मानसिक रोगका आधारमा इच्छामृत्यु रोक्ने, अग्रिम अनुरोधको बाटो खोल्ने विधेयक
नेपालTouch
अन्टारियो। क्यानाडाको संघीय सरकारले मानसिक रोग मात्रै भएका व्यक्तिलाई चिकित्सकीय सहायतामा मृत्यु (मेडिकल असिस्टेन्स इन डाइङ-एमएआइडी) लिन नदिने र भविष्यमा निर्णय गर्ने क्षमता गुमाउन सक्ने व्यक्तिलाई अग्रिम अनुरोध गर्न अनुमति दिने विधेयक संसद्मा प्रस्तुत गरेको छ।
बिल सी-४१ नाम दिइएको ‘मेडिकल असिस्टेन्स इन डाइङ सेफगार्ड्स एक्ट’ ले फौजदारी संहितामा संशोधन गर्ने प्रस्ताव गरेको छ। विधेयकअनुसार गम्भीर तथा निको नहुने रोगका कारण पछि आफ्नो निर्णय आफैँ गर्न नसक्ने अवस्था आउन सक्ने व्यक्तिले त्यसअघि नै लिखित रूपमा सहायतामा मृत्युको अनुरोध गर्न सक्नेछन्।
न्यायमन्त्री सन फ्रेजरले कार्यान्वयनका क्रममा प्रान्त र क्षेत्रसँग सहकार्य गरिने तथा व्यक्तिको निर्णय स्वेच्छिक र बाह्य दबाबबाट मुक्त राख्न कडा सुरक्षा व्यवस्था गरिने बताए। स्वास्थ्य मन्त्री मार्जोरी मिसेलले पनि व्यक्तिगत स्वायत्तता र छनोटको सम्मान गर्दै जोखिममा रहेका व्यक्तिको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताइन्।
क्यानाडामा मानसिक रोग मात्रै भएका व्यक्तिले एमएआइडी लिन पाउने व्यवस्था हाल लागू छैन। सरकारले यसअघि यो व्यवस्था विस्तार गर्ने समयसीमा सन् २०२७ मार्च १७ सम्म सारेको थियो। नयाँ विधेयक पारित भए मानसिक रोग मात्रैका आधारमा सहायतामा मृत्यु लिन पाउने व्यवस्था लागू हुनेछैन। यसका लागि विधेयक प्रतिनिधिसभा र सिनेट दुवैबाट पारित हुनुपर्नेछ।
सरकारले मानसिक रोगका आधारमा व्यक्तिको निर्णय गर्ने क्षमता मूल्याङ्कन गर्न कठिन हुने र त्यस्ता अवस्थाको सुरक्षित तथा एकरूप मूल्याङ्कनमा गम्भीर प्रश्न रहेको जनाएको छ। संसदीय समितिले पनि मानसिक रोग मात्रै भएका व्यक्तिलाई एमएआइडीको पहुँचबाट अनिश्चितकालसम्म बाहिर राख्न सिफारिस गरेको थियो।
तर, इच्छामृत्युको अधिकारका लागि वकालत गर्दै आएको संस्था ‘डाइङ विथ डिग्निटी क्यानाडा’ ले मानसिक रोग भएका व्यक्तिलाई बाहिर राख्ने निर्णयप्रति असन्तुष्टि जनाएको छ। संस्थाकी प्रमुख कार्यकारी हेलेन लङले यस्तो व्यवस्था विभेदकारी र असंवैधानिक भएको बताएकी छन्।
विधेयकले अग्रिम अनुरोधका लागि केही सर्त तोकेको छ। अनुरोध गर्ने व्यक्ति कम्तीमा १८ वर्षको हुनुपर्ने, सरकारी वित्तपोषणमा उपलब्ध स्वास्थ्य सेवा लिन योग्य हुनुपर्ने, आफ्नो निर्णय आफैँ गर्न सक्ने हुनुपर्ने र अनुरोध गर्नुअघि गम्भीर तथा निको नहुने रोगको निदान भएको हुनुपर्नेछ। उक्त रोगले भविष्यमा निर्णय गर्न आवश्यक क्षमता स्थायी रूपमा गुम्ने अवस्था ल्याउने अपेक्षा गरिएको हुनुपर्नेछ।
अग्रिम अनुरोध गर्दा चिकित्सक वा नर्स प्राक्टिसनरको सहयोग लिनुपर्नेछ। सम्बन्धित रोगका विशेषज्ञसँग परामर्श गर्नुपर्ने र रोगको अवस्था, सम्भावित प्रगति तथा पीडा कम गर्ने उपलब्ध विकल्पबारे स्पष्ट जानकारी पाएको हुनुपर्नेछ। अनुरोध गर्ने व्यक्तिको योग्यता दुई स्वतन्त्र चिकित्सक वा नर्स प्राक्टिसनरले पुष्टि गर्नुपर्ने व्यवस्था पनि विधेयकमा छ।
सहायतामा मृत्युको प्रक्रिया अघि बढाउने क्रममा सम्बन्धित व्यक्तिले शब्द, आवाज वा हाउभाउबाट अस्वीकार वा प्रतिरोध देखाए प्रक्रिया रोक्नुपर्नेछ। यस्तो संकेत देखिएपछि कम्तीमा ३० दिन नपुगेसम्म पुनः मूल्याङ्कन गरी प्रक्रिया अघि बढाउन पाइनेछैन।
अग्रिम अनुरोधको व्यवस्था लागू गर्ने वा नगर्ने विषयमा प्रान्त र क्षेत्रले आफ्नै स्वास्थ्य प्रणालीअनुसार निर्णय गर्न सक्नेछन्। क्युबेकले सन् २०२४ मै यस्तो अनुरोधलाई अनुमति दिएको थियो र हालसम्म अनुमति दिने एकमात्र प्रान्त हो। अल्बर्टाले भने अग्रिम अनुरोधमार्फत एमएआइडी दिन रोक्ने कानुन बनाइसकेको छ।
विधेयकले मानसिक रोग मात्रैका आधारमा एमएआइडी लिन पाउने सम्भावित विस्तार रोक्ने र अग्रिम अनुरोधको व्यवस्था एउटै कानुनमा समेटेको छ। यसलाई लिएर विभिन्न समूहले फरक धारणा राखेका छन्।

सम्बन्धित खबर













.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया