• बिहीबार, २९ असोज, २०८३
  • Thursday, 15 October, 2026
  • X

अन्टारियोका केही क्षेत्रमा अब वर्षभरि एउटै समय

नेपालTouch
बुधबार असोज २८, २०८३ | Wednesday October 14,2026

अन्टारियो। क्यानाडाको अन्टारियो प्रान्तका उत्तरपश्चिमी केही क्षेत्रमा अब वर्षभरि घडीको समय परिवर्तन गर्न नपर्ने भएको छ। प्रान्तीय सरकारले केनोरा र म्यानिटोबासँग समय मिलाउँदै आएका उत्तरपश्चिमी क्षेत्रहरूमा नोभेम्बर १, २०२६ देखि वर्षभरि ‘डे लाइट सेभिङ टाइम’ लागू गर्ने तयारी गरेको छ।

प्रान्तीय महान्यायाधिवक्ताको कार्यालयका अनुसार, प्रस्तावित परिवर्तन समयसम्बन्धी कानुनअन्तर्गत नियम संशोधन गरेर लागू गरिनेछ। अहिले मौसमी रूपमा घडीको समय परिवर्तन गर्दै आएका प्रभावित क्षेत्रका बासिन्दाले नोभेम्बर १ मा घडी एक घण्टा पछाडि सार्नुपर्ने छैन।

यो निर्णय म्यानिटोबाले वर्षमा दुई पटक घडीको समय परिवर्तन गर्ने व्यवस्था अन्त्य गर्दै नोभेम्बर १ देखि वर्षभरि डे लाइट सेभिङ टाइम कायम गर्ने घोषणा गरेपछि आएको हो। म्यानिटोबाले सेप्टेम्बर १७ मा यस्तो निर्णय सार्वजनिक गरेको थियो।

अन्टारियोका उत्तरपश्चिमी क्षेत्रहरू म्यानिटोबासँग एउटै समय क्षेत्रमा रहेकाले समय परिवर्तन गर्दा व्यवसाय, परिवार र आदिवासी समुदायमा असहजता हुन सक्ने प्रान्तीय सरकारले जनाएको छ।

दुवै प्रान्तको समय एउटै हुँदा सीमापार व्यापार सञ्चालन गर्न तथा स्वास्थ्य सेवाका भेटघाट, यात्रा र अन्य गतिविधि समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ।

अन्टारियोका आदिवासी मामिला तथा फर्स्ट नेसन्स आर्थिक मेलमिलापमन्त्री ग्रेग रिकफोर्डका अनुसार, यस विषयमा नगरपालिका, व्यवसायी र फर्स्ट नेसन्स समुदायसँग छलफल गरिएको थियो। छलफलमा सहभागी समुदायबाट समय परिवर्तन नगर्ने प्रस्तावप्रति व्यापक समर्थन प्राप्त भएको उनले बताए।

रिकफोर्डले विभिन्न सर्वेक्षणमा ९० देखि ९४ प्रतिशतसम्म समर्थन देखिएको बताएका छन्। उत्तरपश्चिमी क्षेत्रका समुदायको आवश्यकताअनुसार निर्णय गरिएको उनको भनाइ छ।

अन्टारियोका महान्यायाधिवक्ता डग डाउनीले समयसम्बन्धी निश्चितता र स्थिरताले समुदाय तथा अर्थतन्त्रलाई सहयोग पुग्ने बताए। म्यानिटोबासँग समय मिलाएर अनावश्यक अवरोध घटाउने र आर्थिक स्थिरता कायम गर्ने सरकारको उद्देश्य रहेको उनले बताए।

नयाँ व्यवस्था लागू भएपछि ९०औँ देशान्तर रेखाको पश्चिमतर्फ पर्ने प्रभावित क्षेत्रले जाडोयाममा अन्टारियोका पूर्वी क्षेत्रसँग एउटै समय कायम गर्नेछन्। तर अन्टारियोका पूर्वी समय क्षेत्रमा पर्ने टोरन्टोलगायतका क्षेत्रले भने वर्षमा दुई पटक घडीको समय परिवर्तन गरिरहनुपर्नेछ।

अन्टारियोले सन् २०२० मा पारित गरेको समय संशोधनसम्बन्धी कानुनले प्रान्तभर वर्षैभरि डे लाइट सेभिङ टाइम लागू गर्ने व्यवस्था गरेको छ। तर त्यसलाई कार्यान्वयनमा ल्याउन छिमेकी क्षेत्रसँग समन्वय आवश्यक रहेको सरकारले जनाएको छ।

विशेषगरी क्युबेक र अमेरिकी राज्य न्युयोर्कसँग व्यापार, सेयर बजार र प्रसारण सेवाका लागि समय मिलाउनु महत्त्वपूर्ण मानिएको छ।

क्यानाडामा ब्रिटिस कोलम्बिया, युकोन, म्यानिटोबा र उत्तरपश्चिमी अन्टारियोका केही क्षेत्रमा वर्षभरि डे लाइट सेभिङ टाइम कायम गर्ने तयारी वा व्यवस्था छ।

सास्काचेवानले भने वर्षभरि मानक समय अपनाएको छ। अन्य प्रान्त तथा क्षेत्रमा मौसमी रूपमा घडीको समय परिवर्तन गर्ने व्यवस्था जारी रहनेछ।

 

तपाईंको प्रतिक्रिया