अल्बर्टाको आमा नेपाली कुजिनले जुटायो १ लाख २५ हजार डलरको सहयोग
शिरोमणि दवाडी
मातृभूमि नेपालबाट हजारौँ किलोमिटर टाढा भए पनि मन र भावना सधैँ आफ्नै देशसँग जोडिइरहन सक्छ। देशमा विपत्ति पर्दा यहाँका पीडितका आँसु पुछ्न आफूले सकेको योगदान गर्नुपर्छ भन्ने हुटहुटीले मानिसलाई कति अर्थपूर्ण काम गर्न प्रेरित गर्न सक्छ भन्ने उदाहरण क्यानाडाको अल्बर्टा प्रान्तस्थित कोक्रेनमा रहेको 'आमा नेपाली कुजिन' ले प्रस्तुत गरेको छ।
विराटनगरका ज्ञानेन्द्र बन्जरा शर्मा र तारा पौडेलले सञ्चालन गर्दै आएको यस रेस्टुरेन्टले आफ्नो नियमित कार्यक्रमलाई मानवीय सहयोग अभियानसँग जोड्दै नेपालका बाढीपीडित परिवारका लागि १ लाख २५ हजार क्यानेडियन डलर (करिब एक करोड ३० लाख रूपैयाँ) भन्दा बढी रकम सङ्कलन गरेको छ। ‘मोमोथन : ट्रेक टु नेपाल’ नामले परिचित कार्यक्रमको यो तेस्रो शृङ्खला भए पनि यसलाई बृहत् सहयोग अभियानका रूपमा सञ्चालन गरिएको भने पहिलोपटक हो। मोमो बेच्ने सोचभन्दा माथि उठेर त्यसकै माध्यमबाट मातृभूमिमा विपत्तिमा परेका परिवारलाई सहयोग जुटाउने यो पहल एउटा रेस्टुरेन्टले अपनाएको सिर्जनात्मक तरिका मात्रै हैन, यो प्रवासमा रहेर पनि देशप्रतिको जिम्मेवारी निर्वाह गर्न सकिन्छ, आफ्नै पेसा र व्यवसायलाई मानवीय सेवाको माध्यम बनाउन सकिन्छ र निःस्वार्थ उद्देश्यले मानिसका मन जोड्न सकिन्छ भन्ने प्रेरक दृष्टान्त पनि हो।
आँसु देखेर चुप लाग्न सकेनन्
नेपालमा ठूलो विपत्ति पर्दा धेरै परिवारको बिचल्ली भएको, मानिसहरू घरबार र जीविकोपार्जनको आधार गुमाएर पीडामा परेको देख्दा ज्ञानेन्द्र र ताराको मन पनि विचलित भयो। व्यवसाय सञ्चालनमा व्यस्त रहने उनीहरूलाई मातृभूमिमा परेको दुःखमा कुनै न कुनै तरिकाले सहभागी हुनुपर्छ भन्ने लाग्यो। सुरुमा उनीहरूले प्रधानमन्त्री राहत कोषमा एक हजार क्यानेडियन डलर पठाए, तर त्यति मात्रै गरेर मन मानेन। अझ धेरै सहयोग जुटाउन सकिन्छ भन्ने सोचले उनीहरूले यस वर्षको नियमित ‘मोमोथन’ कार्यक्रमलाई नै नेपालका बाढीपीडितका लागि सहयोग अभियानमा रूपान्तरण गर्ने निर्णय गरे। सहयोगका लागि उनीहरूको अनुमानभन्दा धेरै मानिस जोडिए र अनुमानै नगरेको १ लाख २५ हजार डलर रकम सङ्कलन भयो। “निस्वार्थ भावले आँट गरेपछि सफल हुने रहेछ,” अभियानको सफलताप्रतिको प्रतिक्रिया दिँदै तारा र ज्ञानेन्द्रले खुसी व्यक्त गरे। नेपालप्रतिको चिन्ता र पीडितलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर मानिसहरूले खुलेर साथ दिएको देख्दा आफूहरू सबै सहयोगीप्रति आभारी रहेको उनीहरूले बताए।

सगरमाथाको झल्को दिने पदयात्रा, नेपालको सम्झना दिलाउने अभियान
‘मोमोथन : ट्रेक टु नेपाल’ को यस वर्षको कार्यक्रम २०२६ अक्टोबर ३ मा कोक्रेनमा आयोजना गरिएको थियो। कार्यक्रमलाई रोचक, सहभागितामूलक र नेपालसँग भावनात्मक रूपमा जोडिएको बनाउन आयोजकले सगरमाथा आधार शिविरको झल्को दिने गरी पदयात्राको व्यवस्था गरेका थिए। कार्यक्रमस्थल र पदयात्राका विभिन्न स्थानलाई सगरमाथा आधार शिविरतर्फको यात्रासँग सम्बन्धित स्थानहरूको नाम दिएर सजाइएको थियो। सहभागीहरूलाई गाइड गर्दै अघि बढाइएको थियो, जसले क्यानाडामै बसेर नेपालको हिमाली यात्राको अनुभूति दिलाउने प्रयास गरेको थियो।
हेरिटेज हिल्स क्षेत्रमा करिब ३.५ किलोमिटरको निर्देशित पदयात्रा सञ्चालन गरिएको थियो। यात्राका क्रममा १२ वटा निर्धारित स्थानमा सहयोग सङ्कलन गर्ने व्यवस्था थियो। सहभागीहरूलाई प्रत्येक स्थानमा एक वा दुई क्यानेडियन डलरका सिक्का सहयोगस्वरूप राख्न प्रोत्साहित गरिएको थियो। अन्तिम गन्तव्यलाई सगरमाथाको २९ हजार ३१ फिट उचाइको प्रतीकात्मक शिखरका रूपमा प्रस्तुत गर्दै त्यहाँ पाँच डलर सहयोग गर्ने अवधारणा राखिएको थियो। यसरी सामान्य पदयात्रालाई नेपालको प्राकृतिक पहिचान, सामुदायिक सहभागिता र मानवीय सहयोगसँग जोडिएको थियो। परिवारसहित सहभागी हुन सकिने यस कार्यक्रमले सहयोगलाई सहज र रमाइलो बनाउँदै एउटा साझा उद्देश्यमा मानिसहरूलाई जोड्यो। नेपालको गौरव सगरमाथाको पहिचानलाई आधार बनाएर विपत्तिमा परेका परिवारलाई सहयोग जुटाउनु यस अभियानको विशिष्ट पक्ष थियो।
४४८ जनाको प्रत्यक्ष सहभागिता, ७०० जनाभन्दा बढीको साथ
अभियानको सफलताको एउटा महत्त्वपूर्ण आधार व्यापक सामुदायिक सहभागिता बन्यो। आयोजकका अनुसार, २९ क्यानेडियन डलरमा मोमो अर्डर गरेर पदयात्रामा सहभागी हुने ३४० जना थिए भने त्यसबाहेक स्वतःस्फूर्त रूपमा १०८ जना थपिएका थिए। यसरी कार्यक्रमस्थलमा प्रत्यक्ष सहभागी हुनेको सङ्ख्या ४४८ पुग्यो। कार्यक्रमस्थलमा उपस्थित हुन नसके पनि सहयोग गर्नेहरूको योगदानलाई समेत जोड्दा अभियानमा सहभागी हुनेको कुल सङ्ख्या करिब ७०० पुगेको आयोजकले बताए। कसैले मोमो अर्डर गरेर, कसैले पदयात्रामा सहभागी भएर, कसैले आर्थिक सहयोग गरेर त कसैले अन्य माध्यमबाट अभियानलाई साथ दिए। एउटै उद्देश्यका लागि मानिसहरूले आ-आफ्नो ठाउँबाट गरेको योगदानले सामूहिक प्रयासको शक्ति देखायो।

मोमो अर्डर गर्ने प्रत्येक व्यक्तिलाई २०२७ मा सगरमाथा आधार शिविरसम्मको सम्पूर्ण खर्च बेहोर्ने यात्राको चिठ्ठामा सहभागी हुने अवसर पनि दिइएको थियो। चिट्ठा जनवरीमा खोलिनेछ र विजेता एकजनाले सगरमाथा आधार शिविर भ्रमण गर्ने अवसर पाउनेछन्। आयोजकका अनुसार, यसअघिका एकजना विजेता सगरमाथा आधार शिविर पुगेर फर्किसकेका छन् भने अर्का एकजना आगामी जनवरीमा जाने तयारीमा छन्। यसले अभियानको विश्वसनीयता र गरिमालाई फराकिलो बनाएको छ। मोमो अर्डर गर्ने व्यक्तिले नेपाली खानाको स्वाद लिनुका साथै नेपालको प्राकृतिक सम्पदासँग जोडिने अवसर पनि पाएका छन्।
सहयोग रकम नेपालमै, प्रभावित क्षेत्रसम्म
अभियानबाट सङ्कलित रकम नेपालका बाढीप्रभावित परिवारको राहत तथा पुनःस्थापनामा प्रयोग गर्ने उद्देश्य राखिएको थियो। आयोजकबाट प्राप्त जानकारीअनुसार, रकम ‘रोटरी क्लब अफ कोक्रेन’ र ‘सेल्टर बक्स डिजास्टर रिलिफ’ (ShelterBox Disaster Relief) सँगको सहकार्यमा नेपालका प्रभावित क्षेत्रमा पुर्याइिसकिएको छ। आयोजकका अनुसार, सेल्टर बक्सका प्रतिनिधिहरू नेपालमै रहेर बाढीप्रभावित क्षेत्रमा निरन्तर सहयोग तथा सेवा प्रदान गरिरहेका छन्। सेल्टर बक्स विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था हो। नेपालसहित श्रीलङ्का र भेनेजुएलालगायत विभिन्न देशमा विपद् राहतका काममा संलग्न रहँदै आएको यस संस्थाले २०१५ को विनाशकारी भूकम्पपछि पनि नेपालमा सहयोग गरेको थियो। यस सहकार्यको महत्त्व के हो भने क्यानाडामा रहेका व्यक्तिहरूले सङ्कलन गरेको सहयोगलाई प्रभावित क्षेत्रमा पुर्याउन स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाको सञ्जाल प्रयोग गरिएको छ। यसले विदेशमा उठाइएको रकमलाई नेपालमा आवश्यक परेका समुदायसम्म पुर्याउने प्रक्रियालाई सहज बनाएको छ।
जुलाईदेखि सुरु हुने अभियान, जनवरीमा समापन
‘मोमोथन: ट्रेक टु नेपाल’ आमा नेपाली कुजिनले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम हो। आयोजकका अनुसार, हरेक वर्ष जुलाईमा कार्यक्रमको आह्वान गरिन्छ र प्रायः जनवरीमा यसको प्रक्रिया समापन गरिन्छ। यस वर्षको विशेषता भनेको नियमित कार्यक्रमलाई नेपालका बाढीपीडितका लागि बृहत् सहयोग अभियानसँग जोड्नु थियो। यो तेस्रो शृङ्खला भए पनि परोपकारी अभियानका रूपमा विस्तार गरिएको पहिलो वर्ष हो। यस वर्ष प्राप्त साथ र सफलताले आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी च्यारिटी अभियानका रूपमा विकास गर्न सकिने सम्भावना देखाएको छ।
.jpg)
एउटा नेपाली रेस्टुरेन्टको यात्राः पोखराको झल्को दिने कोक्रेनसम्म
ज्ञानेन्द्र र ताराको मानवीय अभियान बुझ्न उनीहरूको व्यावसायिक यात्रालाई पनि हेर्नुपर्छ। विराटनगरका ज्ञानेन्द्रले अस्ट्रियाको भियनामा कुकिङसम्बन्धी अध्ययन पूरा गरेktan पछि २०१० मा क्यानाडा आएका थिए। क्यानाडामा सेफका रूपमा काम गर्दै आएका उनको रोजगारी कोभिड महामारीको समयमा गुम्यो। उनकी श्रीमती तारा बैंकमा काम गर्थिन्। महामारीका कारण आएको परिवर्तनपछि दुवैले आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाए। त्यही समयमा नेपालमा होमस्टे सञ्चालनको अनुभव भएका सासूससुराले उनीहरूको सीप र अनुभवअनुसार रेस्टुरेन्ट व्यवसाय गर्न सुझाव दिए। उपयुक्त ठाउँ खोज्दै जाँदा उनीहरू अल्बर्टाको कोक्रेन पुगे। वरिपरि डाँडाकाँडा र प्राकृतिक सौन्दर्यले घेरिएको त्यो ठाउँ ज्ञानेन्द्रलाई पोखराजस्तै लाग्यो। त्यही वातावरणले उनलाई नयाँ ठाउँमा नेपाली खानाको व्यवसाय सुरु गर्ने निर्णयमा थप प्रेरित गर्यो। २०२१ मा व्यवसाय सञ्चालन गर्ने निर्णयमा पुगेका उनीहरूले २०२२ अगस्टदेखि ‘आमा नेपाली कुजिन’लाई निरन्तर सञ्चालन गर्दै आएका छन्। करिब ४० हजार जनसङ्ख्या भएको पर्यटकीय कोक्रेनमा नेपाली स्वाद र संस्कृतिको पहिचान स्थापित गर्नु उनीहरूका लागि व्यवसाय मात्र थिएन, आफ्नो देशको खानालाई नयाँ समुदायसम्म पुर्याउने अवसर पनि थियो।
पूर्वदेखि पश्चिमसम्मका नेपाली परिकार एउटै भान्सामा
आमा नेपाली कुजिनमा पूर्वी नेपालको तराई, पहाड र हिमाली भेगका विभिन्न जातजातिसँग सम्बन्धित परिकार उपलब्ध छन्। केही क्यानेडियन परिकार पनि पाइने भए तापनि धेरै ग्राहकले नेपाली खानाकै स्वाद लिन रुचाउने गरेको ज्ञानेन्द्र बताउँछन्। नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई एउटै भान्सामा प्रस्तुत गर्ने प्रयासले रेस्टुरेन्टलाई नेपाली खानाको पहिचान प्रवर्द्धन गर्ने माध्यम बनाएको छ। ‘आमा’ शब्द आफैँमा माया, ममता, घर र आत्मीयताको प्रतीक हो। विदेशमा नेपाली खाना खानु धेरैका लागि स्वादको अनुभव मात्र हुँदैन; त्यो आफ्नो परिवार, गाउँघर र बाल्यकालको सम्झनासँग पनि जोडिएको हुन्छ। अहिले ज्ञानेन्द्र र तारा आफूसहित अन्य पाँच जना कर्मचारी गरी सात जनाको टोलीले रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।
यस वर्षको अनुभवबाट उत्साहित ज्ञानेन्द्र र ताराले आगामी दिनमा ‘मोमोथन’लाई हरेक वर्ष च्यारिटी कार्यक्रमका रूपमा विकास गर्ने सोच बनाएका छन्। उनीहरूका अनुसार, यस अभियानले व्यवसायसँगै समाजसेवामा निरन्तर लागिरहने हौसला दिएको छ। “अब त हरेक वर्ष मोमोथनलाई च्यारिटी कार्यक्रमका रूपमा विकास गर्ने सोच बनाएका छौँ। यसले हामीलाई व्यवसायसँगै समाजसेवामा निरन्तर लाग्ने हौसला मिलेको छ,” ज्ञानेन्द्र र ताराले बताए।
प्राकृतिक विपद् पर्दा प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता हुन्छ। त्यस्तो समयमा सहयोग गर्ने सोचलाई भोलिका लागि थाती राख्ने कि आफूले सक्ने योगदान आजैबाट सुरु गर्ने? यो प्रश्न हरेक सचेत नागरिक र सामाजिक रूपमा जिम्मेवार संस्थाका लागि महत्त्वपूर्ण छ। “परेको बेला नगरेर कहिले गर्ने? जीवनकालमै नगरे कहिले गर्ने?” यी प्रश्न केवल भावनात्मक अभिव्यक्ति होइनन्; कर्मका लागि प्रेरित गर्ने आह्वान हुन्। समाजका लागि योगदान दिन ठूलो संस्था, विशाल स्रोतसाधन वा असाधारण अवसर नै चाहिन्छ भन्ने छैन। इमानदार उद्देश्य, सिर्जनशील सोच र अरूको दुःखलाई आफ्नो दुःख ठान्ने संवेदनाले पनि उल्लेखनीय अभियान जन्माउन सक्छ भन्ने मोमोथन एउटा उदाहरण हो।
मातृभूमिबाट टाढा, भावनाले नजिक
विदेशमा बस्नुको अर्थ आफ्नो जन्मभूमि, समाज र त्यहाँका मानिससँगको सम्बन्ध कमजोर हुनु होइन। बरु दूरीले कहिलेकाहीँ मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई अझ गहिरो बनाउन सक्छ। नेपालमा बाढी आउँदा त्यसको पीडा प्रभावित बस्तीमा बस्ने मानिसले मात्र महसुस गर्दैनन्; आफ्नै गाउँ, परिवार, साथीभाइ र देश सम्झेर विदेशमा बस्ने नेपालीको मन पनि उत्तिकै व्याकुल हुन सक्छ। यस्तो अवस्थामा सहयोगको हात बढाउनु भनेको पैसा पठाउनu मात्र होइन, आफू जहाँ भए पनि मातृभूमिको दुःखमा साथमा छु भन्ने विश्वास दिलाउनु हो। ज्ञानेन्द्र र ताराको पहलले यही भावनालाई व्यवहारमा उतारेको छ।
आखिर देशप्रेम सधैँ ठूला भाषण र नारामा मात्र व्यक्त हुँदैन। कहिलेकाहीँ त्यो एउटा मोमोको प्लेटमा, पदयात्रामा राखिएको सिक्कामा, स्वयंसेवकले दिएको समयमा वा विपद्मा परेका परिवारलाई सम्झेर बढाइएको सहयोगको हातमा पनि प्रकट हुन्छ। मातृभूमिबाट टाढा हुनु र मातृभूमिप्रतिको जिम्मेवारीबाट टाढा हुनु फरक कुरा हुन्। आमा नेपाली कुजिनको ‘मोमोथन : ट्रेक टु नेपाल’ अभियानले यही सत्यलाई पुनः स्मरण गराएको छ—मनमा देशप्रतिको माया, उद्देश्यमा निःस्वार्थता र कर्ममा इमानदारी भए दूरीले पनि सेवाको बाटो रोक्न सक्दैन। मनदेखि मनसम्म जोडिएको यही सम्बन्ध नै मातृभूमिप्रतिको साँचो प्रेमको सुन्दर अभिव्यक्ति हो।

सम्बन्धित खबर





.png)




.png)


.png)










तपाईंको प्रतिक्रिया