• सोमबार, १० कार्तिक, २०८३
  • Monday, 26 October, 2026
  • X

अन्टारियोमा घरबारविहीन समस्या नयाँ नगर नेतृत्वका लागि चुनौती

नेपालTouch
सोमबार कार्तिक १०, २०८३ | Monday October 26,2026

अन्टारियो। क्यानाडाको अन्टारियो प्रान्तमा बढ्दो घरबारविहीन समस्या आगामी नगरप्रमुख र नगर परिषद्का लागि प्रमुख चुनौती बन्ने भएको छ। आवास, मानसिक स्वास्थ्य र लागुऔषध दुर्व्यसनसम्बन्धी सेवामा पर्याप्त बजेट जुटाउन कठिनाइ भइरहेका बेला नगरपालिकाहरूले यो समस्या समाधानका लागि संघीय र प्रान्तीय सरकारसँग दीर्घकालीन आर्थिक सहयोग मागिरहेका छन्।

अन्टारियोका नगरपालिकाहरूको प्रतिनिधित्व गर्ने संस्था एसोसिएसन अफ म्युनिसिपालिटिज अफ अन्टारियोका अनुसार सन् २०२४ मा प्रान्तभर करिब ८० हजार मानिस घरबारविहीन थिए। सन् २०२५ मा यो संख्या बढेर करिब ८५ हजार पुगेको थियो। संस्थाले यो संख्या अझै बढ्न सक्ने जनाएको छ। घरबारविहीनमध्ये आधाभन्दा बढी मानिस छ महिनाभन्दा लामो समयदेखि आवासविहीन अवस्थामा रहेको संस्थाको तथ्यांक छ।

संस्थाका अध्यक्ष राइली ब्रोकिन्टनले क्यानाडाजस्तो समृद्ध प्रान्तमा ८५ हजार मानिस घरबारविहीन हुनु चिन्ताजनक भएको बताए। उनका अनुसार अधिकांश नगरपालिकाले यो समस्याका कारण वार्षिक बजेटको ठूलो हिस्सा खर्च गर्नुपरेको छ। नगरपालिकाले घाटाको बजेट बनाउन नपाउने भएकाले सेवाको खर्च व्यवस्थापन गर्न थप कठिन भएको उनले बताए।

ब्रोकिन्टनले संघीय र प्रान्तीय सरकारले स्थिर तथा दीर्घकालीन आर्थिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनका अनुसार संस्थाले १० वर्षमा ११ अर्ब डलर लगानी गरी ७५ हजार मानिसका लागि सहयोगसहितको आवास, अस्थायी आवास र सामुदायिक आवासको व्यवस्था गर्न प्रस्ताव गरेको छ। घरबारविहीन हुनबाट रोक्ने कार्यक्रमका लागि पनि उक्त रकम प्रयोग गर्न सकिने संस्थाको भनाइ छ।

त्यसैगरी, सडक तथा सार्वजनिक स्थानमा बनाइने अस्थायी शिविरको समस्या समाधान गर्न आठ वर्षमा दुई अर्ब डलर उपलब्ध गराउन संस्थाले माग गरेको छ। संस्थाका अनुसार गत वर्ष अन्टारियोभर करिब दुई हजार यस्ता शिविर थिए। आश्रयस्थलसमेत नभएका साना सहरमा पनि शिविरहरू बढ्दै गएका छन्।

घरबारविहीन समस्या समाधानका लागि थप आवास, विशेष सहयोग आवश्यक पर्ने मानिसका लागि आवास तथा सम्बन्धित सामाजिक सेवा विस्तार गर्नुपर्नेमा सबै तहका सरकार सहमत भए पनि बजेट प्रायः निश्चित अवधिका लागि मात्रै उपलब्ध हुने गरेको ब्रोकिन्टनले बताए। उनका अनुसार दीर्घकालीन योजना बनाउन नगरपालिकाले आगामी वर्षहरूमा पनि आर्थिक सहयोग निरन्तर रहने सुनिश्चितता खोजिरहेका छन्।

अन्टारियोको वित्तीय जवाफदेहिता कार्यालयको हालैको प्रतिवेदनअनुसार घरबारविहीनसम्बन्धी कार्यक्रमका लागि प्रान्तीय खर्च सन् २०२६–२७ मा ९४ करोड ८० लाख डलर पुग्ने अनुमान छ। तर, निश्चित अवधिका लागि उपलब्ध गराइएको बजेट समाप्त हुने भएकाले सन् २०२८–२९ मा यस्तो खर्च घटेर ७० करोड ८० लाख डलरमा सीमित हुने अनुमान गरिएको छ।

घरबारविहीन समस्या उत्तरी अन्टारियो र ग्रामीण क्षेत्रमा पनि तीव्र रूपमा बढिरहेको छ। एसोसिएसन अफ म्युनिसिपालिटिज अफ अन्टारियोका अनुसार एक वर्षमा उत्तरी अन्टारियोमा घरबारविहीनको संख्या ३७ प्रतिशत र मुख्यतः ग्रामीण क्षेत्र समेटिएका समुदायमा ३१ प्रतिशतले बढेको छ।

प्रान्तभर करिब २० हजार युवा घरबारविहीन रहेको तथ्यांकले देखाएको छ। टोरन्टोमा मात्रै कुनै पनि रात एक हजारभन्दा बढी किशोरकिशोरी तथा बालबालिका आश्रयस्थलमा वा सडकमा रात बिताउन बाध्य हुने गरेका छन्।

क्यानाडामा संकटमा परेका युवालाई सेवा प्रदान गर्ने सबैभन्दा ठूलो परोपकारी संस्थाका रूपमा रहेको कोभिनेन्ट हाउस टोरन्टोका प्रमुख कार्यकारी अधिकृत मार्क एस्टनले युवा घरबारविहीन हुन नदिन सुरुदेखि नै रोकथामका कार्यक्रम आवश्यक रहेको बताए। संस्थाले आपत्कालीन आश्रयस्थल, संक्रमणकालीन आवास तथा शिक्षा, रोजगारी र अन्य सामाजिक सहयोग उपलब्ध गराउँदै आएको छ।

एस्टनका अनुसार घरबारविहीन हुने जोखिममा रहेका युवालाई विद्यालयमै पुगेर सहयोग गर्ने संस्थाको कार्यक्रम प्रभावकारी देखिएको छ। उक्त कार्यक्रमबाट जोखिममा रहेका ९० प्रतिशतभन्दा बढी युवालाई घरबारविहीन हुनबाट जोगाउन सफल भएको उनले बताए। यस्तो कार्यक्रम प्रान्तका सबै विद्यालयमा विस्तार गर्नुपर्ने उनको भनाइ छ।

दीर्घकालीन रूपमा घरबारविहीन अवस्थामा रहेका वयस्कमध्ये ३० देखि ५० प्रतिशतले युवावस्थामै पहिलोपटक घरबारविहीन भएको अनुभव गरेको एस्टनले बताए। युवावस्थामै समस्या समाधान गर्न नसकिए त्यसले दीर्घकालीन रूप लिन सक्ने उनको भनाइ छ।

उनका अनुसार युवामा घरबारविहीनताको प्रमुख कारण पारिवारिक दबाब, द्वन्द्व वा परिवार टुट्नु हो भने वयस्कमा घरबाट निकालिनु प्रमुख कारणमध्ये एक हो। घरबारविहीन भएका युवालाई स्वास्थ्यकर्मी तथा मानसिक स्वास्थ्य विशेषज्ञसँग जोड्ने, परिवारसँग सम्बन्ध पुनःस्थापित गर्न सहयोग गर्ने र आवास तथा सामाजिक सहयोग उपलब्ध गराउने कामले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनले बताए।

एस्टनले अन्टारियोमा निर्वाचित हुने नयाँ नगरप्रमुखहरूलाई युवा घरबारविहीनताको अन्त्यका लागि प्रतिबद्धता जनाउन आग्रह गरेका छन्।

 

तपाईंको प्रतिक्रिया