अल्बर्टाको प्रतिष्ठित ‘यङ्ग लिडर अवार्ड’ नेपाली भाषी युवा कमल खतिवडालाई
नेपालTouch
टोरन्टो। क्यानाडाको अल्बर्टा प्रान्तले दिने प्रतिष्ठित ‘अल्बर्टा इम्रिग्रन्ट इम्प्याक्ट अवार्ड्स २०२६’ बाट पूर्व भुटानी मुलका नेपाली भाषी युवा कमल खतिवडा सम्मानित भएका छन्। आप्रवासीहरूले क्यानाडाको समाजमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रान्तीय सरकारद्वारा प्रदान गर्ने अवार्डअन्तर्गत उनले ‘यङ्ग लिडर’ विधाको प्रतिष्ठित पुरस्कार पाएका हुन्।
क्यालगरी विश्वविद्यालयका सामाजिक सेवा विषयमा स्नातकोत्तर (एमएसडब्ल्यू) गरेका उनी हाल सोही ठाउँमा विद्यावारिधी अध्ययनरत छन्। विशेष गरी मानसिक स्वास्थ्य प्रवर्द्धन, सामाजिक समावेशीकरण र समुदायमा युवाहरूको सशक्तीकरणका क्षेत्रमा उच्च योगदान पुर्याउँदै आएका खतिवडा रजिष्टर्ड सोसल वर्कर हुन्।
चुनौतिपूर्ण पृष्ठभूमिबाट क्यानाडा आएर आफ्नो शैक्षिक तथा व्यावसायिक यात्रामा खतिवडाले मारेको फड्को प्रेरणादायी रहेको छ।
"नेपालबाट शरणार्थीका रूपमा क्यानाडा आएपछि गम्भीर सामाजिक, आर्थिक र सांस्कृतिक चुनौतीहरूलाई पार गर्दै आज नयाँ आप्रवासी तथा शरणार्थी समुदायमा एक सम्मानित नेतृत्वका रूपमा आफूलाई स्थापित गर्नुभएको छ" खतिवडाले अध्ययन गरेको युनिभर्सिटी अफ क्यालगरी फ्याकल्टी अफ सोसल वर्कले वधाई दिँदै लेखेको छ, "कमलले आफ्नो यो नयाँ घर (क्यानाडा) मा पुर्याउनुभएको योगदान र उपलब्धिहरू सम्मानित भएकोमा हामीलाई निकै गर्व लागेको छ।"
अल्बर्टा सरकारद्वारा आयोजित यस अवार्ड कार्यक्रमले प्रान्तभर विभिन्न क्षेत्रमा उत्कृष्ट प्रभाव पार्ने आप्रवासी प्रतिभा तथा समुदायका अग्रजहरूलाई सम्मान गर्ने गर्दछ। यस वर्ष विभिन्न ८ विधामा २० जनालाई अवार्डद्वारा सम्मान गरिएको हो।

सम्बन्धित खबर





.png)





.png)


.png)









तपाईंको प्रतिक्रिया