एभरेष्ट ग्रुपका अध्यक्ष मदन क्षेत्रीलाई १० पश्न
नेपालTouch
मदन (माइक) क्षेत्री क्यानाडामा परिचित नाम हो। क्यानाडाका नेपाली माझ पहिलो हुने धेरैवटा रेकर्ड उनका नाममा छन्। कन्भिनियन्स स्टोर सञ्चालक, रियल स्टेट एजेन्ट, रियल स्टेट ब्रोकरेज, औद्योगिक रूपमा मम उत्पादनमा उनी अगुवा हुन्। कन्भिनियन्स स्टोरबाट शुरू भएको उनको व्यापार यात्रा रियल स्टेट एजेन्ट, एभरेष्ट रियल्टी ब्रोकरेज हुँदै हाल एभरेष्ट ग्रुपको अध्यक्षका रूपमा विभिन्न व्यवसायलाई नेतृत्व दिइरहेका छन्। यस ग्रुप अन्तर्गत ब्रोकरेज, रेष्टुरेन्ट, व्याङ्केट हल, मोमो उत्पादन जस्ता विभिन्न व्यवसाय आवद्ध छन्। साथै, संस्थाले सामुहिक रूपमा जमिन लगानी गर्ने कुराको पनि नेतृत्व लिनुका साथै केही ठाउँमा स्ट्रिट प्लाजामा पनि लगानी गर्न थालेको छ।
यस ग्रुप अन्तर्गतको हाका खजाना रेष्टुरेन्टले हालै फेञ्चाइजी मोडलमा जाने घोषणा गरेको छ। हाल ४ वटा रेष्टुरेन्ट सञ्चालन भइरहेकोमा २०२५ मा ५० वटा फेञ्चाइजी बनाउने लक्ष्यका साथ काम भइरहेको छ। प्रस्तुत छ, यि र यस्तै विषयमा केन्द्रित रहेर केसीसँग नेपाल टचले गरेको कुरानाकीः
व्यापार-व्यावसायमै लाग्नु पर्छ भन्ने सोच कसरी पलायो?
म सन् १९९१ मा अमेरिका आएँ। त्यहाँ मैले अरू कै लागि काम गरें। १९९६ मा परिवारसहित क्यानाडा बसाइ सरें तर यहाँ आउँदा यहाँ आर्थिक मन्दी थियो। व्याजदर १२-१५ प्रतिशतसम्म थियो। मेरो परिवारमा तीनजना छोराछोरीसहित हामी पाँचजना थियौं। एकजनाको कमाईको भरमा परिबार चल्ने सम्भावना थिएन। त्यसमाथि अवस्था कस्तो थियो भने फ्याक्ट्रीमा समेत काम पाइँदैन थियो। मेरो उद्देश्य केही समय क्यानाडा बस्ने, अमेरिका फर्किने र आफुले गरिरहेको कामलाई निरन्तरता दिने थियो।
त्यही योजनाअनुसार, परिबारलाई यतै छाडेर म अमेरिका फर्किंए। तीन वर्ष उता बसेर केही पैसा बचत गरेपछी क्यानाडा आएँ। परिबारको खर्च धान्न व्यापार नगरी हुँदैन भन्ने निश्कर्षमा पुगिसकेको थिएँ। संयोग भनौ, टोरन्टोमा एउटा भेराइटी पसल चलाउने मौका मिल्यो। अमेरिका नै फर्कनु पर्छ भन्ने सोचाई थियो त्यो बेलासम्म तर पसल चलाउन थालेपछि भने यतै रस बस्यो। क्यानाडा नै बस्न थालेको पनि २८ वर्ष भइसकेछ।
चौबिसै घण्टा चल्ने हेस्टी र मिनी मार्ट नामका पसल तीन वर्ष चलाएँ। हुनतः त्यो बेला नेपालीको संख्या अत्यन्त कम थियो तर त्यो बेलामा नेपालीमाझ व्यापार गर्ने भन्ने सोचाई नै थिएन। मैले दुईवटा पसल एकै पटक चलाइरहेको थिएँ। त्यहि समयमा परिवारमा ठुलो वियोगको घटना भयो। त्यसले मेरो जीवनको गति रोक्यो, त्यसले धेरै कुरा परिवर्तन गर्यो।
त्यसपछि दुईटै पसल बेचिदिएँ। केही न केही त गर्नै पर्थ्यो। अमेरिकामा लिमोजिन चलाएको अनुभवका कारण यहाँ त्यही काम गर्न थालें। तर, त्यसै समयमा सार्स सरुवा रोग आयो। कोभिड १९ को समयमा जस्तै टोरन्टो एयरपोर्टमा हवाई जहाज नै आउन रोकिएपछि यात्रु आएनन्, लिमोजिनको काम सुक्यो, कमाई सुक्यो। विकल्प खोज्ने सिलसिलामा रियल स्टेटको कोर्ष पढ्न थालें र लाइसेन्स निकालें।

पहिलो ट्रान्जेक्सन कसरी गर्नु भएको थियो?
लाइसेन्स निकाल्दा म ५३ वर्षको थिएँ। म नेपालीहरू मध्ये पहिलो रियल स्टेट एजेन्ट हुन पुगें। तर, नयाँ भएकाले कसैले विश्वास नगरेका कारण ट्रान्जेक्सन गर्न निकै गार्हो भयो। एउटा नेपालीलाई सहयोग गर्न अर्को नेपाली उपस्थित हुन पुग्यो। रमाकान्त खरेलले टोरन्टोमा माउन्ट एभरेष्ट रेष्टुरेन्टको खोल्दा मैले सहयोग गरेंको थिएँ। उनैले ब्राम्टनको आफ्नो घर बेच्ने काम सुम्पिए। त्यो घर बेचेर, टोरन्टोमा घर किन्ने पनि जिम्मा पाएँ। त्यसरी, मेरो जीवनको पहिलो ट्रान्सेक्सन भएको थियो।
त्यसै समयमा प्रि-कन्सट्रक्सन कण्डोमिनियममा लगानी गर्न थालें। त्यसबाट काम पनि सिक्दै गएँ, कमाई पनि हुन थाल्यो। त्यसपछि विस्तारै अरू कारोबार हुन थाल्यो।
एभरेष्ट रियल्टी खोल्नुको ब्याक स्टोरी के हो?
त्यो बेला म रिम्याक्स रियल्टी ब्रोकरेजमा आवद्ध थिएँ। त्यहाँ मैले धेरै पटक बेष्ट एजेन्टको अवार्ड पनि पाएँ। तर, अचानक त्यसको सञ्चालकले ब्याकरप्सी फायल गर्यो जसले गर्दा मेरो झण्डै १० लाख डलर फस्यो। त्यस घटनाले आर्थिक नोक्सानी त भयो नै निकै दुखी पनि बनायो। श्रीमतिको साथले सम्हालिएँ।
मैले त्यस कम्पनी विरुद्ध मुद्धा हालें। २०१० मा हालेको मुद्धाको फैसला हुन ६ वर्ष लाग्यो। समय लागे पनि त्यहाँ फसेको कमाईको केहि अंश उठाउन सफल भएँ। त्यो पुरा प्रक्रियामा रिम्याक्सले सहयोग गरेन। एक्लो महसुस गर्नुपर्यो। त्यो घटनापछि परिचित, चर्चित र ठुलो ब्राण्डसँग पनि विश्वास लाग्न छाड्यो। अब आफ्नै केहि गर्नुपर्छ भन्ने सोचका साथ २०१७ मा एभरेष्ट रियल्टी ब्रोकरेजको जन्म भएको हो।
रियल स्टेट बिजनेसमा एजेन्टहरूको विस्वासको संकटको कुरा धेरै सुनिन्छ? तपाईंले काम गर्ने तरिका कस्तो छ?
मेरा व्यक्तिगत तथा हाम्रो कम्पनीमार्फत कारोबार गर्ने ग्राहकका लागि म जे जस्तो सहयोग चाहिन्छ त्यो गर्न म तयार हुन्छु। म एउटा उदाहरण सुनाउँछु। मिसिसागामा मोती महल नामक रेष्टुरेन्ट खुल्यो। त्यो प्रकियामा पैसा समेत दिएर सहयोग गरेको थिएँ। तर, रेष्टुरेन्ट नचलेर बन्द हुने अवस्थामा पुग्यो। त्यस्तो अवस्था आएपछि रेष्टरेन्ट क्षेत्रको कुनै अनुभव नभए पनि म संलग्न हुनु पर्ने अवस्था आयो। मैले आँट गरें, त्यो व्यवासयलाई डुब्नबाट बचाएँ।

यसमा मलाई रेष्टुरेन्टमा अनुभव भएका मैले 'छोरो' मानेका एकजनाको साथ पाएँ। अन्यत्र काम गरिरहेका उनलाई एक वर्षको तलबको ग्यारेन्टी गरेर आफुसँग ल्याएँ। उनको अनुभव र सीप लगाएर रेष्टुरेन्टलाई रिब्राण्ड गरेर 'हाका खजाना' बनायौं। व्यापारले विस्तारै लय समात्यो।
अहिले फेञ्चाइजी अगाडी बढाउनु भएको छ। यो आत्मविश्वास कसरी आयो?
एक दुई गर्दै अहिले विभिन्न शहरमा ४ वटा हाका खजाना रेष्टुरेन्ट खुलिसकेका छन्। र, यसको मेन्यु प्रख्यात पनि छ। त्यसबाहेक पनि अरू ५ वटा रेष्टुरेन्ट एभरेष्ट ग्रुप अन्तर्गत सञ्चालित छन्। यि सबै रेष्टुरेन्टहरू सफलताका साथ चलिरहेका छन्। हामीलाई लागेको छ, अन्य शहरहरूमा पनि यस किसिमका रेष्टुरेन्ट चल्छन् र सफल हुन्छन्।
हाम्रो टिम २०२५ सम्ममा ५० वटा फ्रेञ्चाइजी बनाउने लक्ष्यका साथ अगाडी बढेको छ। हामीले यसको शुरूवात गर्दा फेञ्चाइजीमा जानेसम्मको सोच थिएन। टिम राम्रो भयो, लगानी बढाउन बैङ्कले पनि साथ दियो र हामी अगाडी बढेका हौं।
व्यापार व्यवसायमा आउन चाहनेहरूका लागि कस्तो सल्लाह दिन चाहनु हुन्छ?
क्यानाडा आउने नयाँ मानिसहरूका विषयमा कुरा गर्दा सामान्यतयाः उनीहरू ३०-३५ वर्षको उमेर यता आउँछन्। यहाँ आएपछि पढ्न जानु पर्यो, आफुलाई अपग्रेड गर्नु पर्यो। त्यस्तो गर्दा उनीहरू ४० वर्षको हाराहारीका हुन्छन्। यही समयमा लगानीका वैकल्पिक बाटो बारे पनि सोच्नु पर्छ। सबैभन्दा पहिला छाना र खानाको बन्दोबस्त हुनु पर्यो। नयाँ मानिसका लागि म स्टक र शेयरका पक्षमा लाग्न भन्दिन। उनीहरूले लगानी गर्ने क्षेत्र भनेको रियल स्टेट हुनुपर्छ। यो मात्रै त्यस्तो क्षेत्र हो त्यसले कालान्तारमा फाइदै दिन्छ।
अलिक अघि आएका पुरानाहरूले एउटा, दुइटा, वा तीनवटा प्रोपर्टी किनिसकेका होलान्। उनीहरूले अब कमर्सियल रियल स्टेटमा लाग्नु पर्छ। त्यसको क्यासफ्लो घरको भन्दा राम्रो हुन्छ। समुह बनाएर नयाँ कन्सट्रक्सनमा पनि जानु पर्छ।डेभलपर हुनुपर्छ। त्यो नगरी अब सुखै छैन।
नेपालीले नगरेको तर गर्न सक्ने कुनै क्षेत्र छ तपाईंले देखेको?
म ७१ वर्षको भएँ। कसैले व्यापार शुरू गर्छ म असाध्यै खुसी हुन्छु। अझ कसैले सल्लाह नै माग्यो भने म औधि रमाउँछु। मलाई राजनीति अथवा अरू कुनै तरिकाले कसैलाई काख कसैलाई पाखा गर्नु पनि छैन। हामी पहिलो पुस्ताका नेपाली हौं, क्यानाडामा तसर्थः हाम्रा संघर्ष अनेक छन्। यहाँ आइसक्नु भएको छ भने निराश नहुनुस्। बाटो पहिल्याउन सक्नु भएको छैन भने आउनुस् भेटौं र कुराकानी गरौं। यस देशमा सम्भावना धेरै छ। लगनका साथ मेहनत गर्नु भयो भने सफल हुन केहीले पनि रोक्न सक्दैन।

हामीले गर्न सक्ने नयाँ व्यवसाय हस्पिटालिटी क्षेत्र जस्तो होटल, मोटल हुन सक्छन्। ल्याण्ड डेभलोपमेन्ट र कन्सट्रक्सनमा पनि लाग्नु पर्छ। अरू सम्भावनाहरू पनि खोज्नु पर्छ, सबै रेष्टुरेन्ट मै लाग्नु हुँदैन।
ममको सफलताका बारेमा तपाईं असाध्यै सकारात्मक हुनुहुन्छ। तपाईंहरूले औद्योगिक रूपमै उत्पादन शुरू गर्नु भएको छ। कसरी काम भइरहेको छ?
क्यानाडामा मोमोको लोकप्रियता नेपाली माझ मात्रै छैन। यो अझै फैलिन्छ र पिजा जस्तै प्रख्यात हुँदै जान्छ भन्ने कुरामा म पूर्णत विश्वस्त छु। यो कुरा मैले यस अघि नै घोषणा गरिसकेको हुँ। त्यहि सम्भावना देखेरै औद्योगिक रूपमै मम उत्पादन शुरू गर्न मसँग राखिएको प्रस्ताव स्विकार गरेर यसमा लगानी गर्न तयार भएको हुँ। मेरो टिमका दुईजना साथीहरू चलाउँदै गरेको रेष्टुरेन्ट बेचेर पूर्णकालिन रूपमै ममको उत्पादन र व्यापारमा लाग्नु भएको छ।
सामुहिक रूपमा लगानी गर्न थालिएको छ। को-अपरेटिभ मोडलमा काम गर्न सकिन्छ?
सामुहिक लगानीका लागि यहाँको नेपाली जुटिसकेको छ। सामुहिक लगानीमार्फत जोखिम बाँड्दै ठुला प्रोजेक्टमा लगानी गर्न सकिन्छ। २०२३-२०२४ मा मात्रै बिस वटा ग्रुपले सामुहिक रूपमा जमिनमा लगानी गरेको छ। त्यो स्मार्ट मुभ हो। समुह बलियो हुँदा समस्या पर्नेलाई एकले अर्कालाई सहयोग पनि गर्न सकिन्छ।
हालै एकजना नेपालीको पसलमा लुटपाट भयो। उहाँहरूले बिमा गर्नु भएको होला त्यसबाट क्षतिपूर्ति पाउनु होला। त्यस्ता घटना हुँदा भविष्यमा को-अपरेटीभमार्फत पनि सहयोग पुर्याउनका लागि जगेडा कोष बनाउन सकिन्छ।
मलाई लाग्छ, हामीले अब क्रेडिट युनियन बनाउने बेला भइ सकेको छ। यसका लागि पुँजी महत्त्वपूर्ण छ तर क्यानाडाको नेपाली समुदाय त्यसका लागि तयार भइसकेको जस्तो मलाई लाग्छ। ढुकुटी ग्रुप, सामुहिक लगानी गर्ने ग्रुप आदिलाई जोड्न सक्यो भने क्रेडिट युनियनका लागि चाहिने पुँजी जुटाउन कुनै समस्या हुँदैन।
तपाईंलाई नेपाली समाजले कसरी चिनोस् भन्ने लाग्छ?
मानिसको सबैभन्दा प्रडक्टिभ समय ६० देखि ७० को वर्षको बिचमा हुन्छ भनेर मैले कतै पढेको थिएँ। त्यो कुरा मेरो जीवनमा पनि लागु भएको छ। मैले आफ्नै व्यवसायको शुरूबात गर्दा म पनि त्यही उमेरको थिएँ। परिवारका सदस्यहरूले यो उमेरमा किन त्यसरी खटेर काम गर्नु हुन्छ भन्छन्। तर, मलाई सक्रिय हुन मनपर्छ। सिकाउन मन पर्छ। केही कुरा जानिन् भनेर सोध्न आयो र बाधा फुकाइदिन सकें भने आनन्द लाग्छ। व्यवसाय गर्ने साइट हेर्न कसैले बोलायो भने टाढा रहेछ भन्दिन, रमाएर पुग्छु। नयाँ योजना लिएर आउनेलाई सकेसम्म साथ दिँदै आएको छु र अझै दिन्छु। खेलकुदमा राम्रो भए पनि पढाईमा खासै राम्रो थिइन म। यहाँ आएर मैले यति गर्न सकें। अरूले पनि सक्छन्। सानो सहयोग गरेर कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भने त्यो किन नगर्ने भन्ने भावना छ मेरो।
अनी, मलाई मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने एउटा फाउण्डेसन खोल्ने इच्छा छ। नेपाली माझमा मानसिक स्वास्थ्यको अवस्ता विकराल देखेको-सुनेको छु। उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने मनन् गर्दै केही तयारीका साथ आउँछु।

सम्बन्धित खबर














.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया