क्यानेडियन एयर एम्बुलेन्सको भग्नावशेष भेटियो, ६ जना थिए सवार
नेपालTouch
अन्टारियो। क्यानाडामा दर्ता भएको एयर एम्बुलेन्स विमान अमेरिकाको तटमा बेपत्ता भएपछि खोजीमा खटिएको अमेरिकी तटरक्षक बलले विमानको भग्नावशेष फेला पारेको छ। विमानमा चार क्यानेडियनसहित ६ जना सवार थिए।
अन्टारियोको ह्यामिल्टनस्थित ‘ल्याटिट्युड एयर एम्बुलेन्स’को गल्फस्ट्रिम जी–१०० विमान बर्मुडाबाट बोस्टनतर्फ उडेको थियो। अमेरिकी संघीय उड्डयन प्रशासनले शनिबार बिहान विमानसँगको सम्पर्क गुमाएपछि अमेरिकी तटरक्षक बलले खोजी तथा उद्धार अभियान सुरु गरेको थियो।
तटरक्षक बलका अनुसार विमानको भग्नावशेष म्यासाचुसेट्सको नान्टकेट टापुको समुद्री क्षेत्रमा फेला परेको हो। नान्टकेट बोस्टनबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्छ।
विमानमा दुई जना चालक, दुई जना स्वास्थ्यकर्मी तथा एक बिरामी र उनका परिवारका एक सदस्य गरी छ जना थिए। विमानका चारै जना चालक दलका सदस्य क्यानाडाली र दुई यात्रु बर्मुडाका नागरिक रहेको ल्याटिट्युड एयर एम्बुलेन्सका सञ्चालन व्यवस्थापक क्लेरेन्स टोगेरेट्जले बताएका छन्।
ल्याटिट्युडले बर्मुडाबाट बोस्टनतर्फको उडानलाई निगरानी गरिरहेको थियो। शनिबार बिहान करिब १ः३० बजे बोस्टन पुग्न लाग्दा विमानसँग सम्पर्क टुटेको टोगेरेट्जले बताए। विमान निर्धारित समयमा बोस्टन विमानस्थलमा नपुगेपछि कम्पनीले अमेरिकी तटरक्षक बललाई जानकारी गराएको थियो।
विमान हराएपछि तटरक्षक बलले हवाई तथा समुद्री टोली परिचालन गरेको थियो। खोजीमा दुई विमान, उद्धारका लागि लाइफबोट, हेलिकोप्टर र एउटा तटरक्षक जहाज प्रयोग गरिएको थियो। भग्नावशेष फेला परेपछि पनि खोजी तथा उद्धार प्रयास जारी राखिएको छ।
अमेरिकी तटरक्षक बलका अनुसार विमान हराउनुअघि चालकले विद्युतीय समस्या भएको जानकारी दिँदै आपत्काल घोषणा गरेका थिए। हवाई यातायात नियन्त्रणसँगको रेडियो संवादमा विमानले खराब मौसमतर्फ अघि बढिरहेको र उपकरणमा समस्या देखिएको संकेत पाइएको थियो।
प्रारम्भिक उडान तथ्यांकअनुसार विमान करिब २४ हजार फिटको उचाइमा उडिरहेको अवस्थामा अचानक तल झरेर करिब १० हजार फिटको उचाइमा पुगेको थियो। त्यसपछि विमानसँग सम्पर्क टुटेको थियो। विमान हराएको कारणबारे भने तत्काल कुनै निष्कर्ष सार्वजनिक गरिएको छैन।
ल्याटिट्युड एयर एम्बुलेन्सका सञ्चालन व्यवस्थापक टोगेरेट्जले कम्पनीको विमानसँग सम्पर्क गुमेको यो पहिलो घटना भएको बताए। उनले कम्पनीले घटनालाई सकेसम्म सकारात्मक र आशावादी भएर सामना गरिरहेको बताउँदै सबैको सुरक्षित परिणामका लागि प्रार्थना गरिरहेको उल्लेख गरे।
अन्टारियोको एयर एम्बुलेन्स सेवा प्रदायक अर्न्जले पनि विमान र त्यसमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रूपमा र छिटो फेला परून् भन्ने आशा व्यक्त गरेको छ।
ल्याटिट्युड एयर एम्बुलेन्सले घटनाबारे क्यानाडा यातायात मन्त्रालयसँग सम्पर्क गरिरहेको जनाएको छ। क्यानाडाका यातायातमन्त्री स्टिभन म्याकिननले पनि घटनाबारे आफूलाई जानकारी भएको र खोजी तथा उद्धार कार्यमा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्।
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि घटनाबारे जानकारी संकलन गरिरहेको जनाएको छ। विमान दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु गर्ने वा नगर्ने विषयमा भने तत्काल स्पष्ट जानकारी दिइएको छैन।
विमान बर्मुडाको एलएफ वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो। उडान शुक्रबार राति करिब ११ः४० बजे सुरु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। विमान शनिबार बिहान करिब १ः३० बजे बोस्टन पुग्ने तालिका थियो।

सम्बन्धित खबर










.png)













तपाईंको प्रतिक्रिया