• बुधबार, २१ असोज, २०८३
  • Wednesday, 07 October, 2026
  • X

टोरन्टोमा अर्को अवार्ड कार्यक्रम: औचित्यमाथि प्रश्नै प्रश्न

नेपालTouch
मंगलबार असोज १३, २०८३ | Tuesday September 29,2026

क्यानाडामा नेपाली समुदाय बढ्दै छ। समुदायका मानिसहरूले व्यवसाय, शिक्षा, स्वास्थ्य, प्रविधि, सञ्चार, सामाजिक सेवा, कला, रियल इस्टेटलगायत अनेक क्षेत्रमा काम गरिरहेका छन्। कसैले वर्षौंको मेहनतले आफ्नो ठाउँ बनाएका छन्, कसैले अरूलाई रोजगारी दिएका छन्, कसैले समुदायलाई सेवा गरेका छन्।

त्यसैले उपलब्धिलाई सम्मान गर्ने कार्यक्रम हुनु आफैंमा नराम्रो कुरा होइन। तर सम्मानको नाममा कार्यक्रम आयोजना गर्नु र सम्मान पाउन योग्य व्यक्तिको उपलब्धि निष्पक्ष रूपमा पहिचान गर्नु एउटै कुरा होइन।

नेपालको 'सिजन मिडिया प्राइभेट लिमिटेड'ले २५ अक्टोबर २०२६ मा टोरन्टोमा आयोजना गर्ने भनिएको 'प्रोफेसनल एचिभमेन्ट अवार्ड क्यानाडा २०२६' को प्रस्ताव हेर्दा यही प्रश्न उठ्छ। प्रस्तावमा कार्यक्रमलाई 'इन्टरनेसनल रिकग्निसन प्लेटफर्म', 'प्रेस्टिजियस' र 'क्यानाडामा योगदान गरेका नेपाली तथा एसियाली पेशाकर्मीलाई सम्मान गर्ने' कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ।

तर ठूलो शब्द लेख्दैमा ठूलो औचित्य बन्दैन। प्रस्तावमा धेरै कुरा छन्। तर केही आधारभूत प्रश्नको उत्तर भने अझै धुमिल देखिन्छ। आयोजकले टोरन्टो क्षेत्रका क्यानेडियन नेपाली अगुवा जसले व्यापार गरिरहेका छन्, उनीहरुलाई मुख्य निशाना बनाई अवार्डबारे प्रस्ताव पठाएर तारन्तार सम्पर्क गर्ने प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ। त्यसरी प्रस्ताव पाएका थुप्रै सामाजिक अगुवा तथा व्यवसायीले 'यो अवार्ड कार्यक्रम कसले, के उद्देश्यले, किन आयोजना गरिरहेको छ?' भन्दै चासो राख्नेक्रम नरोकिएपछि 'नेपाल टच'ले यसबारे खोजबिन गरेको छ।

 

१. जुरी कहाँ छ?

अवार्डको सबैभन्दा महत्वपूर्ण कुरा अवार्डको नाम होइन, अवार्ड दिने मानिस को हुन् भन्ने हो। प्रस्तावमा “इन्डिपेन्डेन्ट रिभ्यु प्रोसेस” र “अवार्ड सेलेक्सन कमिटी” मार्फत विजेता छनोट हुने भनिएको छ। तर जुरी वा सेलेक्सन कमिटीका सदस्यहरूको नाम, उनीहरूको योग्यता, क्यानाडासँगको सम्बन्ध वा उनीहरू कसरी स्वतन्त्र छन् भन्ने जानकारी सार्वजनिक गरिएको देखिँदैन। अवार्डको फैसला गर्ने मानिस नै परिचित छैनन् भने अवार्डको विश्वसनीयता कसरी जाँच्ने? अँध्यारो कोठामा बसेर कसैले सुनको पदक बनाइदियो भन्दैमा त्यो सुन नै हो भनेर विश्वास गर्नुपर्ने अवस्था त हुनु भएन।

२. योगदानको मापन कसरी?

प्रस्तावले प्रोफेसनल एचिभमेन्ट, कम्युनिटी कन्ट्रीब्युसन, प्रोफेसनल रेपुटेसन, सोसल मिडिया प्रेजेन्स, मिडिया रिकग्निसन, पब्लिक फिडब्याकलगायत धेरै मापदण्ड राखेको छ। तर प्रश्न अझै बाँकी छ। क्यानाडाको नेपाली समुदायमा कसले कति योगदान गर्‍यो भन्ने कुरा कसरी मापन गरिन्छ? उदाहरणका लागि, कुनै व्यक्तिले १५ वर्षदेखि समुदायका लागि निःशुल्क काम गरिरहेको छ भने त्यसको मूल्याङ्कन कसरी हुन्छ? व्यवसायमा करोडौं कारोबार गर्ने व्यक्ति र स्वयंसेवामा वर्षौं बिताउने व्यक्तिको योगदान एउटै तराजुमा कसरी तौलिन्छ? मापदण्ड लेख्नु र मापदण्ड लागू गर्ने स्पष्ट प्रक्रिया हुनु फरक कुरा हो।

३. सोसल मिडिया पनि?

प्रस्तावमा “पब्लिक एन्ड सोसल मिडिया प्रेजेन्स” लाई मूल्याङ्कनको आधार बनाइएको छ। यो आफैंमा प्रश्नयोग्य कुरा हो। कसैका फेसबुक फलोअर धेरै हुनु र समाजमा उसको वास्तविक योगदान धेरै हुनु एउटै कुरा होइन। सामाजिक सञ्जालमा देखिने व्यक्ति र समाजमा काम गर्ने व्यक्ति सधैं एउटै हुँदैनन्। यदि सामाजिक सञ्जालको पहुँचलाई योगदानको प्रमाण मानिन्छ भने भाइरल हुनु र मूल्यवान हुनुबीचको सीमा कहाँ खिचिन्छ? आजकल लाइक र फलोअरले मान्छेको लोकप्रियता देखाउन सक्छ, तर त्यो सामाजिक योगदानको गहिराइ नाप्ने मिटर होइन।

४. तीसभन्दा बढी विधा?

प्रस्तावमा व्यवसाय, बैंकिङ, इन्स्योरेन्स, आईटी, स्वास्थ्य, शिक्षा, रियल इस्टेट, म्यानुफ्याक्चरिङ, रिटेल, पर्यटन, पत्रकारिता, फोटोग्राफी, फिल्म, कला, फेसन, समुदाय सेवा, सांस्कृतिक नेतृत्व, अन्तर्राष्ट्रिय योगदानदेखि लाइफटाइम एचिभमेन्ट र इमर्जिङ प्रोफेसनलसम्म अनेक विधा छन्। यति धेरै विधा राख्दा एउटा प्रश्न उठ्छ: अवार्ड दुर्लभ सम्मान हो कि कार्यक्रमको मुख्य आकर्षण नै धेरैभन्दा धेरै ट्रफी वितरण गर्नु हो? विधा धेरै हुँदैमा उपलब्धिको मूल्य बढ्दैन। बरु अत्यधिक विधाले “सम्मान” शब्दलाई नै हल्का बनाउन सक्छ। यदि कार्यक्रममा सहभागी हुने धेरै मानिसलाई कुनै न कुनै अवार्ड दिने हो भने त्यो अवार्डभन्दा पनि सम्मान समारोहको टिकटजस्तो देखिन सक्ने जोखिम हुन्छ।

५. औचित्य के हो?

नेपालबाट क्यानाडा आएर नेपालीलाई सम्मान गर्नुपर्ने औचित्य के हो, यो सबैभन्दा ठूलो प्रश्न हो। 'सिजन मिडिया' नेपालको कम्पनी हो। प्रस्तावमै यसको कार्यालय काठमाडौंमा रहेको र कार्यक्रम नेपालबाट आयोजना गरिएको उल्लेख छ। क्यानाडामा रहेका नेपालीलाई सम्मान गर्न नेपालमा रहेको एउटा मिडिया तथा इभेन्ट कम्पनीले कार्यक्रम गर्नु आफैंमा गैरकानुनी वा गलत कुरा होइन। तर त्यसको विशेष औचित्य के हो? क्यानाडामा नेपाली समुदायका आफ्नै संस्था छन्। पेशागत संगठन छन्। सामुदायिक नेतृत्व छ। विश्वविद्यालय, व्यवसायिक संस्था, गैरनाफामूलक संस्था र स्थानीय मिडिया छन्। त्यस अवस्थामा १५ हजार किलोमिटर टाढा रहेको एउटा नेपाली कम्पनीले आएर क्यानाडामा बसेका नेपालीको उपलब्धिको मूल्याङ्कन गर्ने जिम्मेवारी किन लिनुपर्‍यो? यसको स्पष्ट उत्तर प्रस्तावमा देखिँदैन।

६. उद्देश्य अर्कै हो कि?

प्रस्तावमा अवार्डसँगै “प्रोफेसनल नेटवर्किङ”, “बिजनेस कनेक्सन”, “इन्टरनेसनल कोल्याबोरेसन”, “ब्रान्ड भिजिबिलिटी” र “न्यू अपर्च्युनिटीज” जस्ता शब्दहरू बारम्बार प्रयोग भएका छन्। त्यसैले अर्को प्रश्न उठ्छ: यो उपलब्धि सम्मान गर्ने कार्यक्रम हो कि व्यवसायिक नेटवर्किङ र प्रचारको कार्यक्रम पनि हो? दुवै उद्देश्य हुन सक्छन्। त्यसमा समस्या छैन। तर उद्देश्य स्पष्ट हुनुपर्छ। यदि मुख्य उद्देश्य क्यानाडामा योगदान गरेका व्यक्तिलाई सम्मान गर्नु हो भने छनोट प्रक्रिया केन्द्रमा हुनुपर्छ। यदि मुख्य उद्देश्य नेटवर्किङ र व्यवसायिक सम्बन्ध हो भने त्यसलाई त्यसै रूपमा स्पष्ट रूपमा प्रस्तुत गर्नु बढी इमानदार हुन्छ। एउटै कार्यक्रमले सबै कुरा गर्ने प्रयास गर्दा कहिलेकाहीँ अवार्डभन्दा ब्याकड्रप ठूलो र उपलब्धिभन्दा फोटो धेरै हुन सक्छ।

७. पैसा कहाँ खर्च हुन्छ?

प्रस्तावको वित्तीय विवरणमा कार्यक्रमको अनुमानित कुल खर्च क्यानेडियन डलर १७ हजार १०० देखाइएको छ। त्यसमा:

  • भेन्यु/डिनर: ३,००० डलर

  • स्टेज, अडियो, भिडियो, लाइटिङ: १,००० डलर

  • ट्राभल: ५,००० डलर

  • होटल एकोमोडेसन: २,००० डलर

  • ट्रफी एन्ड टोकन अफ लभ: २,००० डलर

  • म्यागजिन प्रिन्टिङ: १,५०० डलर

  • फोटोग्राफी/भिडियो: ५०० डलर

  • पब्लिसिटी/सोसल मिडिया: ५०० डलर

अन्य खर्चहरू पनि छन्। यहाँ सबैभन्दा चासो लाग्ने दुई शीर्षक हुन् ट्राभल ५ हजार डलर र होटल २ हजार डलर। कसको यात्रा? कसको होटल? कति जना? कहाँबाट? कति दिन? प्रस्तावमा यसको विस्तृत विवरण छैन। अवार्ड कार्यक्रमको खर्च हुनु स्वाभाविक हो। तर जब समुदायको उपलब्धिलाई सम्मान गर्ने नाममा पैसा उठाइन्छ भने खर्चको संरचना पनि पारदर्शी हुनुपर्छ।

८. अवार्डको सम्बन्ध के?

प्रस्तावमा डाइमन्ड स्पोन्सर ५ डहार, गोल्ड ३ हजार, सिल्भर १ हजार डलर र सपोर्टर ५ सय डलरका प्याकेज छन्। बदलामा लोगो, विज्ञापन, सामाजिक सञ्जाल प्रचार, स्टेज ब्रान्डिङ, मिडिया एक्सपोजर र नेटवर्किङ अवसरलगायत सुविधा दिने भनिएको छ। व्यावसायिक कार्यक्रमका लागि यस्तो स्पोन्सर मोडल असामान्य होइन। तर यहाँ प्रश्न फरक छ। स्पोन्सर, आयोजक र अवार्ड पाउने व्यक्तिबीच कुनै सम्भावित स्वार्थको द्वन्द्व भए त्यसलाई कसरी व्यवस्थापन गरिन्छ? स्पोन्सरले कार्यक्रमलाई पैसा दिन्छ। आयोजकले अवार्ड दिन्छ। आयोजककै मिडियाले प्रचार गर्छ। त्यसैले सेलेक्सन कमिटी स्वतन्त्र छ भन्ने कुरा केवल एउटा वाक्यमा लेखेर पुग्दैन। त्यसको संरचना र प्रक्रिया पनि देखाउनुपर्छ।

९. वास्तविक लाभ के?

प्रस्तावमा “क्यानाडा, नेपाल एन्ड एसिया” बीच सम्बन्ध बलियो बनाउने, ज्ञान आदानप्रदान गर्ने, अन्तर्राष्ट्रिय सहकार्य बढाउने र नयाँ पुस्तालाई प्रेरित गर्ने जस्ता उद्देश्य छन्। सुन्दा सबै राम्रा कुरा हुन्। तर कार्यक्रमपछि के? क्यानाडामा रहेका नेपाली युवाका लागि कुनै मेन्टरशिप कार्यक्रम हुन्छ? व्यवसायीबीच वास्तविक सहकार्य हुन्छ? समुदायका कुनै सामाजिक परियोजनामा लगानी हुन्छ? नयाँ आप्रवासीलाई रोजगारी वा पेशागत अवसरसँग जोडिन्छ? कुनै स्कलरशिप वा कम्युनिटी फन्ड स्थापना हुन्छ? यस्ता ठोस परिणाम प्रस्तावमा देखिँदैनन्। यदि कार्यक्रमको उपलब्धि एक साँझ, डिनर, स्टेज, ट्रफी र फोटोमै सकिन्छ भने यसलाई “कम्युनिटी इम्प्याक्ट” को ठूलो परियोजना भन्न कठिन हुन्छ।

१०. आवश्यक नै किन?

सबैभन्दा ठूलो प्रश्न यही हो। क्यानाडामा बसेका नेपालीले आफ्नै समुदाय, पेशा र समाजमा योगदान गरिरहेका छन्। उनीहरूको उपलब्धि सम्मान गर्न सकिन्छ। गर्नुपर्छ पनि। तर सम्मानको अर्थ तब हुन्छ जब त्यसको प्रक्रिया विश्वसनीय हुन्छ। कसले नाम सिफारिस गर्छ? कसले जाँच्छ? कसले अन्तिम निर्णय गर्छ? जुरी को हो? मापदण्ड कसरी लागू हुन्छ? हितको द्वन्द्व कसरी रोकिन्छ? कति जनालाई अवार्ड दिइन्छ? अवार्ड पाउने व्यक्तिको उपलब्धि सार्वजनिक रूपमा कसरी प्रमाणित हुन्छ? आयोजकले कार्यक्रमबाट कति आम्दानी गर्छ? खर्चपछि बाँकी रकम कहाँ जान्छ? यी प्रश्नको स्पष्ट उत्तर नदिई “प्रेस्टिजियस इन्टरनेसनल रिकग्निसन” भन्दै ट्रफी वितरण गर्नु भनेको प्रमाणभन्दा विशेषण धेरै भएको सम्मान बन्न सक्छ।

क्यानाडामा नेपाली समुदायका सफल व्यक्तिलाई सम्मान गर्नुपर्छ। तर सम्मानको मूल्य ट्रफीको आकार, स्टेजको चमक वा कार्यक्रममा आएका पाहुनाको संख्याले निर्धारण गर्दैन। सम्मानको मूल्य छनोट प्रक्रियाको निष्पक्षता, मूल्याङ्कनको पारदर्शिता र सम्मानित व्यक्तिको वास्तविक योगदानले निर्धारण गर्छ।

'सिजन मिडिया'ले क्यानाडामा कार्यक्रम गर्नै हुँदैन भन्ने होइन। नेपालबाट आएको संस्थाले क्यानाडामा कार्यक्रम गर्नै नहुने पनि होइन। तर क्यानाडाली नेपालीको उपलब्धिलाई मूल्याङ्कन गर्ने हो भने क्यानाडामै रहेका स्वतन्त्र पेशागत व्यक्ति, समुदायका प्रतिनिधि र सम्बन्धित क्षेत्रका विज्ञलाई समेटेर स्पष्ट र सार्वजनिक छनोट प्रक्रिया बनाउन सकिन्छ। त्यसपछि अवार्डको अर्थ पनि हुन्छ। नत्र एउटा साँझ टोपी लगाइन्छ, स्टेजमा नाम बोलाइन्छ, ट्रफी दिइन्छ, फोटो खिचिन्छ, फेसबुकमा हालिन्छ र अर्को दिन सबै आ–आफ्नो काममा फर्किन्छन्। त्यो समारोह त हुन सक्छ, तर सम्मानको इतिहास बन्दैन।

क्यानाडामा नेपाली समुदाय अब यति सानो र अनभिज्ञ छैन कि स्टेजको चमक देखाएर मात्र उपलब्धिको मूल्य बुझाउन सकियोस्। अब प्रश्न ट्रफी कसले पायो भन्नेभन्दा ठूलो छ: ट्रफी दिने अधिकार कसले पायो, त्यो अधिकारको आधार के हो, र क्यानाडामा रहेका नेपालीको उपलब्धि नाप्ने विश्वसनीय तराजु आयोजकसँग छ कि छैन? यही प्रश्नको जवाफ नआएसम्म 'प्रोफेसनल एचिभमेन्ट अवार्ड क्यानाडा २०२६' को भव्य नामभन्दा यसको औचित्य र विश्वसनीयता माथि प्रश्न उठिरहन्छ।

'सिजन मिडिया'का चियरम्यान, इभेन्ट डाइरेक्टर, कोअर्डिनेटर लगायत आयोजक टोली र क्यानाडा सम्पर्कका लागि नाम दिइएको छ। अक्टोवर २५ मा जर्जटाउनस्थित 'तन्दुरी टिक्का लाउन्ज'मा हुने भनिएको अवार्ड वितरण कार्यक्रमको प्रमुख अतिथिमा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालको नाम छ। स्पेशल अतिथिमा एनआरएनए क्यानाडाका अध्यक्ष लेखिएको छ। 

तपाईंको प्रतिक्रिया