ब्राम्पटन सिटी काउन्सिल उम्मेदवार गीतालाई नौ प्रश्न
नेपालTouch
गीता दवाडी ढकालले ब्राम्पटन नगरको वार्ड ३ र ४ बाट सिटी काउन्सिलर पदमा उम्मेदवारी दिएकी छन्। सिटी काउन्सिलर पदमा उम्मेदवार बन्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन्। क्यानाडामा 'नेपाली मूलका नेपाली महिला चौतारी'की संस्थापक अध्यक्ष र एनआरएन-क्यानाडाकी पूर्व महिला उपाध्यक्ष उनले शिक्षाशास्त्रमा स्नातक तथा बालविकास र रियल स्टेट विषयको अध्ययन र अभ्यास पनि गर्दै आएकी छन्। उनी पील प्रहरीकी कम्युनिटी एम्बेसडर पनि हुन्।
उनका मुख्य प्राथमिक एजेण्डाहरूमा पारदर्शी बजेट, करदाताको पैसाको सदुपयोग, सुरक्षित सडक, सवारी गति नियन्त्रण, गुणस्तरीय पार्क, युवा नेतृत्व र बहुसांस्कृतिक एकता पर्छन्। उनले “सुन्ने, सरोकार राख्ने र परिणाम दिने” आफ्नो कार्यशैली रहने बताउँदै ब्राम्पटनका सबै समुदायको समान र जवाफदेही प्रतिनिधित्वका लागि प्रतिबद्ध रहेको बताइन्।
उनले काउन्सिलरले एक्लै सबै निर्णय गर्न नसक्ने बताउँदै स्थानीय सडक, सार्वजनिक यातायात, पार्क तथा मनोरञ्जन स्थलहरू, कानुन पालना वा कार्यान्वयन, नगर योजना र करजस्ता विषय नगरको जिम्मेवारीमा पर्ने बताइन्। साथै, काउन्सिलरले नगर सभामा प्रस्ताव, बजेट, नीति र निर्णय प्रक्रियामार्फत काम गर्ने र आफू त्यसको एउटा हिस्सा बन्ने उल्लेख गरिन्। अक्टोबर २४ मा हुने निर्वाचनका सन्दर्भमा 'नेपाल टच'ले राखेका जिज्ञासामा उनले दिएको उत्तरको सम्पादित अंश:
१. अनधिकृत रूपमा घर भाडामा लगाउँदा भाडावालहरूको सुरक्षा सुनिश्चित गर्दै 'रेसिडेन्सियल रेन्टल लाइसेन्स' नीतिलाई कसरी प्रभावकारी र न्यायसंगत रूपमा कार्यान्वयन गर्नुहुन्छ?
उत्तरः पहिले घरधनी र भाडावालासँग प्रत्यक्ष परामर्श गर्छु। त्यसपछि कार्यक्रमको प्रभाव र तथ्याङ्क समीक्षा गरी अनावश्यक प्रशासनिक बोझ हटाउने तथा सुरक्षा मापदण्ड कडाइका साथ कायम राख्ने सुधार नगर सभामा प्रस्ताव गर्छु। मेरो उद्देश्य घरधनी र भाडावाला दुवैलाई न्याय हुने सन्तुलित नीति बनाउनु हो।
अहिले ब्राम्पटनमा १ देखि ४ एकाइहरू (rental units) भएका घरजग्गाहरूका लागि आवासीय भाडा इजाजतपत्र (आरआरएल) आवश्यक छ र इजाजतपत्र आवेदन वा नवीकरण निःशुल्क छ।

२. यी वार्डहरूमा बढ्दो सवारी दुर्घटना, तीव्र गति, अवैध पार्किङ, फोहोरमैला र अपराध/चोरी रोक्नका लागि तपाईंसँग कस्ता योजना छन्?
उत्तरः पहिले समस्या बढी भएका स्थान पहिचान गर्छु। सवारी गति नियन्त्रण, सामुदायिक सुरक्षा क्षेत्र (कम्युनिटी सेफ्टी जोन्स), दोबाटो वा चौबाटो सुधार र आवश्यक कार्यान्वयनका लागि सम्बन्धित नगर विभाग तथा पील प्रहरीसँग समन्वय गर्छु। तथ्यका आधारमा समाधान अघि बढाउँछु र त्यसको परिणामका बारेमा नियमित समीक्षा गर्छु। ब्राम्पटनले अहिले शून्य दुर्घटना अभियान (भिजन जिरो) अन्तर्गत सवारी गति नियन्त्रण, प्रविधि, पूर्वाधार र शिक्षाको प्रयोग पनि गरिरहेको छ।
३. घर-जग्गा करको भार नियन्त्रण गर्दै करदाताको रकमको सही र पारदर्शी उपयोग गर्नका लागि तपाईंको प्राथमिकता के हुनेछ?
उत्तरः हरेक बजेट प्रस्तावलाई आवश्यकता, लागत र परिणामका आधारमा जाँच गर्छु। अनावश्यक खर्च घटाउन प्रश्न उठाउँछु, आवश्यक सेवामा बजेट प्राथमिकता दिन्छु र करदाताको पैसा कहाँ खर्च भयो भन्ने जानकारी जनतासामु पारदर्शी रूपमा ल्याउँछु।
ब्राम्पटनको २०२६ को बजेटले अफोर्डाबिलिटी र वित्तीय जिम्मेवारीलाई प्राथमिकता दिँदै नगरको सम्पत्ति कर हिस्सामा कर वृद्धि नगरेको र अस्पतालका लागि छुट्टै १% शुल्क भने लगाइएको छ।
४. यस क्षेत्रका पार्क, सार्वजनिक यातायात, सडक पूर्वाधार र मनोरञ्जन स्थलहरूको स्तरोन्नतिका लागि आवश्यक बजेट कसरी ल्याउनुहुन्छ?
उत्तरः पहिले वार्ड ३ र ४ का आवश्यकताहरू तथ्य र जनपरामर्शका आधारमा प्राथमिकतामा राख्छु। त्यसपछि कर्मचारीबाट लागत र सम्भाव्यता प्रतिवेदन मागेर पुँजीगत बजेटमा प्रस्ताव अघि बढाउँछु। नगर सभामा समर्थन जुटाएर स्वीकृत परियोजनाको समय, खर्च र प्रगति निरन्तर अनुगमन गर्छु।
५. सिटी हलमा आफ्ना एजेण्डा लागू गराउन, अन्य काउन्सिलरहरूसँग सहकार्य गर्न र नगरका कर्मचारीहरूसँग प्रभावकारी रूपमा काम गर्न तपाईंसँग कस्तो क्षमता वा अनुभव छ?
उत्तरः मेरो तरिका टकरावको होइन, सहकार्यको हो। तथ्य, स्पष्ट योजना र जनहितका आधारमा अन्य काउन्सिलरहरूसँग समझदारी निर्माण गर्छु। नगर कर्मचारीको प्राविधिक विशेषज्ञता लिएर व्यावहारिक प्रस्ताव नगर सभामा ल्याउँछु र स्वीकृत निर्णय कार्यान्वयन भएको छ कि छैन अनुगमन गर्छु।

६. यी वार्डहरूमा बसोबास गर्ने विभिन्न जातीय, सांस्कृतिक र भाषिक समुदायका भिन्न-भिन्न समस्यालाई काउन्सिलसँग कसरी जोड्नुहुन्छ र प्रतिनिधित्व गर्नुहुन्छ?
उत्तरः म बहुसांस्कृतिक सामुदायिक बैठक र खुला संवाद नियमित आयोजना गर्छु। विभिन्न समुदायका प्रतिनिधि, महिला, युवा र ज्येष्ठ नागरिकहरूलाई एउटै टेबलमा ल्याएर उनीहरूको समस्या प्रत्यक्ष सुन्छु र आवश्यक विषय नगर सभासम्म पुर्याउँछु। मेरो प्रतिनिधित्व सबै समुदायका लागि समान हुनेछ।
७. निर्वाचित भइसकेपछि स्थानीय बासिन्दाका प्रश्न, गुनासा र समस्या सुन्न नियमित रूपमा तपाईं कसरी उपलब्ध हुनुहुनेछ र कामको पारदर्शिता कसरी कायम राख्नुहुन्छ?
उत्तरः म नियमित कार्यालय समय, सामुदायिक बैठकहरू र प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्छु। आएका समस्याको थप कारबाही वा अनुगमन गर्ने प्रणाली बनाउँछु र के काम भयो, के बाँकी छ र किन बाँकी छ भन्ने कुरा नियमित रूपमा सार्वजनिक गर्छु। यही मेरो जवाफदेहिता हुनेछ।
८. यी वार्डहरूमा नेपाली समुदायको पनि उल्लेख्य बसोबास छ। निर्वाचित हुनुभयो भने नेपाली क्यानेडियनका मुद्दाहरूलाई सम्बोधन हुने कस्ता कार्यक्रमहरू ल्याउनुहुन्छ?
उत्तरः नेपाली समुदायलाई केवल सांस्कृतिक कार्यक्रममा सीमित नराखी नागरिक सहभागिता, युवा नेतृत्व, व्यावसायिक अवसरहरू र नगर सेवाहरूसँग जोड्न पहल गर्छु। नयाँ पुस्तालाई नगरपालिकाका बोर्डहरू, स्वयंसेवा र सामुदायिक नेतृत्वमा सहभागी हुन प्रोत्साहित गर्छु। तर काउन्सिलरका रूपमा मेरो सेवा नेपाली समुदायसहित सबै ब्राम्पटनवासीका लागि समान हुनेछ।
९. जनताले तपाईंलाई किन भोट दिनुपर्छ?
उत्तरः म वाचा मात्रै गर्दिन। म पहिले कुरा सुन्छु, त्यसपछि तथ्य अध्ययन गर्छु, मुद्दा नगर सभामा ल्याउँछु, बजेट र समर्थन जुटाउँछु, अनि कार्यान्वयनमा लिएर जान्छु र त्यसको अनुगमन पनि गर्छु। नियमित रूपमा जनतालाई नतिजाका बारेमा बताउँछु। मेरो कार्यशैली हुनेछ— इमानदारी, पारदर्शिता र जवाफदेहिताका साथ सुन्ने, सरोकार राख्ने र परिणाम निकाल्ने।

सम्बन्धित खबर
.png)











.png)














तपाईंको प्रतिक्रिया