• आइतबार, १६ कार्तिक, २०८३
  • Sunday, 01 November, 2026
  • X

क्यानेडियन नेवा गुठीद्वारा नेपालका बाढीपीडितलाई १५ हजार डलर सहयोग

नेपालTouch
बिहीबार कार्तिक १३, २०८३ | Thursday October 29,2026
फोटोः आयोजक

ब्राम्पटन। क्यानाडामा सक्रिय सामाजिक तथा सांस्कृतिक संस्था क्यानेडियन नेवा गुठीले नेपालका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १५ हजार १ क्यानेडियन डलर सहयोग पठाएको छ।

गत साता त्रिवेणी मन्दिर, ब्राम्पटनमा आयोजित सहयोग सङ्कलन कार्यक्रम तथा गुठीका सदस्य र अन्य सहयोगीहरूको व्यक्तिगत योगदानबाट उक्त रकम जुटाइएको हो। गुठीका अनुसार, मन्दिरमा आयोजित कार्यक्रमबाट ७ हजार ७ सय डलर सङ्कलन भएको थियो भने बाँकी रकम संस्थाका सदस्य तथा अन्य सहयोगीबाट प्राप्त भएको थियो।

कार्यक्रममा हिमालयन भाइब्स र म्युजिकल भाइबस् फाउन्डेसनले विशेष सांगीतिक प्रस्तुति दिएको थियो। संस्थाले सन् २०१५ को विनाशकारी भूकम्पका बेला पनि नेपालका पीडितको राहत तथा पुनर्स्थापनामा सहयोग गरेको थियो। कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेल, ब्राम्टन साउथकी संघीय साँसद सोनिया सिद्धुको समेत उपस्थिति रहेको थियो।

गुठीले सङ्कलित रकम नेपालको प्रधानमन्त्री राहत कोषमा पठाइसकेको जनाएको छ। सहयोगमा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै गुठीका अध्यक्ष बिमल श्रेष्ठले विदेशमा रहे पनि नेपालप्रतिको जिम्मेवारी नबिर्सिएको बताए।

“हामी देशबाहिर भए पनि हृदयले नेपाली नै हौँ। नेपालमा विपद् र आपत् पर्दा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नु हाम्रो कर्तव्य हो,” श्रेष्ठले भने।

उनले कार्यक्रम आयोजना गर्न सहयोग गर्ने, सहभागी र कार्यक्रममा प्रस्तुति दिने सबै कलाकारहरूलाई धन्यवाद समेत दिए।

विपद् राहतदेखि संस्कृति संरक्षणसम्म

सन् २००५ मा स्थापना भएको क्यानेडियन नेवा गुठीमा हाल करिब १०० जना आजीवन सदस्य रहेका छन्। संस्थाले नेपालमा प्राकृतिक विपद्का बेला राहत सहयोग गर्नुका साथै विभिन्न सामाजिक तथा परोपकारी कार्यमा योगदान दिँदै आएको छ।

सन् २०१५ को भूकम्पका बेला गुठीले २२ हजार क्यानेडियन डलर सहयोग गरेको थियो। त्यस्तै, जाजरकोट भूकम्पपीडितलाई राहत, सेवा क्यानाडामार्फत बौद्धिक अपाङ्गता भएका महिलाका लागि सञ्चालित सुनगाभा होम्सलाई सहयोग तथा लुम्बिनी क्षेत्रमा रहेको नेपाल बिहारको निर्माणमा पनि सहयोग गरेको छ। यी बाहेक पनि विभिन्न परोपकारी गतिविधिमा संस्थाले योगदान गरेको छ।

सामाजिक सेवासँगै गुठीले क्यानाडामा नेपाली तथा नेवारी भाषा र संस्कृतिको संरक्षणमा समेत काम गर्दै आएको छ। संस्थाले समयबजी, म्हः पूजा र यमरी पूर्णिमाजस्ता मौलिक नेवारी पर्वमा कार्यक्रम आयोजना गर्दै आएको छ। यसैगरी, क्यानाडाका विश्वविद्यालयमा नेवारी भाषा कक्षा सञ्चालन गर्न सहयोग र सहजीकरणसमेत गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया