• शुक्रबार, २३ असोज, २०८३
  • Friday, 09 October, 2026
  • X

क्यानाडामा अक्टोबर २० मा दसैँको टीका, टोरन्टोमा बिहान १०ः४१ बजे

नेपालTouch
बुधबार असोज २१, २०८३ | Wednesday October 07,2026

काठमाडौं। निजी क्षेत्रको एक संस्थाले क्यानाडासहित विदेशमा रहेका नेपालीका लागि यस वर्षको बडादसैँको टीकाको साइत प्रकासित गरेको छ। सो साइत नेपाल सरकार अन्तर्गतको संस्थाले तोकेको साइत भन्दा फरक मिती र समयमा छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न देशका प्रमुख सहरमा स्थानीय समयअनुसार विजयादशमीको टीका लगाउने साइत सार्वजनिक गरेको हो। समितिका अनुसार क्यानाडाको टोरन्टोमा अक्टोबर २० गते बिहान १० बजेर ४१ मिनेटमा टीका लगाउने साइत निर्धारण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने दशैंको टीकाको साइत अक्टोबर २१ बिहान १०ः२८ मा तोकेको छ।

केहि वर्षयता नेपालको सरकारी निकाय र एक निजी संस्थाले दशैं लगायतका महत्त्वपूर्ण चाडपर्वका साइत बारे छुट्टा-छुट्टै मिती र समय तोकिदिने गरेकाले प्रवासमा अन्यौलको स्थिति छ।

निजी क्षेत्रको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भ्यानकुभरमा अक्टोबर २० बिहान १० बजेर ५५ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको जनाएको छ।

क्यानाडाबाहेक अमेरिकाको न्युयोर्कमा अक्टोबर २० गते बिहान १० बजेर ११ मिनेट, टेक्सासमा १० बजेर २७ मिनेट, वासिङ्टन डिसीमा १० बजेर २१ मिनेट र क्यालिफोर्नियामा ९ बजेर ५१ मिनेटमा टीका लगाउने साइत तोकिएको छ।

बेलायतको लन्डनमा अक्टोबर २० गते बिहान १० बजेर ५५ मिनेट, फ्रान्सको पेरिसमा ११ बजेर ३१ मिनेट, नर्वेको ओस्लोमा ११ बजेर ५० मिनेट तथा स्विट्जरल्यान्डको जेनेभामा १० बजेर ३१ मिनेटमा टीका लगाउने साइत रहेको समितिले जनाएको छ।

अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २१ गते बिहान ९ बजेर २१ मिनेट, मेलबर्नमा ९ बजेर ३० मिनेट, ब्रिसबेनमा ८ बजेर २५ मिनेट, एडिलेडमा ९ बजेर १५ मिनेट र क्यानबेरामा ९ बजेर ७ मिनेटमा टीका लगाउने साइत निर्धारण गरिएको छ। न्युजिल्यान्डको वेलिङ्टनमा अक्टोबर २१ गते बिहान ९ बजेर २३ मिनेटमा टीका लगाउने साइत रहेको छ।

एसियातर्फ जापानको टोकियोमा अक्टोबर २१ गते बिहान १० बजेर १७ मिनेट, दक्षिण कोरियाको सियोलमा ११ बजेर १३ मिनेट, मलेसियाको क्वालालम्पुरमा १० बजेर ४७ मिनेट, थाइल्यान्डको बैंककमा १० बजेर ७ मिनेट र सिंगापुरमा १० बजेर ३१ मिनेटमा टीका लगाउने साइत तोकिएको छ।

त्यस्तै, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १० बजेर ३१ मिनेट, कतारको दोहामा ९ बजेर ४१ मिनेट र साउदी अरबमा १० बजेर १ मिनेटमा टीका लगाउने साइत निर्धारण गरिएको छ।

भारतको दिल्लीमा अक्टोबर २१ गते बिहान ९ बजेर ११ मिनेट र भुटानको थिम्पुमा १० बजेर १४ मिनेटमा टीका लगाउने साइत रहेको छ। नेपालमा भने कात्तिक ४ गते अर्थात् अक्टोबर २१ गते बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने उत्तम साइत निर्धारण गरिएको छ।

विदेशमा एउटै समयमा दसैँको टीका लगाउन नमिल्ने भएकाले सम्बन्धित स्थानको स्थानीय समयअनुसार साइत फरक–फरक निर्धारण गरिएको समितिले जनाएको छ। टीकाको साइत निर्धारण गर्दा सम्बन्धित स्थानको सूर्योदय र दशमी तिथिको अवस्थालाई मुख्य आधार बनाइन्छ।

नेपालमा टीकाको साइत जुन समयमा पर्छ, विदेशमा रहेका नेपालीले पनि त्यही समयमा टीका लगाउनुपर्ने हुँदैन। सम्बन्धित देश र स्थानमा दशमी तिथि तथा सूर्योदयको अवस्था हेरेर स्थानीय समयअनुसार साइत तय हुने गरेको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको साइत टीका लगाउने सबैभन्दा उत्तम समयका रूपमा निर्धारण गरिएको हो। सम्बन्धित स्थानमा रहेका नेपालीले आफ्नो सुविधाअनुसार दसैँ मनाउँदै मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्नेछन्।

तपाईंको प्रतिक्रिया