• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

हिमाली युवा कार्यदलको ग्लोबल संयोजकमा सोनिका पौडेल नियुक्त

नेपालTouch
बिहीबार असोज १५, २०८३ | Thursday October 01,2026

न्युयोर्क। नेपाली युवा सोनिका पौडेल संयुक्त राष्ट्रसङ्घमा बालबालिका तथा युवाहरूको प्रमुख सरोकारवाला समूह (एमजिसिवाई) अन्तर्गत नवनिर्मित ‘पर्वतीय समुदाय तथा पारिस्थितिक प्रणाली युवा कार्यदल’को अन्तर्राष्ट्रिय संयोजक तथा ग्लोबल फोकल पोइन्ट नियुक्त भएकी छन्। 

वाइएफइइडी फाउण्डेसनका कार्यकारी निर्देशक अनिश श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार, सार्क युवा मञ्चको पूर्ण समर्थनमा भएको पौडेलको यो नियुक्तिलाई गत २८ सेप्टेम्बर २०२६ मा बसेको एमजिसिवाई सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको हो। नेपालमा वाइएफइइडी फाउण्डेसनको सञ्चालक समिति सदस्यका रूपमा सक्रिय पौडेल हाल अमेरिकाको भर्जिनिया टेकमा कृषि तथा प्रसार शिक्षा विषयमा विद्यावारिधि अध्ययनरत छन्। 

काठमाडौँ जलवायु कार्य सप्ताह २०२६ को आधिकारिक पूर्वतयारी सत्रका रूपमा आयोजित "क्रायोस्फियरमा जलवायु सङ्कट" विषयक अन्तर्राष्ट्रिय भर्चुअल संवादको समापनसँगै यस कार्यदलको औपचारिक घोषणा गरिएको थियो।

कार्यदलको अन्तर्राष्ट्रिय शुभारम्भका अवसरमा आगामी ९ अक्टोबर २०२६ मा न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा ८१ औँ महासभा (UNGA-81) को तेस्रो समिति अन्तर्गत विशेष भौतिक ‘साइड इभेन्ट’ आयोजना हुँदै छ। उक्त कार्यक्रममा पौडेलले एमजिसिवाईको तर्फबाट सम्बोधन गर्दै नेपाल र समग्र हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हालै सिर्जित विनाशकारी बाढी, पहिरो तथा डुबानले पुर्‍याएको अपूरणीय क्षतिबारे कूटनीतिज्ञ तथा नीतिनिर्माताहरूको ध्यानाकर्षण गराउने बताइएको छ। 

यस नवगठित कार्यदलले सोओपी लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली युवाको सहभागिता बढाउने, हिमताल विस्फोटन र बाढीपहिरो प्रभावित समुदायका लागि जलवायु न्यायको वकालत गर्ने तथा स्थानीय ज्ञानलाई नीति निर्माणसँग जोड्ने मुख्य लक्ष्य राखेको छ। 

तपाईंको प्रतिक्रिया