क्यानेडियन मल्टिकल्चरल काउन्सिलद्वारा नेपालका बाढीपीडितलाई ४८५० डलर सहयोग
नेपालTouch
टोरन्टो । नेपालका बाढीपहिरो पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि क्यानेडियन मल्टिकल्चरल काउन्सिल (सीएमसी) ले नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस) लाई ४,८५० क्यानेडियन डलर सहयोग गरेको छ। यो करिब ४ लाख ८५ हजार नेपाली रुपैयाँ बराबर हो।
टोरन्टोमा हिजो शनिवार 'सीएमसी'को विशेष निमन्त्रणामा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष मेलिन्डा मान्लापाज र पूर्वअध्यक्ष डा. तुलसी धरेल लगायतका पदाधिकारीहरूले उक्त रकमको चेक 'एनसीसीएस'का अध्यक्ष सुदर्शन सापकोटालाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै 'सीएमसी'की अध्यक्ष मान्लापाजले विपद्का वेला प्रभावितहरूलाई सहयोग गर्नु बहुसांस्कृतिक समुदायको मानवीय दायित्व भएको बताउँदै सीएमसी सदैव साझेदार संस्थाहरूसँग मिलेर कार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन्।
त्यसैगरी, 'सीएमसी'का पूर्वअध्यक्ष डा. तुल्सी धरेलले नेपाली समुदाय र सीएमसीबीचको बलियो सम्बन्धको चर्चा गर्दै आपत्कालीन अवस्थामा एनसीसीएसले खेल्दै आएको सक्रिय भूमिकाको प्रशंसा गरेका थिए।
.png)
सहयोग रकम ग्रहण गर्दै एनसीसीएसका अध्यक्ष सुदर्शन सापकोटाले उक्त सहयोग बिनाकुनै ढिलाइ यथाशीघ्र नेपाल पठाइने जानकारी दिए।
एनसीसीएसले क्यानडाका बहुसांस्कृतिक तथा सामुदायिक संघ-संस्थाहरूसँग साझेदार संस्थाका रूपमा सहकार्य गर्दै नेपाली समुदायको प्रतिनिधित्व गरिरहेको बताउँदै उनले यो अप्ठ्यारो घडीमा देखाएको ऐक्यबद्धताका लागि सीएमसी नेतृत्व, सम्पूर्ण टोली र दाताहरूप्रति आभार व्यक्त गरे।
क्यानडामा क्रियाशील विभिन्न समुदायहरूबीच एकता, भाइचारा र सहकार्य प्रवर्द्धन गर्दै आएका सीएमसी र एनसीसीएसले सामाजिक कार्य तथा आपत्कालीन सहयोगमा निरन्तर सहकार्य गर्दै आएका छन्।

सम्बन्धित खबर




.png)





.png)


.png)










तपाईंको प्रतिक्रिया