• सोमबार, ३ कार्तिक, २०८३
  • Monday, 19 October, 2026
  • X

अल्बर्टा जनमतसङ्ग्रह: पहिलो दिनमै १ लाख ७४ हजारभन्दा बढी मतदान

नेपालTouch
बिहीबार असोज २९, २०८३ | Thursday October 15,2026
प्रतीकात्मक तस्बिर

अन्टारियो। क्यानाडाको अल्बर्टा प्रान्तमा आगामी सोमबार हुने जनमतसङ्ग्रहका लागि अग्रिम मतदानको पहिलो दिनमै एक लाख ७४ हजारभन्दा बढी मत खसेको छ।

क्यानाडाबाट अलग हुने प्रक्रिया अघि बढाउने विषयसमेत समेटिएको जनमतसङ्ग्रहमा मतदाताको सहभागिता उच्च देखिएको हो।

अल्बर्टाको निर्वाचन निकायका अनुसार सोमबार अग्रिम मतदानको पहिलो दिन एक लाख ७४ हजार ५३२ जनाले मतदान गरेका छन्।

सन् २०२३ को प्रान्तीय निर्वाचनमा अग्रिम मतदान अवधिमा दैनिक औसत एक लाख ५१ हजार ७२७ जनाले मतदान गरेका थिए। त्यसको तुलनामा यसपटक पहिलो दिनको सहभागिता बढी देखिएको छ।

अक्टोबर १९ मा हुने जनमतसङ्ग्रहका लागि निर्वाचन निकायले यसअघि नै करिब चार लाख १८ हजार हुलाकमार्फत मतदान गर्ने मतपत्र स्वीकृत गरिसकेको थियो।

अग्रिम मतदान र हुलाकमार्फत मतदानको सङ्ख्याले यसपटक मतदाताको सहभागिता बलियो रहने सङ्केत गरेको छ।

जनमतसङ्ग्रहमा क्यानाडाबाट अलग हुने पक्षधर र क्यानाडामै रहनुपर्ने पक्षधर दुवैले आफ्ना समर्थकलाई मतदान केन्द्रसम्म पुर्‍याउने अभियान तीव्र बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा मतदाताको धारणा परिवर्तन गराउनेभन्दा पनि आफ्ना समर्थकलाई मतदानमा सहभागी गराउने रणनीतिमा दुवै पक्ष केन्द्रित भएका छन्।

क्यानाडामै रहनुपर्ने पक्षमा अभियान चलाइरहेका ‘फरेभर क्यानेडियन’का नेतृत्वकर्ता तथा अल्बर्टाका पूर्वमन्त्री थोमस लुकासजुकले अक्टोबर १९ अघि मतदातालाई मतदान गर्न प्रेरित गर्न करिब १८ हजार स्वयंसेवक परिचालन गरिएको बताए।

उनका अनुसार अल्बर्टाका धेरै नागरिक क्यानाडाली हुनुमा गर्व गर्छन्। जनमतसङ्ग्रहका कारण आफूहरूलाई क्यानाडाप्रतिको प्रतिबद्धता प्रमाणित गर्नुपर्ने अवस्था सिर्जना गरिएको भन्दै कतिपय नागरिक असन्तुष्ट रहेको उनले बताए।

अल्बर्टा क्यानाडाको एकताका लागि कमजोर कडी नबन्ने सन्देश दिन मतदाताले मतदान गर्ने उनको भनाइ छ।

यद्यपि, अलग हुने पक्षका मतदाता पनि निकै उत्साहित रहेको उनले स्वीकार गरे। त्यस्ता मतदाता मतदान गर्न कठिन परिस्थितिको समेत सामना गर्न तयार रहेको उनको टिप्पणी थियो।

त्यसैले आफ्नो अभियानले मतदाताको पहिचान गरी उनीहरूलाई मतदान केन्द्रसम्म पुर्‍याउन विशेष ध्यान दिएको उनले बताए।

यसपटकको जनमतसङ्ग्रहमा अल्बर्टावासीले तत्काल क्यानाडाबाट अलग हुने वा नहुने भन्ने निर्णय भने गर्दै छैनन्।

उनीहरूलाई क्यानाडाको संविधानअनुसार प्रान्तलाई क्यानाडाबाट अलग गर्ने विषयमा बाध्यकारी जनमतसङ्ग्रह गराउने कानुनी प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्ने प्रश्नमा मतदान गर्न लगाइएको छ।

ग्लोबल न्युजका लागि इप्सोसले सेप्टेम्बर १८ देखि २२ सम्म गरेको सर्वेक्षणमा ७० प्रतिशत अल्बर्टावासीले क्यानाडामै रहन चाहेको बताएका थिए। २० प्रतिशतले मात्रै प्रान्तको स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह चाहेको बताएका थिए।

यस जनमतसङ्ग्रहमा सरकारले अघि सारेका कुल १० वटा प्रश्न छन्। तीमध्ये अधिकांश आप्रवासन र संवैधानिक विषयसँग सम्बन्धित छन्।

क्यानाडाबाट अलग हुने विषयमा अर्को जनमतसङ्ग्रह गराउने कानुनी प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्ने प्रश्न एउटा मात्रै छ।

सर्वेक्षणमा सहभागी ७६ प्रतिशतले मतपत्रमा धेरै प्रश्न रहेको थाहा पाएको बताएका थिए भने ६२ प्रतिशतले सबै १० प्रश्नमा मतदान गर्ने बताएका थिए।

सर्वेक्षणले प्रान्तलाई क्यानाडाबाट अलग गर्ने विषयमा बाध्यकारी जनमतसङ्ग्रह गराउन चाहने र वास्तवमै क्यानाडाबाट अलग हुन चाहने नागरिकको सङ्ख्याबीच पनि अन्तर देखाएको छ।

जनमतसङ्ग्रह गराउनुपर्ने पक्षमा २० प्रतिशत रहे पनि अलग हुने पक्षमा भने १४ प्रतिशत मात्रै देखिएका थिए।

अल्बर्टाको राजनीतिक गतिविधिमा लामो समय काम गरेका एन्ड्र्यु म्याककेन्ड्रिकले अहिलेको जनमतसङ्ग्रहलाई मतदाताले क्यानाडाको समग्र राजनीतिक र आर्थिक अवस्थासँग जोडेर हेरिरहेको बताए।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका क्यानाडासम्बन्धी अभिव्यक्ति र भन्सार शुल्कका कारण विभिन्न कम्पनीले कर्मचारी कटौती गर्ने घोषणा गरिरहेको अवस्थाले पनि मतदातालाई मतदान गर्न प्रेरित गरेको बताए।

उनका अनुसार अहिलेको अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक अनिश्चितताका बीच जनमतसङ्ग्रहमा सहभागी नहुँदा त्यसको परिणाम ठूलो हुन सक्ने चिन्ताले मतदाताको सहभागिता बढाउन सक्छ।

लुकासजुकले भने सर्वेक्षणमा क्यानाडामै रहने पक्ष बलियो देखिए पनि आफ्नो अभियानले त्यसलाई जितको सुनिश्चितताका रूपमा नलिएको बताए।

जनमतसङ्ग्रहमा जित्ने पक्षमा रहेको विश्वासले मतदातामा उदासीनता बढ्न सक्ने भन्दै उनले अन्तिम चरणको अभियानलाई निर्णायक मानेका छन्।

उनले बेलायत युरोपेली सङ्घबाट बाहिरिने निर्णय भएको ‘ब्रेक्जिट’ र विभिन्न निर्वाचनमा देखिएको अनुभवबाट पनि यसबारे पाठ सिक्नुपर्ने बताए।

तपाईंको प्रतिक्रिया