अन्तर्राष्ट्रिय विद्यार्थी घटेपछि क्यानाडाका कलेजमा कर्मचारी कटौती
नेपालTouch
अन्टारियो। क्यानाडाको मनिटोबा प्रान्तस्थित प्रोभिडेन्स युनिभर्सिटी कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या घटेपछि कर्मचारी कटौती गर्नुका साथै केही शैक्षिक तथा अतिरिक्त कार्यक्रम बन्द गरेको छ। पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या ८० प्रतिशतले घटेपछि कलेज आर्थिक दबाबमा परेको हो।
मनिटोबाको ओटरबर्नमा रहेको यस कलेजमा विद्यार्थी सङ्ख्या घटेसँगै आम्दानी आधाले कम भएको छ। समग्र विद्यार्थी भर्ना पनि ६२ प्रतिशतले घटेको छ। आर्थिक सङ्कट व्यवस्थापन गर्न कलेजले कर्मचारी कटौती, कामको समय घटाउने, राजीनामा र अवकाशमार्फत जनशक्ति घटाएको छ।
गत मार्चदेखि कलेजका ११५ कर्मचारीमध्ये २९ जना प्रभावित भएका छन्। उनीहरूमध्ये केहीको रोजगारी गुमेको छ भने केहीको कामको समय घटाइएको छ। त्यस्तै, केही कर्मचारीले राजीनामा दिएका छन् भने केही अवकाशमा गएका छन्।
आर्थिक दबाबकै कारण कलेजले कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित भलिबल र बास्केटबल कार्यक्रम ‘जुनियर पाइलट्स’ पनि बन्द गरेको छ। केही समयअघि मात्र दाताको सहयोगमा कलेजको खेलकुद भवनको स्तरोन्नतिमा १० लाख डलर खर्च गरिएको थियो।
कलेजका अध्यक्ष केन्टन एन्डरसनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सरकारले उपलब्ध गराउने अध्ययन अनुमति पत्रको सङ्ख्या बढाउन प्रयास गरे पनि अपेक्षित सफलता नपाएको बताएका छन्। निजी शैक्षिक संस्थाले मनिटोबा प्रान्तलाई छुट्याइएको कुल अनुमतिपत्रको ६ प्रतिशत मात्र पाउने व्यवस्था छ।
क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या नियन्त्रण गर्न सन् २०२४ देखि अध्ययन अनुमतिमा सीमा लगाउन थालेको थियो। त्यसको प्रभाव विभिन्न प्रान्तका विश्वविद्यालय र कलेजमा देखिएको छ। मनिटोबाका लागि छुट्याइने अनुमतिपत्रको सङ्ख्या सन् २०२६ मा ४० प्रतिशतले घटाएर ११ हजार १९६ मा झारिएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या घट्दा मनिटोबाका अन्य शैक्षिक संस्थासमेत प्रभावित भएका छन्। रेड रिभर कलेज पोलिटेक्निकमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या करिब ५०० ले घटेको छ, जुन अघिल्लो सङ्ख्याको तुलनामा २७ प्रतिशत हो।
युनिभर्सिटी अफ विनिपेगमा सन् २०२४ मा १ हजार ६७७ पुगेको अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या घटेर १ हजार ३४३ मा झरेको छ। युनिभर्सिटी अफ मनिटोबामा पनि सन् २०२३ को शरद् ऋतुमा अनुमानित ६ हजार ९१५ रहेको अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या पछिल्लो शरद् ऋतुमा ५ हजार ८०५ मा झरेको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या घटिरहेको समयमा क्यानाडाका स्थानीय विद्यार्थीको शिक्षण शुल्क भने बढेको छ। तथ्याङ्क क्यानाडाका अनुसार मनिटोबामा स्नातक तहका क्यानाडाली विद्यार्थीको औसत वार्षिक शिक्षण शुल्क सन् २०२३–२४ मा ५ हजार ३९० डलर रहेकामा पछिल्लो शैक्षिक सत्रमा बढेर ६ हजार २४७ डलर पुगेको छ।
मनिटोबाकी उच्च शिक्षा तथा तालिममन्त्री रेनी केबलले सन् २०२४ मा सङ्ख्या कटौती सुरु भएदेखि नै अन्तर्राष्ट्रिय विद्यार्थीका विषयमा सङ्घीय सरकारसँग निरन्तर पैरवी गर्दै आएको बताएकी छन्। उनका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी प्रान्तका समुदाय, शैक्षिक संस्था र श्रम बजारका महत्त्वपूर्ण हिस्सा हुन्।
क्यानाडा सरकारले भने आवास, स्वास्थ्य सेवा र अन्य सार्वजनिक सेवामा परेको चाप कम गर्न अस्थायी बासिन्दाको सङ्ख्या घटाउने नीति अघि सारेको छ। तर, विद्यार्थी सङ्ख्यामा आएको गिरावटले शैक्षिक संस्थाको आम्दानी, कर्मचारीको रोजगारी र कार्यक्रम सञ्चालनमा प्रत्यक्ष असर पारेको छ।

सम्बन्धित खबर




.png)





.png)


.png)










तपाईंको प्रतिक्रिया