• बिहीबार, २९ असोज, २०८३
  • Thursday, 15 October, 2026
  • X

क्यानाडामा पाँचमध्ये दुई जनालाई परोपकारी संस्थाको सहयोग आवश्यक

नेपालTouch
बुधबार असोज २८, २०८३ | Wednesday October 14,2026

अन्टारियो। क्यानाडामा पछिल्लो एक वर्षमा पाँचमध्ये दुई जना अर्थात् करिब ४० प्रतिशत नागरिकले परोपकारी संस्था वा गैरनाफामूलक संस्थाबाट सेवा लिएको एक सर्वेक्षणले देखाएको छ। विशेषगरी बालबालिका भएका परिवारले यस्तो सहयोग खोज्ने सम्भावना बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

क्यानाडाको रोयल बैंक (आरबीसी) का लागि इप्सोसले गरेको सर्वेक्षणअनुसार, बालबालिका भएका परिवारमध्ये ४९ प्रतिशतले पछिल्लो १२ महिनामा परोपकारी वा गैरनाफामूलक संस्थाको सहयोग लिएका छन्। बालबालिका नभएका परिवारमा यस्तो सहयोग लिनेको अनुपात ३६ प्रतिशत छ। सर्वेक्षणको नतिजा मंगलबार, अक्टोबर १३ मा सार्वजनिक गरिएको हो।

सर्वेक्षणमा स्वास्थ्य सेवासँग सम्बन्धित परोपकारी तथा गैरनाफामूलक संस्थाको सेवा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ। यस्तो सेवा लिनेको अनुपात ६८ प्रतिशत छ। त्यसपछि खाद्य सहायता उपलब्ध गराउने संस्थाको सेवा लिने २६ प्रतिशत र शैक्षिक सेवा लिने १५ प्रतिशत छन्।

त्यस्तै, आवाससम्बन्धी सेवा लिने १२ प्रतिशत, सामाजिक कार्यक्रमबाट सहयोग लिने १२ प्रतिशत, रोजगारीसम्बन्धी सेवा लिने नौ प्रतिशत तथा व्यावसायिक र सीप विकाससम्बन्धी सेवा लिने छ प्रतिशत छन्। सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाट सहयोग लिनेको अनुपात पनि छ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।

सहयोग लिएका नागरिकमध्ये ७९ प्रतिशतले परोपकारी वा गैरनाफामूलक संस्थाको सेवा कहिलेकाहीँ मात्रै प्रयोग गर्ने बताएका छन्। तर २१ प्रतिशतले भने नियमित रूपमा यस्तो सहयोग लिने गरेका छन्।

कुन उमेर समूहका नागरिकले कस्तो सेवा खोज्छन् भन्नेमा पनि भिन्नता देखिएको छ। युवा नागरिकले शिक्षा र रोजगारीसम्बन्धी सेवामा बढी निर्भरता देखाएका छन् भने वृद्ध उमेरका नागरिकले स्वास्थ्य सेवासम्बन्धी सहयोग बढी लिने गरेका छन्।

पुस्ता आधारमा हेर्दा ‘जेनेरेसन जेड’ का नागरिकले परोपकारी संस्थाको सेवा सबैभन्दा बढी प्रयोग गरेको पाइएको छ। यस समूहका ४४ प्रतिशतले पछिल्लो एक वर्षमा यस्ता संस्थाबाट सेवा लिएका छन्।

सर्वेक्षणले क्यानाडाको समुदायमा परोपकारी तथा गैरनाफामूलक संस्थाको भूमिका महत्त्वपूर्ण रहेको देखाएको छ। स्वास्थ्य, खाद्य सहायता, शिक्षा, आवास र रोजगारीजस्ता क्षेत्रमा यी संस्थाले नागरिकलाई सेवा उपलब्ध गराउँदै आएका छन्।

आरबीसीका अनुसार इप्सोसले सन् २०२६ मे २७ देखि २९ सम्म अनलाइन माध्यमबाट सर्वेक्षण गरेको थियो। यसमा १८ वर्ष वा सोभन्दा बढी उमेरका एक हजार एक जना वयस्क सहभागी थिए। 

 

तपाईंको प्रतिक्रिया