्ने क्रम बढ्न सक्ने नगरपालिकाको भनाइ छ। त्यस्तै, गाडीले सडकको किनारा, पैदलमार्ग तथा अन्य सार्वजनिक पूर्वाधारमा क्षति पुर्‍याउन सक्ने र पैदलयात्रुको आवागमनमा समेत अवरोध हुन सक्ने जनाइएको छ।

मिसिसागामा नयाँ नियम लागू भएसँगै घरको अगाडि पर्याप्त पार्किङ ठाउँ नभएका वा एकभन्दा बढी सवारीसाधन भएका घरधनीले आफ्नो 'लन' तथा अन्य हरियाली क्षेत्रलाई पार्किङका रूपमा प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने भएको छ।

घर आफ्नै भए पनि सवारीसाधनका लागि तोकिएको क्षेत्रबाहेक अन्य भागमा पार्क गर्न स्थानीय उपनियमले रोक लगाउन सक्ने भएकाले नगरपालिकाले तोकेका नियम पालना गर्नुपर्नेछ।

नगरपालिकाले लन पार्किङसम्बन्धी उजुरीको व्यवस्थापनका लागि प्रशासनिक जरिवाना प्रणाली प्रयोग गर्ने जनाएको छ। यसबाट सामान्य पार्किङ उल्लंघनका विषय अदालतको प्रक्रियामा नलगी नगरस्तरमै छिटो टुंग्याउन सकिने अपेक्षा गरिएको छ।

मिसिसागामा लागू भएको नयाँ नियम आवासीय क्षेत्रमा पार्किङ व्यवस्थापनलाई कडाइ गर्ने पछिल्लो कदम हो। यसअघि पनि नगरपालिकाले विभिन्न पार्किङ उल्लंघनमा जरिवाना बढाउँदै आएको थियो। सन् २०२५ को अप्रिलदेखि ७६ प्रकारका पार्किङ उल्लंघनमा जरिवाना बढाइएको थियो।

तपाईंको प्रतिक्रिया