'आमा सम्झिएर भक्कानिन्छ मन'
नेपालTouch
बिम्मी कालिन्दी शर्मा (रुपाखेती) केही वर्षदेखि भारतको बनारसमा बसिरहेकी छन्। वीरगञ्जको कुम्हालटोल–५ घर भएकी उनको पुर्ख्यौली घर धादिङको धुनिबेँसी गजुरीपेडा हो। तर त्यहाँ उनी हालसम्म पुग्न पाएकी छैनन्। हजुरबुवा कोलकाता, बुवा बनारस अनि उनी आफूचाँहि वीरगञ्जमा बस्थिन्।
हजुरबुवाको कोलकातामा आफ्नै प्रेस थियो। बुवा स्वतन्त्रता सेनानी पनि हुन्। प्रेसमा शुद्धाशुद्धि हेर्ने अनि अनुवादको काम पनि गर्थे। पछि खेतीपातीमा पनि उनी संलग्न थिए।
राजनीति शास्त्रमा एमए गरेकी शर्माले पत्रकारितामा नेपाल प्रेस इन्स्टिच्युटबाट डिप्लोमा गरेकी छन्। विभिन्न विषयहरुमा पत्रकारितामा लेख लेख्ने उनी नेपाली तथा हिन्दीमा अनुवादको काम पनि गर्छिन्। यसपटक हामीले उनै शर्मासँग कुराकानी गरेका छौं।
बनारस बसेको कति भयो?
चार वर्ष भयो बनारस आएको। हाल म बनारसको चौखम्बा नजिक गणेश दीक्षित लेनमा बस्छु।
नेपालमा के गर्नुहुन्थ्यो?
पत्रकारिता, पत्रपत्रिकामा लेखन, नेपाली तथा हिन्दीमा अनुवादको काम। म विभिन्न पत्रिकामा व्यङ्गय लेखन पनि गर्दछु।
के गर्दै हुनुहुन्छ?
त्यही लेख्ने र अनुवादको काम नै हो। धेरै समय त्यसैमा लागिरहेकी छु।
नेपाल छोडेर भारत आउन के के कुराले प्रेरित गर्यो।?
आफन्तहरुको दुब्र्यवहारले। आमा बितेपछि कथित आफन्त, छिमेकी र साथीभाइले आमा हुँदा बखतको भन्दा उल्टो ब्यवहार गरे। म निकै अवसादग्रस्त थिएँ, आमाको पनि इच्छा थियो। उहाँको शेषपछि म बनारस बसुँ भन्ने। आमाकै इच्छाबमोजिम यहाँ आएपछि मेरो मन बहलियो, डिप्रेशन कम भयो त्यसैले बनारसमै बस्न थालेँ।

विदेश आउने निर्णय गरेर ठीक गरिएछ कि बेठिक गरिएछ भन्ने लाग्छ?
खै के भन्नु? आमाको मृत्युपछि म त परिस्थितिले गलाएर बाध्य पारेर यहाँ पलायन भएकी हुँ।
अब ढुक्कै भारत बसाइ हुन्छ या नेपाल फर्कने योजना पनि छ?
भन्न सक्दिन तर फर्किन मन छैन। बेला–बेलामा घर गइरहन्छु तर त्यहाँ टिक्न सक्दिन।
नेपाल कत्तिको सम्झना हुन्छ?
हुन्छ। जन्मेको ठाउँ हो, आफू जन्मे हुर्केको शहर वीरगञ्जको याद धेरै आउँछ।
नेपाल र भारतबीच समानता र फरक कुरा के के छन्?
समानता धार्मिक र सामाजिक रूपमा धेरै छ तर व्यवहार फरक छ । भारतीयहरु नेपाली जस्तो बनावटी ब्यवहार गर्दैनन्। यहाँ दिखावा र प्रदर्शन कम छ। मानिसहरु पनि सहयोगी छन्।
नेपालको बढी के के ‘मिस’ हुन्छ?
नेपालको मिस हुने भनेको त्यही खाना त हो नि! बनारसमा साग खाँदैनन् र पाइँदैन पनि। यहाँ पाउने त्यही एउटा पालुङ्गोको साग हो। नेपालमा थरिथरीका साग पाइन्छन्। त्यही साग र टिम्मुर हालेर बनाएको टमाटरको चटनी, आमाले पकाउने तामा र मस्यौराको तरकारीको याद धेरै आउँछ।
खासगरी कुन बेला बढी सम्झना आउँछ?
चाडबाडको बेला आमा, घर र खानेकुराको याद धेरै आउँछ। आफू अनाथ भएर होला छिट्टै भावुक हुन्छु र आमालाई सम्झिन्छु। आमा भएको भए म आज आफ्नो थातथलोबाट पलायन हुनु पर्थेन सायद।
गइहालौं जस्तो पनि लाग्छ कहिलेकाहिँ?
लाग्दैन। त्यहाँ को छ र जानु? कथित आफन्तहरुले नै मेरो जीवन दुखान्त बनाइदिए के जानु? बरु मेरो यो दुनियाँमा कोही छैन भन्दै आमा सम्झिएर मन भक्कानिन्छ।
नेपालमा आफन्त, साथीसंगीसँग कत्तिको सम्पर्क हुन्छ?
त्यतिको हुन्न। पत्रकारिता गर्दा बनेका र सामाजिक सञ्जालबाट बनेका साथीभाइसँग सम्पर्क हुन्छ फोन र म्यासेन्जरबाट। ती कथित आफन्तहरुका लागि म मरेबराबरै हुँ।
भान्सामा बढी के पाक्छ, नेपाली खानाका परिकारको कत्तिको याद आउँछ?
नेपाली खानाको याद त आउँछ तर म कोठामा खाना पकाउँदिन बाहिरै खान्छु एक्लै भएकाले। नेपालमा जस्तै उही बिहान दालभात र बेलुका रोटी नै खाइन्छ।
एनआरएनएमा आवद्ध हुनुहुन्छ कि छैन, अरु नेपाली संघ संस्थामा?
म कुनै पनि संघ संस्थामा आवद्ध छैन।
भारतमा रहेका नेपाली संघ संस्थाप्रति तपाईंको कस्तो धारणा छ?
खै त्यति जानकारी भएन मलाई। जहाँ पनि उही राजनीतिले जरो गाड्या छ त्यस्तो संस्थाको बारेमा के कुरा गर्नु?

चाडपर्वमा सामूहिक सहभागिता कतिको हुन्छ?
हुँदैन, सबै आफैँमा व्यस्त र मस्त छन्।
नेपाली समाचार कतिको चासो लाग्छ, कसरी अपडेट हुनुहुन्छ?
चासो लाग्छ। सामाजिक सञ्जाल र अनलाइन समाचारहरु हेरेर र पढेर अपडेट हुने गर्छु।
कत्तिको घुम्नुहुन्छ, नेपालका कुन कुन ठाउँ घुम्न मन छ?
घुमिसकें। मलाई पहाडी ठाउँ उति मन पर्दैन। तराई र मैदानी इलाका घुमेको छु। फेरि आफन्तहरुबाट तिरस्कृत भएको हुनाले मलाई नेपालको कुनै पनि ठाउँ घुम्ने इच्छा नै छैन। म कहिल्यै बिर्सिन सक्दिन त्यहाँका मान्छेहरुको मप्रतिको कटु व्यवहारले गर्दा आफ्नो सबै त्यहीँ छोडेर क्यारियर त्यागेर म यहाँ पलायन हुन वाध्य भएँ।
फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नु हुन्छ, नेपाली किताब नपढेको कति भयो?
अनलाइनमा भेटिए जति पढिन्छ। विशेषगरि मलाई कविता मन पर्छ पढ्छु र लेख्छु पनि। तर राजनीति मन पर्दैन।
कस्ता गीत सुन्नुहुन्छ? मनपर्ने नेपाली गीत कुन कुन हुन्?
उदास गीतहरु मन पर्छ। नेपालीमा दीप श्रेष्ठको गीत मन पर्छ। तर म प्रायः किशोर कुमारले गाएको ‘स्याड सङ’ धेरै सुन्छु।
पछिल्लो पटक हेरेको नेपाली फिल्म कुन हो?
सरी, म नेपाली या हिन्दी कुनै पनि फिल्म हेर्दिन। मलाई हलमा गएर फिल्म हेर्नु भनेको तीन घण्टासम्म दिमागलाई नजरबन्दमा राख्नु जस्तै हो भन्ने लाग्छ। त्योभन्दा राम्रो त जेलमा गएर कैदीसँग बसेर तिनको दुःख पीडा सुन्नु हो।
मनपर्ने नेपाली फिल्म र मनपर्ने नेपाली अभिनेता अभिनेत्री?
हिरो हिरोइन अलिअलि चिन्दछु तर मन कुनै पनि पर्दैनन्।
भारत बस्दा नेपालको र नेपाल जाँदा भारतको साह्रै मिस हुने कुरा के के हुन्?
बनारस बस्दा त्यहाँको नेपाली खानेकुरा, आफ्नो घर र गल्ली याद आउँछ। आफ्नो घर वीरगञ्ज जाँदा बनारसको सजिलोपन, जे पनि जहाँ पनि सजिलैसित पाइने कुराहरु झलझली सम्झिन्छु।
सरकार र सरोकारवालाले भारतबाट के सिकुन् भन्ने लाग्छ? अनि, नेपालबाट भारतले सिक्नुपर्ने कुरा केही छन्?
भारतमा बाँच्ने तरिका सजिलो छ। महँगी त्यति छैन। मेहनत धेरै गर्छन् राजनीति कम छ र सबै कम आम्दानीमा पनि हाँसीखुसी बसेका छन्। जसको जति छ त्यतिमै चित्त बुझाएका छन्। नेपालीले यहाँका मानिसहरुको सादगीपन सिक्न जरुरी छ। सरकार त सबै ठाउँका कम बढी त्यस्तै हुन।
सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ?
हजुर गर्छु। फेसबुक, ट्विटर, इन्स्टाग्राम र व्हाट्सएप सबैमा छु।
सञ्जालमा खासगरी के कस्ता विषयमा आफ्ना धारणा राख्नुहुन्छ?
सामाजिक विषमता, भेदभाव र अन्धबिश्वासको विरुद्धमा आफ्नो धारणा राख्दछु। म महिला भएकाले धेरै सताइएँ, त्यसैले महिला मुक्ति र महिलाको पक्षमा लेख्छु तर महिलावादी भने हैन।
तपाईंको जीवनमा सबैभन्दा खुसीको क्षण के सम्झनुहुन्छ?
आमा हुँदा खुसीका क्षण धेरै थिए। पुरस्कार पाएको क्षण, भारतको नाम चलेको पत्रिकामा लेख छापिँदा म खुसीले चिच्याएको क्षण र मेरो लेख पढेर अरुले तारिफ गर्ने क्षणहरु मेरालागि मूल्यवान थिए। तर अब त्यस्तो लाग्दैन। अरुलाई सहयोग गर्ने सौभाग्य पाउनु पनि मेरालागि खुसीकै क्षण हो।
अनि दुःखको कुनै घटना?
आमा बितेको र म सधैंका लागि अनाथ भएको घटना मेरो जीवनको सबैभन्दा दुःखद घटना हो।

सम्बन्धित खबर



.png)







.png)



.png)
.png)
.png)





तपाईंको प्रतिक्रिया