• बिहीबार, २९ असोज, २०८३
  • Thursday, 15 October, 2026
  • X

मिसिसागामा अक्टोबर १२ मा 'सेप अफ मोमो' प्रदर्शन हुँदै

नेपालTouch
सोमबार असोज २६, २०८३ | Monday October 12,2026

टोरन्टो। नेपाली चलचित्र 'सेप अफ मोमो' (Shape of Momo) को क्यानाडा प्रिमियर आगामी सोमबार, अक्टोबर १२, २०२६ मा मिसिसागा शहरमा हुने भएको छ। 'इन्टरनेसनल फिल्म फेस्टिभल अफ साउथ एसिया' (IFFSA) टोरन्टोअन्तर्गत प्रस्तुत गर्न लागिएको यो चलचित्र कोर्टनी पार्कस्थित सिनेप्लेक्स सिनेमाजमा दिउँसो २:०० बजे प्रदर्शन हुनेछ। 

करिब २ घण्टा लामो यो चलचित्रको टिकट प्रतिव्यक्ति १० डलर तोकिएको छ।

सिक्किमेली-नेपाली निर्देशक त्रिबेणी राईको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा गौमाया गुरुङ, पशुपति राई र श्यामा श्री शेर्पाको मुख्य भूमिका रहेको छ। निर्देशक राईकै जीवनका भोगाइहरूबाट प्रभावित यस फिल्मको कथावस्तु कर्पोरेट जागिर छोडेर सिक्किमको आफ्नो गाउँ फर्किएकी 'विष्णु' (गौमाया गुरुङ) नामक पात्रको वरिपरि घुमेको छ। गाउँमा होमस्टे सञ्चालन गर्ने सपना बोकेर फर्किएकी उनले आफ्नो परिवार, पुस्तौनी सोच र समाजमा विद्यमान परम्परागत पितृसत्तात्मक संरचनासँग गर्नुपरेको सङ्घर्षलाई कथामा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

यसअघि प्रतिष्ठित 'बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' र 'सान सेबास्टियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' जस्ता विश्वप्रसिद्ध मञ्चहरूमा प्रदर्शन भई प्रशंसा बटुलिसकेको यो चलचित्रले आधुनिक नेपाली महिलाको यथार्थपरक कथालाई उजागर गरेको छ। ग्रेटर टोरन्टो क्षेत्रका सम्पूर्ण नेपालीहरूलाई हलसम्म पुगेर चलचित्र हेर्न र ठूलो पर्दामा मौलिक नेपाली कथा र कलालाई प्रवर्द्धन गर्न आह्वान गरिएको छ।

तपाईंको प्रतिक्रिया