• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

टोरन्टो अवार्ड समारोहबारे प्रश्न उठेपछि आयोजकको स्पष्टीकरण

नेपालTouch
बुधबार असोज १४, २०८३ | Wednesday September 30,2026
-नेपाल टच ग्राफिक्स

टोरन्टो । नेपालको सिजन मिडिया प्रा.लि.ले आगामी अक्टोबर २५ मा टोरन्टोमा आयोजना गर्न लागेको ‘प्रोफेसनल एचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ का सम्बन्धमा ‘नेपाल टच’मा प्रकाशित खोजमूलक समाचारप्रति आयोजकले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण पठाएको छ। संस्थाका अध्यक्ष प्रदीपराज वन्तद्वारा प्रेषित खण्डन पत्रमा समाचारले आफ्नो व्यावसायिक प्रतिष्ठामा असर पुर्‍याएको दाबी गर्दै संस्थाको बचाउ गरिएको छ।

स्पष्टीकरणमा आयोजकले १८ वर्षदेखि नेपालमा कार्यक्रम गर्दै आएको अनुभवको आधारमा क्यानाडामा रहेका नेपाली तथा एसियाली समुदायका सफल व्यक्तिहरूसँग भाइचारा, व्यावसायिक सम्बन्ध र ज्ञान आदानप्रदानका लागि कार्यक्रम आयोजना गर्न लागिएको दाबी गरेको छ।

समाचारमा उठाइएको आर्थिक पारदर्शिता र ‘अवार्ड व्यापार’को आशयप्रति असहमति जनाउँदै उसले कुनै पनि व्यक्तिलाई रकम तिरेर अवार्ड लिन दबाब वा बाध्यकारी प्रस्ताव नगरिएको जनाएको छ। कार्यक्रम सञ्चालनका लागि प्रायोजन (स्पोन्सरसिप) माग्नु सामान्य व्यावसायिक अभ्यास भएको र त्यसलाई अवार्ड खरिदसँग जोड्न नहुने तर्क उसले अघि सारेको छ।

त्यस्तै, आयोजकले क्यानाडामा नेपाली समुदायका व्यवसायी तथा सामाजिक अगुवाहरूसँग सम्पर्क गरी सहयोग माग्नु स्वाभाविक भएको बताएको छ। प्रायोजक र अवार्ड छनोट प्रक्रियालाई पूर्ण रूपमा फरक राखिने दाबी गर्दै उसले जुरी तथा छनोट प्रक्रिया अन्तिम चरणमा पुगिनसकेकाले त्यसैका आधारमा विश्वसनीयतामाथि प्रश्न उठाउनु पूर्वाग्रह हुने उल्लेख गरेको छ।

नेपालमा दर्ता भएको संस्थाले विदेशमा कार्यक्रम गर्नु अस्वाभाविक नभएको भन्दै मानव ओसारपसार वा गैरकानुनी गतिविधिसँग संस्थाको कुनै सम्बन्ध नरहेको र समाचार प्रकाशनअघि आफ्नो आधिकारिक धारणा नलिइएको भन्दै उसले असन्तुष्टि व्यक्त गरेको छ।

समाचारमा तथ्यगत रूपमा गलत वा भ्रम सिर्जना गर्ने सामग्री भए सच्याउन, गम्भीर दाबीका प्रमाण सार्वजनिक गर्न तथा आफ्नो आधिकारिक धारणा प्रकाशित गर्न सिजन मिडियाले माग गरेको छ। भविष्यमा आफ्नो संस्था वा कार्यक्रमबारे समाचार प्रकाशित गर्दा आधिकारिक धारणा लिएर सन्तुलित पत्रकारिता गर्न पनि आग्रह गरेको छ।

आयोजकले लामो स्पष्टीकरण पठाए पनि ‘नेपाल टच’ले उठाएका मूलभूत र तथ्यगत प्रश्नहरूको स्पष्ट उत्तर भने दिन सकेको छैन।

क्यानाडाका स्थानीय संस्था र नेतृत्वलाई बेवास्ता गर्दै १५ हजार किलोमिटर टाढाको नेपालस्थित कम्पनीले कुन अधिकार र तराजुले यहाँका नेपालीको योगदान नाप्ने भन्ने औचित्यको प्रश्न अझै अनुत्तरित नै छ।

३० भन्दा बढी विधामा बाँडिने ट्रफीको औचित्य, निष्पक्ष जुरीको नाम र नामावली, बजेट प्रस्तावमा उल्लेखित ५ हजार डलर यात्रा र २ हजार डलर होटल खर्च कसका लागि हो भन्ने विवरण, तथा स्पोन्सर र अवार्ड पाउने व्यक्तिबीचको स्वार्थको द्वन्द्व कसरी रोकिन्छ भन्ने ठोस ढाँचा स्पष्टीकरणमा समेटिएको छैन।

क्यानाडामा नेपाली समुदायको विश्वसनीयता, सम्मानको गरिमा र आर्थिक पारदर्शिता जस्ता सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउनु सञ्चारमाध्यमको दायित्व हो। आयोजकले संस्थाको बचाउमा आफ्ना तर्क राखे पनि ‘नेपाल टच’ले अवार्डको पारदर्शिता, जुरीको निष्पक्षता र कार्यक्रमको वास्तविक औचित्यमाथि उठाएका तथ्यगत प्रश्नहरू जहाँको तहीं कायम छन्।

आयोजकले अवार्ड वितरण समारोहमा भरतराज पौड्याललाई प्रमुख अतिथि र एनआरएनए क्यानाडाका अध्यक्षलाई विशेष अतिथि भनेर लिखित रूपमै घोषणा गरेका थिए। तर, उहाँहरू दुवैले आफ्नो अनुमति र स्वीकृतिविना नै नाम राखिएको स्पष्ट पारिसकेका छन्।

तपाईंको प्रतिक्रिया