क्यानाडाको बीसीमा झण्डै एक सय वर्षपछि कन्जरभेटिभ पार्टीको बहुमत सरकार
नेपालTouch
भ्यानकुभर। क्यानाडाको ब्रिटिस कोलम्बिया (बीसी) मा शनिबार (अक्टोबर २४, २०२६) मा भएको प्रान्तीय निर्वाचनमा कन्जरभेटिभ पार्टी बहुमतका साथ विजयी भएको छ। अब कन्जरभेटिभ पार्टीका अन्तरिम नेता लोर्न डोर्कसन बीसीको नयाँ सरकारको नयाँ प्रिमियर बन्ने छन्।
लिबरलसँग मिलेर संयुक्त सरकार बनाए पनि बीसीमा कन्जरभेटिभ पार्टीको बहुमतको सरकार ९८ वर्ष अघि सन् १९२८ मा बनेको थियो। त्यसबेला साइमन फ्रेजर टोल्मी प्रिमियर बनेर ५ वर्ष शासन गरेका थिए।
यस नतिजासँगै सन् २०१७ देखि निरन्तर सत्तामा रहेको न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) विपक्षमा सीमित हुने देखिएको छ। बीसीमा नियमित प्रान्तीय निर्वाचन सन् २०२८ मा हुनुपर्ने थियो। तर, प्रिमियर तथा एनडीपी नेता डेभिड एबीले सेप्टेम्बर २२, २०२६ मा अप्रत्यासित रूपमा समयअगावै निर्वाचनको घोषणा गरेका थिए।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क नीतिबाट उत्पन्न हुनसक्ने आर्थिक अनिश्चितताको सामना गर्न र व्यवस्थापिकामा देखिएको अन्योल अन्त्य गर्न बलियो जनादेश चाहिएको कारण दिएका थिए। तर, उनको पार्टी यस पटक सत्ताच्युत हुन पुग्यो।
९३ कुल सिट रहेको संसदमा निर्वाचन घोषणा गर्दा एनडीपीसँग बहुमत भन्दा एक सिट धेरैको झिनो बहुमत थियो। अर्कोतर्फ, कन्जरभेटिभ पार्टी नेतृत्व परिवर्तन, आन्तरिक मतभेद र सांसदहरूको बहिर्गमनका कारण अस्थिर अवस्थामा थियो। तर, गत महिना लोर्न डोर्कसन अन्तरिम नेता बनेपछि पार्टीभित्रको आन्तरिक एकता बलियो बन्दै गयो।
कन्जरभेटिभ पार्टीको राजनीतिक पुनरागमन
बीसीको राजनीतिमा वर्षौंसम्म कमजोर उपस्थिति जनाएको कन्जरभेटिभ पार्टीले सन् २०२० को निर्वाचनमा २ प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो। तर सन् २०२४ को चुनावमा ४४ सिट जित्दै पार्टीले संसदमा शक्तिशाली पुनरागमन गरेको थियो।
बीचमा केही आन्तरिक विवाद र नेतृत्व फेरबदल भए पनि डोर्कसनको नेतृत्वमा पार्टीले चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढायो। निर्वाचनअघिका विभिन्न मतसर्वेक्षणहरूले पनि कन्जरभेटिभलाई एनडीपीभन्दा अगाडि देखाएका थिए, जुन प्रक्षेपण चुनावी नतिजामा परिणत पनि भयो।
चुनावी अभियानका क्रममा कन्जरभेटिभ पार्टीले मुख्य गरी आर्थिक र पूर्वाधारका एजेण्डा अघि सारेको थियो। पार्टीले व्यक्तिगत आयकर कटौती गर्ने र सन् २०३० सम्ममा प्रान्तीय बजेट घाटा १०.८ अर्ब डलरमा झार्ने लक्ष्य अघि सारेको छ। आवास निर्माणमा रहेका प्रशासनिक अवरोधहरू हटाउने तथा बाल हेरचाह सुविधाहरूको विस्तार गर्ने जनाउँदै पार्टीले प्राकृतिक ग्यास र एलएनजी परियोजनाहरूलाई प्राथमिकता दिने पनि पार्टीले जनाएको छ।
नयाँ सरकारसामु चुनौती
बीसी व्यवस्थापिकामा स्पष्ट बहुमतका लागि कम्तीमा ४७ सिट आवश्यक पर्छ। कन्जरभेटिभले ६४ स्थानमा जितेको छ। एनडिपीले २७ सिट र ग्रीन पार्टीले २ स्थानमा जितेको छ। निर्वाचन आयोगले नोभेम्बर ६ देखि १० सम्म अन्तिम मतगणना गरी नतिजाको औपचारिक पुष्टि गर्नेछ।
डोर्कसनको नेतृत्वमा गठन हुने नयाँ सरकारका लागि प्रान्तमा बढ्दो जीवनयापनको लागत, आवास संकट, स्वास्थ्य सेवाको सुधार र आर्थिक अनिश्चिततालाई सम्बोधन गर्नु मुख्य चुनौती हुनेछ।

सम्बन्धित खबर











.png)

.png)
.png)








तपाईंको प्रतिक्रिया