सीपयुक्त जनशक्ति तयार पार्न क्यानाडाले २५८.६ मिलियन डलर खर्च गर्ने
नेपालTouch
अन्टारियो। क्यानाडा सरकारले देशका प्रमुख क्षेत्रमा दक्ष कामदारको अभाव पूर्ति गर्न आगामी पाँच वर्षमा २५८.६ मिलियन डलरसम्म खर्च गर्ने घोषणा गरेको छ।
रोजगार तथा परिवारमन्त्री प्याटी हाज्डुले अक्टोबर १६ मा अन्टारियोको थन्डर बेमा उक्त घोषणा गरेकी हुन्।
सरकारले ल्याएको ‘सेक्टरल वर्कफोर्स इनोभेसन फन्ड’ मार्फत ऊर्जा, महत्त्वपूर्ण खनिजलगायतका क्षेत्रमा आवश्यक सीप भएका कामदार तयार पार्न सहयोग गरिनेछ।
यो कोषले कामदारको सीप र उद्योगले खोजेको दक्षताबीचको अन्तर घटाउने लक्ष्य राखेको छ। यसअन्तर्गत तालिमलाई छिटो र प्रभावकारी बनाउने, सीप परीक्षण गर्ने तथा आवश्यक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया सहज बनाउने परियोजनालाई सहयोग गरिनेछ।
सरकारले आगामी पाँच वर्षका लागि २५८.६ मिलियन डलरसम्म उपलब्ध गराउनेछ। त्यसपछि पनि कोषका लागि वार्षिक ५० मिलियन डलर खर्च गर्ने योजना छ।
प्रधानमन्त्री मार्क कार्नीले एक वर्षअघि यो कोष स्थापना गर्ने घोषणा गरेका थिए। कोषका लागि परियोजना प्रस्ताव माग्ने प्रक्रिया गत अगस्टमा सुरु भएको थियो।
उद्योग र तालिम प्रदायक संस्थाबीच सहकार्यमा सञ्चालन हुने तथा प्राथमिकताप्राप्त क्षेत्रमा कामदारको सीप विकास गर्ने परियोजनालाई प्राथमिकता दिइनेछ।
क्यानाडा सरकारले घर निर्माण, स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन तथा ब्याट्री उत्पादन, जहाज निर्माण, आधुनिक उत्पादन उद्योग र महत्त्वपूर्ण खनिजजस्ता क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्ने अनुमान गरेको छ।
यसअघि सरकारले दक्ष कामदार उत्पादन गर्न आगामी पाँच वर्षमा एक लाख जनासम्मलाई तालिम दिने उद्देश्यसहित विभिन्न कार्यक्रममा अर्बौँ डलर लगानी गर्ने घोषणा गरिसकेको छ।
अक्टोबर १५ मा पनि प्रशिक्षु तालिमका सुविधा र उपकरणमा लगानी गर्न युनियन तथा अन्य संस्थालाई सहयोग गर्ने गरी ४३० मिलियन डलरको कार्यक्रम घोषणा गरिएको थियो।
सरकारका अनुसार दक्ष कामदारको अभावले निर्माण र उत्पादन उद्योगसहित विभिन्न क्षेत्रमा चुनौती थपिरहेको छ।
नयाँ कोषले कामदारलाई मागअनुसारको सीप सिक्ने अवसर उपलब्ध गराउनुका साथै रोजगारदातालाई आवश्यक जनशक्ति जुटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर




.png)





.png)


.png)










तपाईंको प्रतिक्रिया