• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

नेपालका हिमाल चढ्न १६ क्यानेडियन आरोहीले लिए अनुमति

नेपालTouch
बिहीबार असोज १५, २०८३ | Thursday October 01,2026

काठमाडौँ। सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १६ जना क्यानेडियन आरोहीले अनुमति लिएका छन्। यो सिजन नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७१ समूह छन्। तीमध्ये ४८५ पुरुष र १६३ महिला रहेका छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार क्यानाडासहित विभिन्न देशका आरोहीले नेपालका हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।

अनुमति लिने आरोहीमध्ये चीनका ११८, रसियाका ५७, फ्रान्सका ५१, अमेरिकाका ४१, बेलायतका ३८, जर्मनीका ३४, जापानका २१, पोल्याण्डका १९, भारतका १८, अष्ट्रेलियाका १७, चेक रिपब्लिकका १६, क्यानाडाका १६, स्पेनका १५, स्वीजरल्याण्डका १३, नेपालका २० र अन्य विभिन्न देशका आरोही रहेका छन्।

आरोहण अनुमति प्रदान गरेबापत विभागले हालसम्म १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।

यस सिजन सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका छन्। ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। उनीहरूबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ।

धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना र डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन्। त्यस्तै बरुणत्से हिमाल आरोहणका लागि एक टोलीका १० जनाले अनुमति लिएका छन्।

विभागका अनुसार मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ।

शरद् ऋतुमा हिमाल आरोहणका लागि विभिन्न देशबाट आउने आरोहीले नेपालको पर्वतीय पर्यटनमा योगदान पुर्‍याउँदै आएका छन्। यस सिजन क्यानाडाबाट पनि १६ जना आरोहीले नेपालका हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

तपाईंको प्रतिक्रिया