क्यानाडामा 'रातो डिजेल' प्रयोग गरे जरिवाना
नेपालTouch
अन्टारियो। अमेरिकामा करमुक्त ‘रातो डिजेल’ सडकमा चल्ने सवारीमा प्रयोग गर्न पाउने व्यवस्था गरिए पनि क्यानाडामा भने यस्तो डिजेल सडक तथा राजमार्गमा चल्ने सवारीमा प्रयोग गर्नु गैरकानुनी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार करमुक्त डाइड डिजेलको प्रयोगसम्बन्धी प्रतिबन्ध खुकुलो पार्न कार्यकारी आदेश जारी गरेका थिए। इन्धनको मूल्य उच्च भएका बेला अमेरिकी उपभोक्ता र व्यवसायलाई राहत दिने उद्देश्यले गरिएको उक्त निर्णयपछि अमेरिकामा कृषि तथा अन्य अफ–रोड प्रयोजनका लागि प्रयोग हुँदै आएको रातो डिजेल सडकमा चल्ने ट्रक तथा अन्य सवारीमा समेत प्रयोग गर्न पाउने भएको हो।
डाइड डिजेल सामान्य डिजेलजस्तै इन्धन हो। यसमा रातो रङ मिसाइएको हुन्छ, जसबाट त्यसमा सडक कर तिरिएको छैन भन्ने पहिचान गर्न सकिन्छ। यस्तो डिजेल सामान्यतया कृषि उपकरण, ट्र्याक्टर, निर्माण तथा अन्य सडकबाहिर सञ्चालन हुने उपकरणमा प्रयोग गरिन्छ।
क्यानाडामा भने रातो डिजेल सडकमा चल्ने सवारीमा प्रयोग गर्न नपाइने व्यवस्था कायमै छ। यसको कार्यान्वयन मुख्यतः प्रदेश तथा क्षेत्रहरूले आफ्ना इन्धन करसम्बन्धी कानुनमार्फत गर्दै आएका छन्।
क्यानाडाको अर्थ मन्त्रालयका अनुसार संघीय इन्धन अन्तःशुल्कसम्बन्धी नियममा रङ लगाइएको वा डाइड डिजेलका लागि छुट्टै व्यवस्था छैन। तर प्रदेश तथा क्षेत्रहरूले रङ लगाइएको इन्धनको कर, प्रतिबन्ध र प्रयोगसम्बन्धी आफ्नै नियम लागू गर्न सक्ने मन्त्रालयले जनाएको छ।
क्यानाडाली कृषि महासंघका अध्यक्ष किथ करीले भने किसानले खेतमा प्रयोग हुने डिजेल उपकरणका लागि लामो समयदेखि करमुक्त डाइड डिजेल प्रयोग गर्दै आएको बताए। डिजेलको मूल्य बढिरहेका बेला सडक करसमेत नलाग्ने गरी यस्तो इन्धन प्रयोग गर्न पाए किसानलाई राहत पुग्ने उनको भनाइ छ।
यद्यपि, हालसम्म कुनै पनि प्रदेश वा क्षेत्रले सडकमा डाइड डिजेल प्रयोग गर्न दिने गरी नियम परिवर्तन गर्ने घोषणा गरेका छैनन्। ग्लोबल न्युजले सबै प्रदेश तथा क्षेत्रका अर्थ मन्त्रालयसँग यसबारे जानकारी मागेको थियो। सस्काचेवानले भने यस्तो व्यवस्था विस्तार गर्दा राजमार्ग तथा यातायात पूर्वाधारका लागि प्राप्त हुने आम्दानीमा ठूलो असर पर्ने जनाएको छ।
सस्काचेवानको अर्थ मन्त्रालयका अनुसार त्यहाँ इन्धन करबाट प्राप्त हुने सम्पूर्ण रकम राजमार्ग तथा यातायात पूर्वाधारको मर्मत र सुधारमा प्रयोग गरिन्छ। सडकमा डाइड डिजेल प्रयोग गर्न दिइए त्यसले राजमार्ग बजेट घटाउने र सडक प्रयोगकर्ताको सुरक्षा तथा देशको निर्यात ढुवानीमा असर पार्न सक्ने मन्त्रालयको भनाइ छ।
अमेरिकाबाट रातो डिजेल क्यानाडा ल्याउन भने निश्चित अवस्थामा पाइन्छ। कर तथा भन्सारसम्बन्धी कानुनका जानकार अधिवक्ता रोब क्रेक्लेवेट्जका अनुसार अमेरिकाबाट अधिकांश प्रकारका इन्धन क्यानाडा ल्याउन प्राविधिक रूपमा सम्भव भए पनि कन्टेनरमा ल्याउँदा त्यसलाई सीमामा घोषणा गर्नुपर्छ।
तर रातो डिजेल क्यानाडाको सडकमा चल्ने सवारीको इन्धन ट्यांकीमा हालेर प्रयोग गरेपछि कानुनी अवस्था फरक हुन्छ। सवारी जाँचका क्रममा इन्धन ट्यांकीमा रातो रङको डिजेल भेटिए सम्बन्धित प्रदेशको इन्धन करसम्बन्धी कानुन उल्लंघन गरेको मानिन सक्छ।
अन्टारियोमा लाइसेन्स प्राप्त मोटर सवारीको इन्धन ट्यांकीमा रङ लगाइएको इन्धन भेटिए २०० देखि १ हजार क्यानाडाली डलरसम्म जरिवाना हुन सक्छ। अन्टारियो सरकारका अनुसार डाइड डिजेल सडकमा चल्ने लाइसेन्स प्राप्त सवारीमा प्रयोग गर्न पाइँदैन, कृषि, निर्माण, वन वा खानीसम्बन्धी कामका लागि प्रयोग हुने भए पनि यो प्रतिबन्ध लागू हुन्छ।
सस्काचेवानमा भने इन्धन कर तथा सडक प्रयोगसम्बन्धी कानुन उल्लंघन गरे व्यक्तिलाई १० हजार डलरसम्म र कम्पनीलाई ५० हजार डलरसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
क्रेक्लेवेट्जले अमेरिकामा सस्तो पर्ने रातो डिजेल क्यानाडामा प्रयोग गरेर केही रकम बचत गर्ने प्रयास आकर्षक देखिए पनि त्यसबाट हुने कानुनी जोखिमका कारण यस्तो गर्नु उचित नहुन सक्ने बताए।
क्यानाडामा डिजेलको मूल्य पछिल्लो समय उच्च रहेको अवस्थामा अमेरिकाले डाइड डिजेलको प्रयोगसम्बन्धी नियम खुकुलो पारेको हो। क्यानाडा सरकारले भने इन्धनको मूल्य बढेको अवस्थामा उपभोक्ता तथा व्यवसायलाई राहत दिन संघीय इन्धन अन्तःशुल्कमा अस्थायी छुटलाई जनवरी २०२७ को अन्त्यसम्म कायम राख्ने निर्णय गरिसकेको छ।

सम्बन्धित खबर










.png)











तपाईंको प्रतिक्रिया