'धुलोपिठो' भए अल्बर्टाका पृथकताबादी
नेपालTouch
एडमण्टन। दुई तिहाई भन्दा धेरै अल्बर्टाका मतदाताहरूले छुट्टिने हैन क्यानाडाभित्रै रहने पक्षमा मतदान गरेका छन्। यस प्रान्तको स्वाधीनतासम्बन्धी ऐतिहासिक जनमतसङ्ग्रहको प्रारम्भिक परिणामले भविष्यमा हुन सक्ने भनिएको अलगिने जनमत संग्रहको प्रस्तावलाई अस्वीकार गरेको छ।
पुर्विय समयअनुसार बिहान ११ बजेसम्म करिब ८० प्रतिशत मतदान केन्द्रको नतिजा आउँदा ७५.५ प्रतिशत मतदाताले क्यानाडामै रहने पक्षमा र २४.५ प्रतिशतले कन्फेडेरेसनबाट अलगिने प्रक्रिया सुरु गर्ने पक्षमा मतदान गरेका छन्। अलग्गिने विषयसँग सम्बन्धित १० औँ प्रश्नमा हालसम्म खसेका १८ लाखभन्दा बढी मतमध्ये १४,०६,६७८ जनाले क्यानाडामै रहने पक्षमा र ४,५६,१९० जनाले अलगिने वा नअलगिने भन्नेबारे दोस्रो पटक मतदान हुनुपर्ने पक्षमा मत हालेका छन्। सर्बेक्षणहरूमा पृथकताबादीका पक्षमा ३० प्रतिशत जनताको समर्थन रहेको बताइए पनि उनीहरूलाई त्यो भन्दा कम समर्थन रहेको देखिएको क्यानाडाका सञ्चार माध्यमहरूले जनाएका छन्।
यी नतिजाहरू अन्तिम र आधिकारिक होइनन् तर यसले क्यानाडालाई टुक्र्याउने आन्दोलनलाई स्पष्ट रूपमा अस्वीकार गरेको सङ्केत गरेको छ। अल्बर्टामा क्युबेकमा जस्तो स्पष्ट र लोकप्रिय अलगाववादी आन्दोलन कहिल्यै नभए पनि यहाँका धेरैले कन्फेडेरेसनमा प्रान्तलाई कम प्रतिनिधित्व गराइएको र केन्द्रले विभेद गरेको गुनासो लामो समयदेखि हो। पेट्रोलियमका कारण धनी यो प्रान्त केन्द्रले लागु गरेका कडा वातावरणीय नीतिहरू र जनसंख्याको तुलनामा संसद र सिनेटमा सिट सङ्ख्या कम भएकोमा असन्तुष्ट छ।
मतगणना जारी रहेकै समयमा प्रधानमन्त्री मार्क कार्नीले अल्बर्टावासीहरूको छनोट स्पष्ट रहेको र अब देश अगाडि बढ्न सक्ने बताए। प्रधानमन्त्री कार्नीले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भने, "अल्बर्टाबासीले एकता, मिलेर निर्माण र एकअर्काको ख्याल राख्ने बाटो रोजेका छन्।"
सोमबारको जनमतसङ्ग्रहमा अन्य नौ वटा प्रश्नहरू पनि समावेश थिए, जसमध्ये पाँच वटा अध्यागमन दर घटाउने वा अस्थायी बासिन्दाहरूका लागि केही सार्वजनिक सेवाहरू कटौती गर्ने प्रस्तावसँग सम्बन्धित थिए। प्रारम्भिक प्रतिवेदनअनुसार ती पाँच प्रश्नहरूमा आधाभन्दा बढी अल्बर्टावासीहरूले प्रिमियर डेनियल स्मिथका प्रस्तावहरूको पक्षमा उभिएका छन्।
यो सामग्री तयार गर्दासम्म, अन्य चार वटा संवैधानिक प्रश्नहरूमा मतदाताहरूको मत लगभग बराबर बाँडिएको छ। ती प्रश्नहरूमा सिनेट खारेज गर्न वा प्रान्तहरूलाई नै अदालतका न्यायाधीशहरू नियुक्त गर्न दिने जस्ता विषयमा अन्य प्रान्तहरूसँग मिलेर काम गर्ने प्रस्तावहरू छन्।
अल्बर्टाकी प्रिमियर डेनियल स्मिथले नतिजा र अबको कदम, विशेष गरी बाँकी नौ प्रश्नहरूबारे कुरा गर्न मङ्गलबार साँझ अल्बर्टावासीहरूलाई सम्बोधन गर्ने बताएकी छन्। स्मिथले स्पष्ट रूपमा भनेकी थिइन् यदि स्वाधीनता पक्षधरले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा अल्बर्टामा पृथकीकरणबारे थप जनमतसङ्ग्रह हुने छैन।
ट्विटरमा एक पोस्ट गर्दै उनले भनिन्, "प्रारम्भिक नतिजाले क्यानाडामै रहने पक्षमा व्यापक समर्थन देखाएकोमा म धेरै खुसी छु। अल्बर्टावासीहरूले एकताबद्ध क्यानाडाभित्र बलियो अल्बर्टाका लागि मतदान गरेका छन्।"
यस नतिजाका विषयमा पृथकताबादी अल्बर्टा प्रस्परिटी प्रोजेक्टका सह-संस्थापक जेफरी रथले प्रारम्भिक नतिजालाई बेवास्ता गर्दै अलगिन चाहने लाखौँ मानिसको मतलाई बेवास्ता गर्न नमिल्ने बताए। उनले "कट्टर सङ्घीयतावादी" प्रिमियर डेनियल स्मिथको नेतृत्व रहँदासम्म अल्बर्टाको अलगाववाद कहिल्यै साकार हुन नसक्ने पनि बताएका छन्।

सम्बन्धित खबर





.png)






.png)

.png)









तपाईंको प्रतिक्रिया