अमेरिकामा नेपाली विद्यार्थीको सङ्ख्या ४८ प्रतिशतले बढ्यो, अध्ययनका लागि शीर्ष छैटौँ देश
नेपालTouch
टोरन्टो । अमेरिकाका विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार सन् २०२४/२५ को शैक्षिक सत्रमा नेपालबाट २४ हजार ८९० जना विद्यार्थी अमेरिका पुगेका छन्।
यो अघिल्लो वर्षको १६ हजार ७४२ को तुलनामा ४८.७ प्रतिशतको वृद्धि हो। यस वृद्धिसँगै नेपाल अमेरिकामा सर्वाधिक विद्यार्थी पठाउने देशको सूचीमा छैटौँ स्थानमा उक्लिएको छ।
उक्त अवधिमा अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको कुल सङ्ख्या ५ प्रतिशतले बढेर ११ लाख ८० हजार नाघेको छ। भारत ३ लाख ६३ हजार १९ विद्यार्थीसहित पहिलो र चीन २ लाख ६५ हजार ९१९ विद्यार्थीसहित दोस्रो स्थानमा छन्। यी दुई देशको हिस्सा कुल अन्तर्राष्ट्रिय विद्यार्थीको ५३ प्रतिशत छ।
यस्तै, क्यानाडाबाट २९ हजार ९०३ विद्यार्थी अमेरिका भर्ना भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३.१ प्रतिशतको वृद्धि हो। क्यानाडा यो सूचीमा चौथो स्थानमा छ।
दक्षिण एसियाली छिमेकी मुलुकहरूमध्ये बङ्गलादेशबाट २० हजार १५६ र पाकिस्तानबाट १३ हजार १६५ विद्यार्थी अमेरिका पुगेका छन्।
कुल सङ्ख्याले नयाँ रेकर्ड बनाए पनि नयाँ भर्नाको दर भने सुस्त हुन थालेको छ। अध्ययनपछि प्राप्त हुने कामको अनुमतिपत्र 'अप्सनल प्राक्टिकल ट्रेनिङ' मा सहभागी हुनेहरूको सङ्ख्या २१ प्रतिशतले बढेर २ लाख ९४ हजार २५३ पुग्दा कुल तथ्याङ्क माथि देखिएको हो। यद्यपि, नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नादर भने ७ प्रतिशतले घटेको छ।
सन् २०२५ को शरद ऋतुको तथ्याङ्कले नयाँ भर्नामा थप १७ प्रतिशतको गिरावट आएको देखाएको छ। भिसा नीतिमा आएको कठोरता, कानुनी अनिश्चितता र अन्य देशहरूसँगको प्रतिस्पर्धाका कारण अमेरिका जाने नयाँ विद्यार्थीको बहाव प्रभावित हुन थालेको छ।
उत्तर अमेरिकामा शैक्षिक तथा आप्रवासन नीतिहरू परिवर्तन भइरहेका बेला क्यानाडामा रहेका नेपाली समुदायका लागि पनि यो तथ्याङ्क महत्त्वपूर्ण मानिएको छ।

सम्बन्धित खबर













.png)














तपाईंको प्रतिक्रिया