टोरन्टोमा हुने अवार्ड समारोहमा हाम्रो संलग्नता छैन: एनआरएनए क्यानाडा
नेपालTouch
अन्टारियो। झण्डै एक महिनापछि टोरन्टो क्षेत्रमा हुने भनिएको एउटा अवार्ड कार्यक्रमबारे संस्थालाई कुनै औपचारिक जानकारी नभएको एनआरएनए क्यानाडाले जनाएको छ।
अक्टोबर २५, २०२६ मा जर्जटाउनस्थित एउटा लाउन्जमा हुने भनिएको 'प्रोफेसनल एचिभमेन्ट अवार्ड क्यानाडा २०२६' बारे 'आफूहरू अनभिज्ञ रहेको' एनआरएनए क्यानाडाका पदाधिकारीहरूले जनाएका छन्।
अवार्डको औचित्यबारे 'नेपाल टच'ले मंगलबार प्रश्नै प्रश्न उठाएपछि एनआरएनए क्यानाडाको प्रतिक्रिया आएको हो। वरिष्ठ उपाध्यक्ष सन्तोष दाहालले संस्थाको आधिकारिक धारणा स्पष्ट पार्दै उक्त कार्यक्रमबारे एनआरएनए क्यानाडालाई कुनै जानकारी नगराइएको अवगत गराए।
‘त्यो अवार्ड समारोहमा संस्थाको नाम वा संस्थागत प्रतिनिधित्व प्रयोग गर्न हामीले कुनै प्रकारको सहमति वा आधिकारिक अनुमति दिएको छैन,’ वरिष्ठ उपाध्यक्ष दाहालले भने, ‘त्यसैले एनआरएनए क्यानाडा उक्त कार्यक्रममा संस्थागत रूपमा संलग्न नरहेको कुरा स्पष्ट पार्न चाहन्छु।’
आयोजक 'सिजन मिडिया कम्पनी'ले सहभागिता तथा स्पोन्सरसीपका लागि क्यानाडाका दर्जनौं पेशाकर्मी र व्यवसायीलाई पठाएको प्रस्तावमा भने एनआरएनए क्यानाडाका अध्यक्षलाई विशेष अतिथिका रूपमा राखिएको थियो।
अध्यक्ष जगन सापकोटाले आयोजक मिडिया कम्पनीका पदाधिकारीसँग 'काठमाडौँमा पहिले भेट भएको तर यो मितिमा यस्तो कार्यक्रम गर्ने र त्यसमा आफू विशेष अतिथि बन्ने कुनै सहमति नभएको' बताएका छन्।
‘त्यो भेटमा आयोजकले टोरन्टोमा कार्यक्रम गर्ने कुरा सुनाएको सम्झना छ,’ अध्यक्ष सापकोटा भन्छन्, ‘तर कुन मितिमा कस्तो कार्यक्रम गर्ने र आफू कुन भूमिकामा रहने भन्नेबारे त्यसपछि कहिल्यै कसैसँग कुरा भएको थिएन।’
आयोजकले जर्जटाउनस्थित आफ्नो 'तन्दुरी टिक्का लाउन्ज'लाई कार्यक्रम स्थल उल्लेख गरे पनि कुनै औपचारिक सम्झौता नभएको त्यसका सञ्चालक लक्ष्मण मण्डलले जानकारी दिए। कार्यक्रम गर्न आफ्नो रेस्टुरेन्ट सबैलाई उपलब्ध भएको उल्लेख गर्दै उनले उक्त अवार्ड समारोहमा आफ्नो संलग्नता नभएको प्रष्ट्याए।
'क्यानाडामा योगदान गरेका नेपाली तथा एसियाली पेशाकर्मीलाई सम्मान गर्ने' उद्देश्य उल्लेख गरेको उक्त अवार्ड कार्यक्रमको औचित्यमाथि धेरै कोणबाट प्रश्न उब्जिएपछि क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यसअघि नै आफू त्यसमा नजोडिएको प्रष्ट पारिसकेका छन्।

सम्बन्धित खबर









.png)














तपाईंको प्रतिक्रिया