• आइतबार, २५ असोज, २०८३
  • Sunday, 11 October, 2026
  • X

अमेरिका भ्रमण २५% ले घट्यो, तर पक्राउ ६०% ले बढ्यो

नेपालTouch
शनिबार असोज २४, २०८३ | Saturday October 10,2026

टोरन्टो। अमेरिकामा क्यानेडियन नागरिकहरू पक्राउ र हिरासत पर्ने घटनामा सङ्ख्या ६० प्रतिशतले वृद्धि भएको ग्लोबल अफेयर्स क्यानाडाले जनाएको छ।

बिहीबार सार्वजनिक गरिएको कन्सुलर मामिलाम्बन्धी विभागको वार्षिक प्रतिवेदनले अप्रिल २०२५ देखि मार्च २०२६ को अवधिमा क्यानेडियनहरूद्वारा अमेरिका भ्रमण गर्ने क्रम २५ प्रतिशतले घटे पनि पक्राउ पर्नेको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको देखाएको हो।

प्रतिवेदन अनुसार त्यस अवधिमा ५७७ जना क्यानेडियन नागरिकहरू अमेरिकामा पक्राउ वा हिरासतमा परेका छन्, जुन अघिल्लो वर्ष ३६१ मात्रै थियो। 

सन् २०२४–२५ मा क्यानेडियनहरूले २ करोड ६८ लाख पटक अमेरिका भ्रमण गरेकोमा सन् २०२५–२६ मा त्यो सङ्ख्या घटेर २ करोडमा सीमित भएको थियो। 

यस्तो वृद्धिको मुख्य कारणबारे प्रतिवेदनले केहि बोलेको छैन। यद्यपि, ट्रम्प प्रसासनले आप्रवासनसम्बन्धी छापा मार्ने कार्यलाई तीव्रता दिएको छ भने अमेरिकी सीमा सुरक्षा अधिकारीहरूबाट असहज प्रश्नहरूको सामना गर्नुपरेको क्यानेडियनहरूले गुनासो गर्दै आएका छन्।

प्रतिवेदनले विश्वभर क्यानेडियनहरू पक्राउ पर्ने दरमा २० प्रतिशतले वृद्धि भएको जनाएको छ, जसमा थाइल्यान्डमा मात्रै पक्राउ पर्नेको सङ्ख्या तीन गुणाले बढेको छ। ग्लोबल अफेयर्स क्यानाडाले बढ्दो युद्ध र प्राकृतिक विपद्का कारण कन्सुलर मामिलाहरू अझ जटिल र व्यवस्थापन खर्चिलो बन्दै गएको  पनि जनाएको छ।

तपाईंको प्रतिक्रिया