विदेशबाट फर्केका युवालाई लक्षित गर्दै 'विशेष सिँचाइ कार्यक्रम'
नेपालTouch
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ।
कार्यक्रम सञ्चालनका लागि विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ।
विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार भूमिगत जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व बढाउन, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन र योजना छनोट तथा कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन दिग्दर्शन तयार गरिएको हो।
दिग्दर्शनमार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, संस्था वा समूहलाई छनोट गरी कार्यक्रममा सहभागी गराइनेछ। विभागका उपमहानिर्देशक देव स्याङ्बोका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइनेछ। महिला, आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक तथा पिछडिएको क्षेत्रलाई पनि प्राथमिकता दिइने उनले बताए।
दिग्दर्शनमा कृषि सहकारी संस्था, महिला वा आमा समूह, प्राकृतिक प्रकोप प्रभावित परिवार, वैदेशिक रोजगारीबाट फर्केका युवा तथा स्थानीय तह, प्रदेश वा सङ्घीय निकायमा दर्ता भएका संस्थालाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
कार्यक्रममा सहभागी हुन कम्तीमा ६ हेक्टर जग्गा स्वामित्वमा वा भाडामा हुनुपर्नेछ। भाडामा लिएको जग्गा भए कम्तीमा १० वर्षको सम्झौता र सम्बन्धित जग्गाधनीले ट्युबवेल निर्माण गर्न दिएको मञ्जुरीनामा पेस गर्नुपर्ने व्यवस्था छ।
दिग्दर्शनअनुसार तरकारी तथा फलफूल, मसला बाली, बीउ उत्पादन तथा नर्सरी, अन्य नगदे बाली, पुष्प खेती, जडीबुटी, माछापालन तथा घाँस र पशुचारा उत्पादनलाई प्राथमिकता दिइनेछ।
योजनाका लागि जग्गाको स्वामित्व र उपयुक्तताको स्थलगत प्रमाणीकरण गरिनेछ भने भूमिगत जलस्रोतको सम्भाव्यता भएका स्थान पहिचान गरिनेछ। सम्बन्धित कार्यालयले योजना सञ्चालन हुने सिँचाइ क्षेत्र, कृषि उत्पादन तथा संरचनाको मर्मतसम्भारको नियमित अनुगमन गर्ने व्यवस्था पनि दिग्दर्शनमा गरिएको छ।

सम्बन्धित खबर













.png)














तपाईंको प्रतिक्रिया